पुस्तकमा डायरी मात्र नभएर जेलबाट नरहरिले लेखेका चिठी र उनलाई लेखिएको चिठी पनि राखिएको छ । त्यस्ता चिठी सयवटाभन्दा बढी भएको रामचन्द्र घिमिरे बताउँछन् । तर, पुस्तकमा भने छानिएका ५१ वटा चिठी राखिएको छ ।उनले देब्रे हातले ल्यापटपको कि–बोर्ड चलाउन पनि सिकेका छन् । ‘अब देब्रे हातले ल्यापटपमा बिस्तारै लेख्न पनि सक्छु,’ उनले भने । ‘गणतन्त्रको यात्रा बन्दी वृत्तान्त’ भने उनी आफैँले टाइप गरेका होइनन् । रामचन्द्र घिमिरेले टाइप गरिदिएका हुन् । टाइप गरेपछि मात्र नरहरिले आफ्नो जेल डायरी दोहोर्याएर पढे । ००० राजा ज्ञानेन्द्रले १८ असोज ०५८ मा संकटकाल लगाए । सो दिन बिहान नरहरि आचार्य घरैमा थिए । संकटकाल लाग्नुअघि नै सादा पोसाकका प्रहरीले घर निगरानीमा राखिसकेका रहेछन् । बिहान ९ बजेतिर सोधपुछका लागि हेडक्वार्टर जान आग्रह गरे । यसरी उनी पक्राउ परेका थिए । उनलाई सशस्त्र प्रहरी मुख्यालय हलचोक लगियो । त्यहाँबाट ककनी पुर्याइयो । यता नरहरि बेपत्ता भएको खबर फैलियो । श्रीमती शारदा शर्मा दिल्लीस्थित परिवार नियोजन संघको क्षेत्रीय कार्यालयमा काम गर्थिन् । उनी श्रीमान् खोज्न काठमाडौं आइन् । नरहरिलाई खोज्न गरेको संघर्ष शारदाले अघिल्लो वर्ष प्रकाशित आफ्नो संस्मरणात्मक पुस्तक ‘त्यो समय’मा उल्लेख गरेकी छिन् । शारदा, नरहरिका सहयोगीसमेत रहेका कांग्रेस नेता रामचन्द्र घिमिरेलगायतले खोजी थाले पनि कहाँ छन् भन्ने पत्ता लागेन । सशस्त्रको हलचोक, मानवअधिकार आयोग, आइसिआरसीको कार्यालयमा धाए । हप्तादिनपछि नरहरिलाई ककनी राखिएको संकेत मिल्यो । उनीहरू त्यतै हानिए । रामचन्द्र घिमिरेका अनुसार ककनीमा नरहरि आचार्यलाई अर्का कांग्रेस नेता लक्ष्मण घिमिरेसँगै राखिएको रहेछ । प्रहरीले कापी–कलम दिएको थिएन । घिमिरेले सिसाकलम र कागजका साना टुक्रा भेटाएछन् । तिनै टुक्रामा दैनिकी लेख्दारहेछन् । नरहरिलाई राखेको ठाउँ पत्ता लागेपछि रामचन्द्र खानेकुरा लिएर जान थाले । खानेकुरामा राखेर उनले डायरी र कलम दिए । पहिलोपटक जाँदा भने आफूसँग भएको कापी र कलम दिएका थिए । कागजका टुक्रामा लेखिएको दैनिकी नरहरिले कापीमा सारेका थिए । दुईपटक गरेर आठ महिना पाँच दिन थुनिँदा उनले डायरीको ठेली नै तयार गरे । तर, प्रकाशन गरेनन् । बुधबार विमोचन समारोहमा उनले भने, ‘छाप्नुपर्छ भन्ने लागेन । पछि छापे पनि हुन्छ भन्ने पनि थियो । त्यसपछि बिरामी भइहालेँ । अनि घरमा आराम गर्दा डायरीको याद आयो । केही साथीहरूलाई सोधेँ । छाप्नैपर्छ भन्ने सल्लाह पाएर छापेको हुँ ।’
