
नेपालमा पार्किन्सन रोग र पार्किन्सन प्लस सिन्ड्रोमका बिरामीहरु दिनप्रतिदिन बढिरहेका छन् । विश्व स्वास्थ्य संगठनले यस किसिमको समस्या विश्वभरका जनसंख्यामध्ये ६० वर्ष नाघेका करिब १ प्रतिशतमा देखिने जनाएको छ । तर यो रोग जुनसुकै उमेरका व्यक्तिमा पनि देखिन सक्छ । अमेरिकी तथ्याङ्कले विश्वभर पार्किन्सनका बिरामी ७०—८० लाख रहेको देखाएको छ । नेपालमा पार्किन्सनका बिरामी कति छन् भन्ने यकिन तथ्यांक छैन ।
म सँग हरेक महिना २ देखि ३ जना पार्किन्सन रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । अहिले पार्किन्सन रोगको उपचारमा ६० जना बिरामी मेरो प्रत्यक्ष फलोअपमा रहेका छन् । पार्किन्सन स्नायु प्रणालीको रोग हो । मस्तिष्कको अगाडि, बीच र पछाडिको भागमध्ये बीच भागमा रहेको ‘डोपामिन’ नामक रसायनिक पदार्थले राम्रोसँग काम गर्न नसक्दा पार्किन्सन रोग हुने गर्छ ।
डोपामिनको काम
गाडिको इन्जिन चलायमान राख्न पेट्रोलको भूमिका जस्तै शरीर चलायमान राख्न न्युरो ट्रान्समिटर नामक रसायनिक तत्वको भूमिका महत्वपूर्ण हुन्छ । तेल नभएमा गाडि नचलेजस्तै न्युरो ट्रान्समिटर रसायन बिना हाम्रो शरीर पनि चल्न सक्दैन । डोपामिन नाम गरिएको न्युरो ट्रान्समिटर यस्तो केमिकल मिडियटर हो जसले हाम्रो शरीरलाई चलाउँछ । सेन्सेसन (अनुभूति) मा धेरै भूमिका नभएपनि मोटर कम्पोनेन्ट अन्तर्गत उचित तरिकाले हिँड्ने, डुल्ने, क्रियाकलपमा डोमामिनको मुख्य भूमिका रहन्छ ।
पार्किन्सनको कारण
अहिलेसम्म मेडिकल साइन्सले मस्तिष्कमा ‘डोपामिन’ सुक्ने कारण पत्ता लगाउन सकेको छैन । हाम्रो शरीरमा रसायनिक पदार्थ बन्न र कोषको पोषणका लागि प्रोटिन सिन्थेसिस भइरहन्छ । कोषले शरीरलाई आवश्यक नपर्ने प्रोटिन ब्रेक डाउन (निष्कासन) गरिदिन्छ । पार्किन्सन रोगजस्तै अरु रोगहरुमा पनि कोषिका भित्रको असामान्य प्रोटिन त्यही बसिरहन्छ र बिस्तारै सेलको संरचना क्षति गर्दै जान्छ । अन्ततः सेलहरु मर्न थाल्छन् । यसरी सेल्स मर्ने क्रम प्रायः शरीरको एक भागबाट शु्रु हुन्छ । पार्किन्सन भएका व्यक्तिलाई एकातिरको भागबाट समस्या शुरु हुन्छ । त्यसपछि दाहिने वा देब्रे हात वा गोडामा कमजोरी शुरु हुन्छ ।
लक्षण
यसरी डोपामिन रसायन उत्पादनमा कमी हुँदै गएमा मस्तिष्कले गर्नुपर्ने काम गर्न सक्दैन र विभिन्न किसिमका लक्षण देखिन थाल्छन् । जस्तो—हातको कम्पन, शरीर कडा हुने, सुस्त, मदिरा पान गरे जस्तो ढलमलाउने, अनुहारमा कुनै एक्सप्रेसन नभएजस्तो आदि । त्यसपछि बिस्तारै व्यक्तिको हात काम्ने (बत्ति कातेको जस्तो), हिँड्न पनि गाह्रो हुन्छ । त्यसैले पार्किन्सन रोगमा हिड्दा शुरुमा गाह्रो हुन्छ र टर्मिनल प्वाइन्टमा पुगेपछि साँघुरो ठाउँमा फर्किन पनि समस्या हुन्छ । बिस्तारै नसा सुक्नेक्रम बढ्दै जान्छ । एकातिरबाट शुरु भएको समस्या ३ देखि ५ वर्षपछि अर्को भागतिर पनि शुरु हुन्छ । रोग शुरु भएको धेरै पछि, रोग बढ्न थालेपछि मात्र व्यक्तिलाई शरीरमा केही गडबड भएको अनुभव हुन्छ ।

