माघे संक्रान्ति, मकर संक्रान्ति, माघी आदि नामले चिनिने नेपालको एक प्रमुख चाड हिन्दू, बौद्ध लगायतका सम्प्रदायको साझा पर्व पनि हो । यस दिन नेपालमा सार्वजनिक बिदा दिइन्छ ।
ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिएको हो । सामान्यतया सूर्यले सबै राशीलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले मह्त्व पूर्ण मानिन्छ । यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ ।
माघे अर्थात मकर संक्रान्ति पर्व नेपाल भर विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाआजाका साथै घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाइन्छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गङ्गासागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्छ । भविष्यपुराण, विष्णुवचन तथा धर्मसिन्धु नामक ग्रन्थमा यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डू, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले पनि खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी हुने उल्लेख छ ।
मीठो खाने, राम्रो लगाउने र भलो सुन्ने भन्ने यस पर्वमा गुरु, पुरोहित र ब्राम्हण आआफ्ना यजमानकहाँ गई महिना सुनाउँछन् । महिना सुनिसकेपछि गृहस्थीहरू गुरु, पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लड्डुसहितको सिदा दान गर्छन् । शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी र अन्य रोग नाश हुने विश्वास गरिन्छ ।
प्रकाशित मिति: मंगलबार, पुस १५, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
आहार र पोषण
३० दिन लगातार ओखर खाँदा शरीरमा के हुन्छ ? यस्ता छन् स्वास्थ्य लाभ
बिहीबार, साउन ७, २०८३
गर्मीमा शरीर हाइड्रेट राख्न यी खानेकुरा खानुहोस्
आइतबार, साउन ३, २०८३
गर्मीको राजा लिचीः स्वादिलो मात्रै होइन, स्वास्थ्यवर्धक पनि !
मंगलबार, असार २३, २०८३
जान्नुहोस् ! यस्ता छन् दही र चिउरा खानुका फाइदा
सोमबार, असार १५, २०८३
गर्मी मौसममा के खाने, के नखाने?
बिहीबार, असार ११, २०८३ट्रेन्डिङ
२