गणतन्त्रको आन्दोलनमा सबैभन्दा बढी जेल बस्ने नरहरि नै थिए । गणतन्त्र आएपछि उनी जेलमुक्त भए । मन्त्री पनि भए । तर, उनको डायरी १५ वर्षसम्म अप्रकाशित रह्यो । नरहरिले फेरि पल्टाएर पनि हेरेनन् ।पुस्तकमा डायरी मात्र नभएर जेलबाट नरहरिले लेखेका चिठी र उनलाई लेखिएको चिठी पनि राखिएको छ । त्यस्ता चिठी सयवटाभन्दा बढी भएको रामचन्द्र बताउँछन् । तर, पुस्तकमा भने छानिएका ५१ वटा चिठी राखिएको छ । ती चिठी संकलन गर्ने काम पनि रामचन्द्रले नै गरेका हुन् । उनी नरहरिलाई चिठी लगिदिने र ल्याइदिने गर्थे । ‘मैले पठाएका र मलाई पठाइएका सबै चिठी उसले फोटोकपी गरेर राखेको रहेछ, त्यसो हुँदा सुरक्षित भयो,’ नरहरि भन्छन् । उनका डायरी पनि रामचन्द्रले टाइप गरेका हुन् । नरहरि लामो अस्पताल बसाइपछि घर फर्किएका थिए । उनलाई बल्ल डायरी प्रकाशनको विचार आयो । अनि रामचन्द्रले टाइप गरेका आफ्ना अक्षर पढ्न थाले । केही भाषा र वाक्यबाहेक उनले अन्य केही पनि सम्पादन गरेनन् । नरहरि भन्छन्, ‘जेलमा बस्दा लेखिएको कुरा बाहिर बसेर सम्पादन गर्दा त अर्कै भइहाल्छ नि । दुईपटक पढेँ, तर नमिलेका वाक्यभन्दा बढी सम्पादन गरिनँ ।’ ००० पुस्तक विमोचन कार्यक्रममा बोल्दै मानवअधिकारकर्मी कृष्ण पहाडीले पनि पुस्तक सम्पादनको कुरा उठाए । ‘विश्वका चर्चित व्यक्तिका संस्मरण, डायरी र आत्मकथा निकै छरिता हुन्छन्, उहाँको पुस्तकका कतिपय सन्दर्भ दोहोरिएका छन् ।’ नरहरिले भने लेखक स्वयंलाई सम्पादन गर्न गाह्रो हुने बताए । प्रज्ञा प्रतिष्ठानमा भएको विमोचन कार्यक्रमका लागि मञ्चमा थिए डा. देवेन्द्रराज पाण्डे, प्रा. कृष्ण खनाल, कृष्ण पहाडी र शारदा शर्मा । पाण्डे र पहाडी गणतन्त्रको आन्दोलनमा जेलजीवन बिताएका व्यक्ति हुन् । तीनैजना नागरिक समाजका तर्फबाट आन्दोलनमा थिए । पहाडीले पुस्तक पढ्दा आफैँले लेखेझैँ भएको बताए । नरहरि गणतन्त्रको आन्दोलनमा विजयी भए पनि पार्टीभित्र भने पटक–पटक पराजित भएको बताए । लडेर ल्याएको गणतन्त्रलाई अहिले कुरूप बनाउन खोजिएको उनको भनाइ छ । उनले भने, ‘हुलाक बदलियो, हुलाकी बदलिएन ।’ प्रा. कृष्ण खनालले जेलमा परेपछि व्यक्तिले आफैँलाई छाप्ने महसुस भएको बताए । नरहरिले लहडमा आएर कांग्रेसभित्र गणतन्त्रको बहस नउठाएको उनको कथन थियो । समयले नरहरिलाई पुष्टि गरेको खनालले बताए । डा. देवेन्द्रराज पाण्डेले मस्तिष्कघातपछि नरहरि आचार्यको शारीरिक अवस्था कमजोर भए पनि बौद्धिक क्षमता पहिलेझैँ रहेको बताए । पुस्तकले गणतन्त्रका लागि गरिएको संघर्षलाई उजागर गरेको पाण्डेको भनाइ छ । नयाँ पत्रीकाबाट
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप
पत्रपत्रिकाबाट
चम्किलो प्याकेटभित्र लुकेको मृत्युको पासो:रोग र पीडाको व्यापार
आइतबार, जेठ १७, २०८३
९७७ दरबन्दी थपिँदा पनि हेल्थ असिस्टेन्ट शून्य
सोमबार, वैशाख २८, २०८३
सेवामा समर्पित तर सम्मानबाट वञ्चितः स्वास्थ्यकर्मीको वास्तविकता
शुक्रबार, वैशाख १८, २०८३
नर्सबाट नेतृत्वसम्मः अब व्यवहारिक सुधारको ऐतिहासिक अवसर
बिहीबार, चैत १९, २०८२
हिजो शोषित नर्स, आज सांसद र स्वास्थ्य मन्त्री
सोमबार, चैत १६, २०८२ट्रेन्डिङ

