ल्याब परीक्षण आधुनिक चिकित्सा प्रणालीको एउटा आधारभूत पाटो हो, जसको सहायता बिना कुनै पनि चिकित्सकले बिरामीको रोगको पहिचान गर्न वा उपचार गर्न गाह्रो हुन्छ । त्यसैले बिरामीको जीवनसँग गाँसिएको रोगशास्त्र अर्थात् प्याथोलोजीलाई आधुनिक मेडिकल विज्ञानको मेरुदण्ड भनिन्छ । पटक पटक नेपालका मेडिकल ल्याबहरुको विश्वसनीयता र गुणस्तरबारे प्रश्न उठ्ने गरेकाले यो लेखमा यो विषयमा नजानी नहुने कुराहरु स्पष्ट पार्न कोशिस गरिएको छ ।
ल्याबका न्यूनतम आधारभूत आवश्यकता
ग्ुणस्तरीय सेवा प्रवाहका लागि मेडिकल ल्याबलाई निम्न कुराहरुको आवश्यकता हुन्छः
- उपयुक्त संरचना—पर्याप्त स्थान, तापक्रमको व्यवस्थापन, संक्रमणमुक्त ठाउँ आदि ।
- प्रविधि र परीक्षण विधि— यी दुवै कुरा अन्तर्राष्ट्रिय स्तरको आई.एस.ओ.मान्यता प्राप्त हुनुपर्छ । रि—एजेन्ट्स÷केमिकलका लागि कोल्ड चेन अनिवार्य रुपमा मेन्टेन भएको हुनुपर्छ ।
- दक्ष एवं तालिम प्राप्त टेक्निकल स्टाफ हुनुपर्छ ।
- ल्याबमा गरिने परीक्षण र बिरामीको समग्र स्वास्थ्यबारे तिनले दिने जानकारीबारे ज्ञान भएको चिकित्सक मेडिकल स्पेशलिष्टको रुपमा कार्यरत हुन जरुरी छ ।
माथि उल्लेखित आधारभूत आवश्यकतासँगसँगै ल्याबको गुणस्तरका लागि क्वालिटी कन्ट्रोल (बाह्य र आन्तरिक), प्रोफिसिएन्सी टेस्टिङ र उपयुक्त डकुमेन्टेशनजस्ता कुराहरु अत्यन्त आवश्यक छन् । त्यसैले मेडिकल ल्याबहरुले आइएसओ १५१८९ मान्यता प्राप्त गरेर सो अनुसारको गुणस्तरीय रिपोर्ट दिने हो भने मात्र सेवाग्राहीहरुले प्रामाणिक रुपमा स्तरीय रिपोर्ट पाउन सम्भव हुन्छ ।
प्रयोगशालाले गर्ने काम
ल्याबले नमुना जाँच गरेर रिपोर्ट दिने काम जति सरल देखिन्छ, वास्तवमा त्यो काम त्यति सहज छैन । यसका लागि धेरै चरणहरुलाई ध्यानपूर्वक विचार गर्नुपर्छ ।
प्री—एनालाइटिकल (नमूना परीक्षण गर्नअघि)
यो चरणमा क्लिनिसियन (उपचारमा संलग्न डाक्टर), ल्याबोरेटोरी डाक्टर (मेडिकल स्पेशलिष्ट, प्याथोलोजिष्ट) र प्राविधिक स्टाफ र प्राविधिकको भुमिका हुन्छ । कुनै पनि क्लिनिसियनले जाँच गर्नलाई जाँच लेखेर पठाउन अगाडि कुन जाँच गर्ने ? कुन तरिका अपनाउने ? कुन जाँच गर्दा राम्रो परीणाम आउँछ ? भन्ने कुराको निर्णय गर्नुपर्छ । यसपछि जाँच लेख्ने फारममा बिरामीमा देखिएका लक्षण र आफूले पाएका सम्पूर्ण जानकारी लेख्नुपर्छ । क्लिनिसियनले सम्पूर्ण जानकारी नलेखेको खण्डमा जाँच गरिसकेपछि आउने परिणाम विश्वसनीय नहुनसक्छ ।
ल्याबमा पुगेको नमूनालाई ल्याबोरेटोरी स्टाफ वा ल्यावको कुनै पनि विभागले कुन कुन टेष्ट गर्ने ? कुन टेष्टलाई कुन बेला परीक्षण गर्दा राम्रो हुन्छ ? बिरामीको अवस्था कस्तो छ ? त्यो अवस्थामा परीक्षण गर्न मिल्छ कि मिल्दैन ? भन्ने कुरा ख्याल राख्नुपर्छ । यसका साथै ल्याबको जाँच र Requisition Form मा लेखिएको सबै लक्षणहरुमा ध्यान दिनुपर्छ । यस क्रममा टेक्निकल स्टाफले नबुझेमा ल्याबोरेटोरी डाक्टरको परामर्श लिनुपर्छ । बिरामीको लक्षण र हुनसक्ने डायग्नोसिसको अध्ययनपछि मात्र बिरामीको