पहिचान
पार्किन्सन भएका व्यक्तिहरुलाई डोपामिन सिनडोपा भन्ने औषधि दिइन्छ । औषधिले काम गरेमा पार्किन्सन रोग भएको मान्नुपर्छ । केही वर्षअघि वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठलाई भएको पार्किन्सन समस्यामा यो औषधि दिइएको थियो । यसले उहाँलाई काम गरेको थियो ।
यो औषधिले काम नगरेमा पार्किन्सन जस्तै देखिने पार्किन्सन प्लस सिन्ड्रोम हुनसक्ने भएकाले डोपा अप्टेक स्क्यान गराउन सल्लाह दिइन्छ । डोपा अप्टेक स्क्यान नेपालमा उपलब्ध छैन । भारतको दिल्ली लगायतका ठाउँमा जानुपर्छ । यसरी मध्य मस्तिष्कको भागमा डोपामिन नामक रसायनिक प्रक्रियाको अब्टेक कस्तो छ ? भनेर स्क्यान गरिसकेपछि मात्र पार्किन्सन रोग भएनभएको छुट्याउनुपर्छ । यो प्रक्रिया सबै बिरामीमा गराउन सक्ने सम्भावना हुँदैन । अतः पार्किन्सन समस्या नै हो भन्ने एकिन गर्न चार वटा क्लिनिकल मापदण्डमा ख्याल गर्नुपर्छ । यसलाई सम्झना टी.आर.ए.पी. नामाकरण गरिएको छ । टी भनेको ट्रेमर (काम्ने), ए भनेको एकाइनेसिया (कम चलायमान), आर भनेको रिजिडिटी (दह«ोपना) र पी भनेको पोस्च्युरल इनस्ट्याविलिटी (लडुँला जस्तो अनुभूति हुने) मा ध्यान दिनुपर्छ । यी चार मापदण्डमध्ये दुई वा त्यो भन्दा बढी मिलेमा ७०—८० प्रतिशत पार्किन्सन रोग भएको मानिन्छ । पार्किन्सन रोग पहिचानमा एमआरआईको भूमिका हुँदैन ।
उपचार
पाँचदेखि ७ वर्षसम्म त पार्किन्सन रोगमा औषधिले काम गर्छ । त्यसपछि औषधिको रेस्पोन्समा फ्लक्च्युएसन आएमा बिरामीहरुलाई डिप ब्रेन स्टिमुलेसन (डिबिएस) गर्न सल्लाह दिइन्छ । यसका लागि पार्किन्सन भएको मस्तिष्कको भागमा स्टिमुलेसन दिने एउटा व्याट्रि (डिबिएस) राखिन्छ । यस उपचार विधिका लागि १० देखि २० लाख रुपियाँसम्म खर्च हुनसक्छ ।
वरिष्ठ कलाकार श्रेष्ठलाई पनि डिप ब्रेन स्टिमुलेसन (डीबीएस) प्रयोग गरिएको थियो । यसैका कारण उहाँ सजिलै हातखुट्टा चलाएर फटाफट हिँड्न सक्ने हुनुभएको थियो ।
कतिपयमा २ पटकसम्म पनि डिबिएस गर्नुपर्ने अवस्था आउनसक्छ । औषधि वा डिबिएस जे गरेर भएपनि डोपामिन सर्किट ब्रेनमा रसायनिक प्रक्रिया बढाउन खोजिन्छ । डिबिएस गरेको व्यक्तिमा औषधिको थोरै मात्रा भए पुग्छ । ।
व्यक्तिको आयुमा असर
विश्वमा पहिलोपटक १९६१ मा मात्र पार्किन्सन रोगको उपचार पत्ता लागेको हो । उपचार पत्ता लागेपछि सामान्य व्यक्ति र पार्किन्सन रोग भएर उपचार गरेका व्यक्तिको औसत आयु लगभग उस्तै पाइएको छ । तर पार्किन्सन रोग भएकाहरुमा पिसाब संक्रमण हुनसक्ने, ¥याल खकार धेरै आउने, छातिको संक्रमण हुनसक्ने, मानसिक आदिको समस्या हुनसक्ने भएकाले अन्य साइड इफेक्टका कारण व्यक्तिको ज्यान तलमाथि हुनसक्छ ।
सबै हात काम्ने समस्या पार्किन्सन होइन
तसर्थ सबै हात काम्ने समस्या पार्किन्सन रोग हुँदैनन् । हात काम्ने समस्या पार्किन्सन बाहेक अन्य नसाको समस्याले पनि हुनसक्छ । जस्तैः इसेन्सियल ट्रेमर भएमा दुवै हात काम्छन । मस्तिष्कको पछाडि भाग सेरेबेलम सुकेमा पनि हात काम्ने, हिँड्न गा¥ह«ो हुने समस्या आउनसक्छ । त्यसैले सम्बन्धित स्नायु चिकित्सकलाई देखाउन जरुरी हुन्छ ।

