नेपाल हेल्थ न्युज, काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आगामी नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएकी सुना सुवेदीले व्यवसायीहरूको हकहित संरक्षण, नीतिगत सुधार र संघको संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाउनुभएको छ।
यही मंसिर २५ गते काठमाडौंमा हुन लागेको संघको १५औँ राष्ट्रिय महाधिवेशन तथा ३५औँ वार्षिक साधारण सभामा सुवेदीले ‘हाम्रो प्रतिबद्धता स् हाम्रो अभियान’ भन्ने नारासहित अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो।
औषधि व्यवस्था विभागमा करिब ३ हजार पशुपन्छी औषधि व्यवसायी दर्ता रहेकोमा करिब २ हजार ७ सय व्यवसायी संघमा आबद्ध छन्। ठूलो संख्यामा व्यवसायी आबद्ध रहेको संघलाई थप सशक्त, व्यवस्थित र प्रभावकारी बनाउनु अहिलेको आवश्यकता रहेको सुवेदीको चुनावी प्रतिबद्धताले देखाएको छ।
उहाँले व्यवसायीहरूको साझा समस्या समाधान, पेशागत मर्यादाको संरक्षण र व्यवसायमैत्री वातावरण निर्माणका लागि एकताबद्ध तथा जवाफदेही नेतृत्व आवश्यक रहेको बताउनुभएको छ। संघलाई केवल सदस्यहरूको संस्था मात्र नभई राज्यका नीतिगत निर्णय प्रक्रियामा व्यवसायीको आवाज बुलन्द गर्ने सशक्त साझा मञ्चका रूपमा विकास गर्ने उहाँको लक्ष्य छ।
व्यवसायीको हकहित र नीतिगत सुधार मुख्य प्राथमिकता
सुवेदीले व्यवसायीहरूको हकहितको संरक्षण तथा संवर्द्धनलाई आफ्नो पहिलो प्राथमिकतामा राख्नुभएको छ। पशुपन्छी औषधि व्यवसाय सञ्चालनका क्रममा व्यवसायीहरूले भोगिरहेका नीतिगत, प्रशासनिक तथा व्यावहारिक समस्यालाई पहिचान गरी समाधानका लागि सम्बन्धित सरकारी निकायसँग प्रभावकारी समन्वय र पैरवी गर्ने उहाँको प्रतिबद्धता छ।
विशेषगरी पशुपन्छी औषधि व्यवसायसँग सम्बन्धित नीति, नियम तथा कानुन निर्माण प्रक्रियामा व्यवसायीहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उहाँको धारणा छ। व्यवसायीहरूको वास्तविक अवस्था, अनुभव र आवश्यकतालाई समेटेर नीति निर्माण हुनुपर्नेमा जोड दिँदै उहाँले व्यवसायमैत्री कानुनी तथा प्रशासनिक वातावरण निर्माणका लागि पहल गर्ने बताउनुभएको छ।
पशुपन्छी औषधि व्यवसायलाई व्यवस्थित, मर्यादित र दिगो बनाउनुका साथै पशुपन्छी स्वास्थ्य सेवाको प्रवर्द्धनमा समेत संघको भूमिका प्रभावकारी बनाउने उहाँको योजना छ।
२ हजार ७ सय व्यवसायीको एकता र संघको संस्थागत सुदृढीकरण
करिब २ हजार ७ सय व्यवसायीको प्रतिनिधित्व गर्ने संघमा सदस्यहरूबीच एकता, सहकार्य र आपसी सद्भाव अभिवृद्धि गर्नु पनि सुवेदीको अर्को महत्त्वपूर्ण एजेन्डा हो।
संघभित्र सबै सदस्यले अपनत्व महसुस गर्ने वातावरण निर्माण गर्दै साझा समस्या र सरोकारलाई सामूहिक रूपमा उठाउने उहाँको प्रतिबद्धता छ। संघको संस्थागत विकास र सुदृढीकरणसँगै नेतृत्वलाई पारदर्शी, जवाफदेही र जिम्मेवार बनाउने विषयलाई पनि उहाँले प्राथमिकतामा राख्नुभएको छ।
संघका गतिविधि तथा निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्दै सदस्यहरूको विश्वास जित्ने र संस्थालाई थप क्रियाशील बनाउने उहाँको लक्ष्य रहेको छ।
व्यवसायमैत्री वातावरण र पेशागत मर्यादाको संरक्षण
पशुपन्छी औषधि व्यवसायलाई स्वास्थ्य क्षेत्रको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै सुवेदीले व्यवसायको प्रवर्द्धन र पेशागत मर्यादाको संरक्षणमा जोड दिनुभएको छ।
व्यवसायीका समस्या समाधान गर्ने, सरकारी निकाय तथा सरोकारवालासँग समन्वय बढाउने र पशुपन्छी स्वास्थ्य तथा औषधि व्यवसायको समग्र विकासमा योगदान पुर्याउने उहाँको प्रतिबद्धता छ।
उहाँको चुनावी अभियानले व्यवसायीको अधिकार संरक्षणसँगै संघको संस्थागत क्षमता अभिवृद्धि र नीतिगत तहमा प्रभावकारी प्रतिनिधित्वलाई पनि उत्तिकै महत्त्व दिएको छ।
‘एकता, सहकार्य र सशक्त नेतृत्वमार्फत समृद्ध व्यवसाय र सबल संघ निर्माण’ लाई मूल संकल्प बनाउनुभएकी सुवेदीले व्यवसायीहरूको साझा आवाजलाई बलियो बनाउँदै संघलाई थप प्रभावकारी संस्थाका रूपमा स्थापित गर्ने लक्ष्य लिनुभएको छ।
करिब २ हजार ७ सय व्यवसायी आबद्ध रहेको संघको आगामी नेतृत्व चयनका लागि हुन लागेको महाधिवेशनले व्यवसायीहरूको हकहित, नीतिगत सुधार, पेशागत मर्यादा र संस्थागत सुशासनका सवालमा कस्तो दिशा तय गर्छ भन्ने चासो बढाएको छ। सुवेदीको उम्मेदवारी पनि यिनै मुद्दालाई केन्द्रमा राखेर अघि बढेको छ।
नेशनल मेडिकल कलेज र आवासीय चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन टुंगियो
बिहीबार, मंसिर १०, २०८३
स्वास्थ्य समाचारमा संवेदनशीलता अपनाउन चिकित्सकको आग्रह
बिहीबार, मंसिर १०, २०८३
नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको अध्यक्षमा डा. दिप्तेश अर्याल
आइतबार, कात्तिक २९, २०८३