शरीरबाट रगत वा अन्य नमूना लिनुपर्छ वा तान्नुपर्छ ।
यो चरणले कसरी जाँचको नतिजामा फरक पार्छ भनेर बुझ्न एउटा उदाहरण लिऔं । क्लिनिसियनद्धारा बिरामीको स्तन जाँच भएलगत्तै Prolactin हर्मोन टेष्टका लागि रगतको नमुना संकलन गर्न मिल्दैन । साथै बिरामीको निद्रा नपुगेको अवस्थामा पनि Prolactin को जाँच गर्न मिल्दैन किनकि दुवै अवस्थामा रगतमा उक्त हर्मोनको माात्रा बढ्न सक्छ, जबकि बिरामीको सामान्य अवस्थाको हर्मोन लेभल कम हुन सक्छ । २४ घण्टाको अवधिमा प्रोल्याक्टिनको मात्रा तीन गुना फरक हुनसक्छ । यस्तो अवस्थामा ल्याब रिपोर्टलाई गलत रुपमा हेर्ने प्रचलन पनि छ, जबकि यथार्थ त्यस्तो हैन ।
प्री—एनालाइटिकल चरणमा कुन प्रविधि प्रयोग गरेको छ ? भन्नेमा पनि ख्याल राख्नुपर्छ । जस्तै, नमुना संकलन गर्ने तरिका, संकलन गर्न प्रयोग हुने विधि, संकलन गरेपछि अपनाउने माध्यम राम्रो हुन जरुरी भएको छ । यसमा हुन सक्ने त्रुटि कम गर्नका लागि LIMS (Laboratory information management System)को सफ्टवेयर प्रयोग गर्दा उपयुक्त हुन्छ । यसले मानवीय त्रुटी हुनबाट जोगाउन मद्धत गर्छ ।
एनालाइटिकल (नमूना परीक्षण गर्ने अवधि)
यो चरणमा टेक्नोलोजी, टेक्निकल स्टाफ र ल्याबोरेटोरी डाक्टरको भूमिका महत्वपूर्ण हुन्छ । नमूना आइसकेपछि मेसिनले जाँच गर्ने अवधि एनालाइटिकलअन्तर्गतको चरणमा पर्छ । यसमा कस्तो प्रविधि र विधि प्रयोग गरिएको छ ? भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले क्वालिटी कन्ट्रोलको व्यवस्थाले यस प्रविधि र विधिलाई गुणस्तरीय परिणाम निकाल्न मद्धत गर्छ । रिएजेन्ट्स, केमिकल विदेशबाट झिकाउने भएकाले नेपालमा कस्तो अवस्थामा आइपुग्छ ? एअरपोर्टमा कुन तापक्रममा भण्डारण हुन्छ ? यो कस्तो अवस्थामा रहन्छ ? कोल्ड चेन मेन्टेन गर्ने प्रविधि छ कि छैन ? जस्ता कुरा महत्वपूर्ण हुन्छन् । जस्तै —२ देखि ८ डिग्री सेन्टिग्रेडमा राख्नुपर्ने रि—एजेन्टेसलाई ३० देखि ४० डिग्री सेन्टिेग्रेडमा राख्दा त्यसले गर्ने काम कमजोर र बिग्रदै जान्छ । गुणस्तरीय प्रविधि प्रयोग नगरेको खण्डमा परिणाम गलत निस्कन सक्छ ।
नेपालका ल्याबमा कुन प्रविधि र विधि प्रयोग गर्ने वा नगर्ने भन्ने बारेमा कुनै नीति बनेको छैन । प्रविधि वा विधि भित्र्याउन सम्बन्धित निकायले ध्यान दिनुपर्छ । अन्तर्राष्ट्रिय जगतमा स्वीकार्य नभएका विधि वा प्रविधिको परिणाम गलत हुनसक्छ ।