पार्किन्सन प्लस सिन्ड्रोमः
नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पत्नि सीता दाहाललाई पनि पार्किन्सन प्लस सिन्ड्रोमको समस्या छ । उहाँ शुरुमा म कहाँ आउनुभएको थियो । मैले पिएसपी डायग्नोसिस गरेको थिएँ । थप डायग्नोसिसका लागि उहाँहरु भारत, थायल्यान्ड, सिंगापुर, अमेरिकासम्म पुग्नुभयो । तर अन्तत सबै ठाउँबाट पिएसपी नै भएको रिपोर्ट आयो ।
यस्ता पार्किन्सन प्लस सिन्ड्रोम (पिएसपी) भएका ५ जना बिरामी मेरो प्रत्यक्ष फलोअपमा छन् । यसरी वर्षमा एक दुई जना यस प्रकारका बिरामी मेरो प्रत्यक्ष सम्पर्कमा आउने गरेका छन् । सिनडोपा औषधिले काम नगरेपछि पार्किन्सन प्लस सिन्ड्रोमको आशंकामा पहिचानका लागि विभिन्न जाँच गर्नुपर्छ । पार्किन्सन प्लस सिन्ड्रोम अन्तर्गत प्रोग्रेसिभ सुप्रा न्युक्लियर पाल्सी (पिएसपी), मल्टि सिस्टम एट्रोफी (एमएसए), कर्टेक्सको डीजेनेरेसन, डिमेन्सिया अफ लुई वडी रोगहरु पर्छन् ।
पार्किन्सन प्लस सिन्ड्रोम भएका व्यक्तिहरुमा सन्तुलनमा हिँड्न गाह्रो, आँखाको हेराईमा समस्या हुन्छ । यो पार्किन्सन जस्तै देखिएपनि यसमा पटक पटक लडिरहने समस्या हुन्छ । यसले चोटपटक धेरै लाग्छ । घाँटी दह्रो हुन्छ । आँखा माथितिर एकोहोरो हेरिरहने समस्या हुन्छ । बिरामीले तलतिर हेर्न सक्दैन । शुरुको अवस्थामा स्मरणशक्ति हुन्छ । तर बिस्तारै डिमेन्सियाको समस्या आउनसक्छ । समस्या बढ्दै गएपछि खाना खान गाह्रो हुन्छ । खाना सर्किनसक्छ । फलस्वरुप यसले निमोनिया गराउँछ । यस्ता व्यक्तिलाई बाहिरबाट नाक वा पेटमा फिडिङ पाइप राख्न सल्लाह दिने गरिएको हुन्छ ।
यो रोग पूर्ण रुपमा निको हुन सक्दैन । मेडिकल साइन्सले धेरै कम रोगहरुलाई मात्र रोक्न सकेको पाइन्छ । संक्रमणबाहेक कुनै पनि रोग नियन्त्रण गरेर राख्नुपर्ने अवस्था आउँछ । पार्किन्सन प्लस सिन्ड्रोमलाई पनि नियन्त्रण गरेर राख्नुपर्छ । रोग आफैंले व्यक्तिको मृत्यु गराउँदैन । तर खाना खाँदा सर्केर, निमोनिया एवं पिसाबमा संक्रमणलगायत अन्य जटिल समस्याका कारण बिरामीको मृत्यु हुनसक्छ ।
यस प्रकारको समस्यामा औषधिले त्यति राम्रो काम नगर्ने र रोग चाँडो बढ्दै जाने हुन्छ । यसको नियन्त्रणमा खानपान र जीवनशैलीको भूमिका पनि महत्वपूर्ण हुन्छ । पोषणयुक्त खानपानमा ध्यान दिनुपर्छ । फिजियोथेरापी, रिह्याबिलिटेसन, शरीर सन्तुलन गर्ने अभ्यास गराउनुपर्छ । नर्सिङ केयर दिइरहनुपर्छ । पिएसपीमा अल्कोहलबाहेक सबै खानेकुरा सेवन गर्न सकिन्छ ।
(डा. पोखरेल उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटल बाँसबारीमा कार्यरत हुनुहुन्छ । उहाँले सन् २०१४ मा कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट न्युरोलोजीमा डीएम गर्नुभएको हो ।)
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