एउटै टेष्ट पनि धेरै विधिबाट गर्न मिल्ने हुन्छ । जस्तै—एचआईभी टेष्ट साधारण किटदेखि एलाइजा, क्लिया, पिसिआर जस्ता फरक फरक विधिबाट गर्न सकिन्छ । कुन विधि प्रयोग गर्दा एकिन रिपोर्ट आउँछ भन्ने कुरा बुझ्न जरुरी हुन्छ । जस्तो—एचआईभी शंका गरिएको व्यक्तिलाई उपचार गर्ने चिकित्सकले उच्च शंकास्पद भनेपछि सो व्यक्तिलाई उच्चस्तरीय विधिबाट टेष्ट गराउनुपर्छ । यदि उपचार गर्ने डाक्टरले राम्ररी नलेखेको अवस्थामा ल्याबले साधारण विधि अपनाउन सक्छ र राम्रो अवस्थामा नभएको विधि (किट) ले जाँच गर्दा गलत परिणाम आउनसक्छ । हरेक टेष्टको सेन्सिभिटी र स्पेशिफिसिटी हुने गर्छ । सेन्सिभिटी भनेको कुनै एक विधिले कति प्रतिशतसम्म रोग समात्न सक्छ ? र स्पेसिफिसिटी भनेको यसले समातेको रोग कति प्रतिशतसम्म ठीक हुन्छ ? भन्ने हो । त्यसैले हरेक ल्याबोरेटोरी डाक्टर, क्लिनिसियन र प्राविधिकहरुले यी कुरा जान्न जरुरी हुन्छ ।गुणस्तरको प्रश्न
साधारण शव्दमा ल्याबमा नमूना टेष्ट गर्न अघि विधि र प्रविधि ठीक भएनभएको हेर्ने कुरालाई क्वालिटी कन्ट्रोल भनिन्छ । क्वालिटी कन्ट्रोल टेष्ट गर्न विभिन्न रिएजेन्ट्स, केमिकल मगाइन्छ र ज्ञात परिणाम भएका नमुनाहरुको जाँचका लागि ती रिएजेन्ट्स र मेशिनहरु प्रयोग गरेर जाँचको तरिका ठीक भएनभएको जानकारी लिइन्छ । यदि क्वालिटी कन्ट्रोलले विधि प्रविधि ठीक भएको देखाएमा मात्र नमूना परीक्षण गर्न सकिन्छ । आन्तरिक क्वालिटी कन्ट्रोल, विधि प्रविधि ठीक भएपनि यसलाई स्वदेशी तथा विदेशी स्ट्याण्डर्ड ल्याबको नतिजासित तुलना गरेर हेर्नुपर्छ । यसलाई बाह्य क्वालिटी कन्ट्रोल भनिन्छ ।
आईएसओ १५१८९ प्रमाणपत्र पाइसकेपछि सम्बन्धित ल्याबमा गरिएका टेष्टहरु विश्वस्तरीय भएको विश्वास गरिन्छ । तर नेपालमा अहिलेसम्म आईएसओ १५१८९ प्रमाणपत्र प्राप्त ल्याब छैनन् । मुलुकमा आईएसओ १५१८९ प्रमाणपत्र दिने निकाय पनि छैन । यो निकाय कुनै सरकारको मातहतमा नभएर अन्तर्राष्ट्रियस्तरबाट नै मान्यता पाएको स्वतन्त्र निकाय हुन्छ । आईएसओले प्री—एनलाइटिकलदेखि एनालाइटिकल र पोष्ट एनालाइटिकलसम्मको चरणसम्म ठीक भएनभएकोे हेर्नेगर्छ । यसबाट ल्याबहरुको स्टैण्डर्ड बढ्छ । त्यसैले यसतर्फ मुलुकमा भएका ल्याबहरु अग्रसर हुन जरुरी छ ।पोष्ट एनालाइटिकल (नमूना परीक्षणपछि)
यसमा प्राविधिक र ल्याबोरेटोरी डाक्टर (मेडिकल स्पेशलिष्ट),LIMS टेक्नोलोजीको भूमिका महत्वपूर्ण हुन्छ । यस चरणमा निस्कको परिणामलाई भेरिफाई गर्न जरुरी छ । यसका लागि टेष्टको परिणामलाई उपचार गर्ने डाक्टरले दिएको जानकारीसँग मिलाएर ट्याली अर्थात को—रिलेट गर्नुपर्छ । को—रिलेट गर्ने क्रममा डाक्टरले दिएको जानकारीसँग ल्याब रिपोर्ट नमिलेमा पुनः प्री—एनालाइटिकल र एनालाइटिकल चरणमा फर्केर विश्लेषण गर्नुपर्छ । यदि एनालालइटिकल र प्रीएनालाइटिकल चरण ठीक भएमा र सोही परिणाम निस्केमा क्लिनिसियनसँग बिरामीको लक्षणका बारेमा परामर्श लिनु वा दिनुपर्छ । त्यसैले उपचार गर्ने डाक्टरले बिरामीको सम्पूर्ण लक्षण लेखेर पठाउन जरुरी हुन्छ ।
नेपालको कुरा गर्नुपर्दा, ल्याबोरेटोरीमा आउने अधिकांश टेष्ट क्लिनिकल इन्फर्मेसन रिपोर्ट बिना नै आइरहेका हुन्छन् । अधिकांंश रुपमा ल्याब टेष्टका लागि क्लिनिकल इन्फर्मेसन पठाउने गरेको पाइँर्दैन । त्यसैले ल्याब रिपोर्टमा शुरु चरणदेखि नै गलत प्रक्रिया शुरु हुँदा कहिलेकाँही समस्या पर्नसक्छ । त्यसैले उपचार गर्ने डाक्टरले राम्रो क्लिनिकल जानकारी पठाउने र टेष्टका लागि विधि पनि उल्लेख गरिदिएमा अझ प्रभावकारी हुनसक्छ ।ल्याबोरेटोरी गाइडलाइन बिरामीको हकमा हुनुपर्छ
अहिले नेपालमा सबैखालका मेडिकल ल्याबलाई समेट्ने गरी ल्याबोरेटोरी गाइडलाइन बन्दै छ । गाइडलाइन जहिले पनि बिरामीको स्वार्थलालाई केन्द्रमा राखेर बनाइनुुपर्छ । गाइडलाइन बनाउँदा विश्वव्यापी रुपमा मान्यताप्राप्त विशिष्ट गाइडलाइनहरुमा ध्यान दिनुपर्छ । छिमेकी भारतलगायत अन्य देशहरुको अनुभवले के भन्छ भने, आईएसओ १५१८९ को आधारमा ल्याबोरेटोरी गाइडलाइन बनाएको अवस्थामा बिरामीले दुःख पाउने अवस्थाको न्यूनिकरण हुँदै जान्छ । यदि आईएसओ १५१८९ लाई नसमातीकन पेशाको आधारमा गाइडलाइन बनाएमा बिरामीले कहिल्यै पनि स्तरीय ल्याब रिपोर्ट पाउँदैनन् ।
बिरामीको सन्दर्भमा, नागरिकको रुपमा उनीहरु पनि सचेत हुनुपर्छ । नबुझेको कुरा सोध्ने बिरामीको अधिकार हो । गलत भएपछि पश्चाताप गर्नुभन्दा आफूले नबुझेका सबै कुरा सम्बन्धित ठाउँमा सोध्न वेश हुन्छ ।
ल्याब टेष्ट गर्न दिँदा बिरामीले सोध्नुपर्ने महत्वपूर्ण प्रश्न होः यो आईएसओ १५१८९ सर्टिफाइड ल्याब हो ? नेपालमा हासमम्म त्यस्तो ल्याब नभए पनि बिरामीले बारम्बार त्यो प्रश्न सोधेमा अस्पताल प्रशासन र लगानीकर्ताहरुलाई त्यस्तो सर्टिफिकेट लिन उत्प्रेरणा मिल्छ ।
हरेक अस्पताल र पोलिक्लिनिकमा राखिएका ल्याबहरुले प्रयोगशालालाई सजिलै पैसा कमाउने विभागको रुपमा मात्र नलिई बिरामीको उपचारसँग संलग्न हुने अभिन्न अंग मान्नुपर्छ र अस्पताल र पोलिक्लिनिहरुमा राखिएका ल्याबहरु उच्चस्तरको बनाउन प्रयास गर्नुपर्ने हुन्छ । ल्याबलाई वास्तवमै नाफामुलक भन्दा सेवामुलक बनाउनुपर्छ । यसका लागि उच्चस्तरीय विधि प्रविधि र जनशक्तिको व्यवस्था गर्नुपर्छ ।
अन्त्यमा उपचार गर्ने क्लिनिसियन र महत्वपूर्ण जाँचहरु गर्ने तथा अरु जाँचको मूल्यांकन र सुपरीवेक्षण गर्ने ल्याबोरेटोरी डाक्टरबीच समन्वय हुन अत्यन्त जरुरी छ । यसबाट सम्बन्धित रोगको ल्याब रिपोर्ट गुणस्तरीय र विश्वसनीय हुन्छ ।
प्रकाशित मिति: मंगलबार, माघ ६, २०७१
प्रतिक्रिया दिनुहोस्
थप
स्वास्थ्य लेख
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ
