जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल आयुर्वेद चिकित्सक संघका पूर्व अध्यक्ष डा. ऋषि राम कोइरालाको गत भदौ २०७८ मा ६५ वर्षको उमेरमा हृदयघातबाट निधन भयो । यसैगरी गत भदौमा ४० वर्षका बलिउड कलाकार सिद्धार्थ शुक्लाको हृदयघातका कारण ज्यान गयो । बिग बोस–१३ का विजेतासमेत रहेका शुक्लाले सुत्नुअघि औषधि सेवन गरेका थिए । त्यसपछि उनी उठेनन् । बाँकेका पत्रकार मोविनुद्दिन सिद्धिकीको असार २०७८ मा हृदयघातबाट ज्यान गयो भने लामो समयदेखि कुवेतमा बस्दै आएका प्युठानका ३६ वर्षका पत्रकार माधव शाहीको असोज २०७८ मा कुवेतमा हृदयघातबाट निधन भयो ।

नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष तथा विश्व बुद्धिचाल महासंघ (फिडे)का इथिक्स कमिटी सदस्य राजेशहरि जोशी ६५ वर्षको उमेरमा असार २०७८ मा हृदयघातका कारण परलोक भए । नेपाली कांग्रेस ओखलढुंगाका नेता मित्रसेन दाहालको हृदयघातबाट फागुन २०७७ मा ज्यान गयो । अस्ट्रेलियाका पूर्व क्रिकेटर डीन जोन्स ५९ वर्षको उमेरमा हृदयघातबाट भारतको मुम्बईमा मरे । पूर्व प्रधानन्यायाधीश केदार प्रसाद गिरीको २०७५ साल मंसिरमा हृदयघातबाट निधन भएको थियो । तेलेगु सिनेमाका चर्चित अभिनेता तथा हाँस्यप्रधान खलनायक जयप्रकाश रेड्डीको ७४ वर्षको उमेरमा मुम्बइमा हृदयघातबाट ज्यान गुमाए । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘हृदयघातबाट असोज २०७७ मा ज्यान गएको थियो । यसैगरी भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको ६७ वर्षको उमेरमा हृदयघातबाट निधन भएको थियो । यसरी धेरैले एकपछि अर्कोगरी हृदयघातबाट ज्यान गुमाइरहेका छन् ।
हृदयघातका कारण कसैको तुरुन्तै मृत्यु हुन्छ भने कतिपयलाई आफूमा हृदयघात भएको थाहा नहुनसक्छ । यद्यपी हृदयघातमा मुटुको कुन भागको नशा ब्लक भयो ? र, त्यसले कति भागलाई प्रभाव पारेको छ ? भन्ने विषयले अत्यन्त महत्व राख्छ । मुटुको कुन र कति भाग क्षति भएको छ ? भन्ने कुराले व्यक्तिको गम्भिरताको निक्र्योल गर्छ । यसरी मुटुरोग सम्बन्धि समस्या संसारभर एक विकराल समस्याको रुपमा स्थापित भएको देखिन्छ ।
विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार, नेपालमा सन् २०१८ मा कोरोनरी मुटु रोगबाट ३४ हजार १६७ जनाको मृत्यु भएको थियो जुन नेपालमा कुल मृत्युको २०.५३ प्रतिशत हुन आउँछ । विश्वको सन्दर्भमा नेपाल कोरोनरी मुटु रोगमा ३८ औं स्थानमा रहेको पुष्टि गरेको छ ।
हृदयघात कस्तो रोग हो ?
शारीरिक संरचनाअनुरुप मुटुमा अक्सिजन आपूर्ति गर्ने विभिन्न नशा/धमनी अवरुद्ध भएर निम्त्याउने नतिजा हृदयघात हो । यसबाट मुटुका मांसपेशी अक्सिजन नपाएर क्रमशः मर्न थाल्छन् । हृदयघातको कुनै निश्चित समय हुदैन । जुनसुकै समयमा वा स्थानमा पनि हुनसक्छ । तसर्थ हृदयघात भएका बिरामी र बिरामीसँगै रहेका व्यक्ति निकै नै सजग हुनुपर्छ ।
लक्षण
मधुमेहीहरुलाई लक्षण बिना नै हृदयघात हुने गरेको पाइन्छ । तर, अन्य व्यक्तिको हकमा भने त्यसो भएको देखिदैन । उनीहरुमध्ये केहिमा विशेषगरी छाती दुःख्ने हुन्छ भने कतिपयमा छातिको दुःखाई महशुस नभईकन नै कम्तिमा दश मिनेटजति सास फेर्न गाह«ो भएको महशुस हुने र मुटु भारी भएको जस्तो लाग्छ । र, सो दुखाई क्रमशः सर्दैगई घाँटीसम्म आउने र व्यक्तिलाई घाँटी समातेको जस्तो लाग्छ । यस्तो दुखाई
प्रायजसोः छातीको बीचभागमा भएपनि कहिलेकाहिँ त्यसको तोडले दायाँ वा बायाँ पनि दुःखाईको महशुस हुने गर्छ । सो दुखाईले पछिल्लो भागमा समेत असर गर्ने र कसैको भने बायाँपट्टि भित्री भाग हुँदै दुःखाई सर्दै गएको महशुस हुनसक्छ । यसबाहेक केहि व्यक्तिमा भने औँला दुःखाईको मात्रै महशुस हुने र मुटुको धड्कनमा अनियमितता आउने समेत सम्भावना रहन्छ ।
कसलाई हुन्छ हृदयघात ?
बढ्दो उमेर
५०–६० वर्ष कटेपछि विशेषगरि पुरुषहरुमा हृदयघात हुने सम्भावना उच्च रहन्छ । अस्वस्थ्यकर जीवनशैलीका कारण पछिल्लो समय युवाहरु यसको शिकार बन्न पुगेका छन् ।
तनाव
वर्तमान समयको व्यस्त जीवनशैलीमा अधिकांश व्यक्तिहरु तनावसहितको जीवनयापन गर्दै आएका छन् जुन हृदयघातको घातक पक्ष हो ।
धुम्रपान
धुम्रपानले मुटुका नशामा गहिरो असर पु¥याउने भएकाले हृदयघातको जोखिम बढाउँछ ।
शारीरिक निस्क्रियता
अधिकांश व्यक्ति आफ्नो सारा जीवन एकै ठाउँमा स्थिर रुपमा बसेर मात्रै समय व्यतीत गर्ने बहाना पाइरहेका छौ । यति हुदाँहुदैँ पनि कतिपयले शारीरिक व्यायामलाई समेत बेवास्ता गरिरहेका छन् । तर, हाम्रो यस्तो निस्क्रियपनले उल्टै मुटुरोग समस्या निम्त्याइरहेको हुन्छ ।
मोटोपन
विशेषगरी एसिया राष्ट्रका व्यक्तिहरु शरीरका अन्य भाग हेर्दा फिट देखिए पनि उनीहरुको पेट बाहिर निस्केको पाइन्छ । यस्तै शरीरको उचाई अनुरुप अधिकांशको तौल बढि नै हुन्छ । यस्ता व्यक्तिहरुमा पनि हृदयघातको जोखिम उच्च रहन्छ ।

आणुवंशिक
परिवारका कुनैपनि सदस्यलाई हृदयघात भएमा घरका अन्य व्यक्तिमा पनि आणुवंशिक रुपमा देखापर्नसक्छ ।त्यसैले घरमा मुटुसम्बन्धि समस्या भएका अन्य सदस्यले पनि समय–समयमा आफ्नो स्वास्थ्य परीक्षण गराइ रहनुपर्छ ।
अन्य जोखिम
उच्च रक्तचाप, मधुमेह तथा उच्च कोलेस्टोर भएका व्यक्तिहरुमा पनि हृदयघातको जोखिम उत्तिकै रहन्छ ।
हृदयघातको पहिचान
अधिकांश केशमा एन्जाइटीका लक्षण पनि हृदयघातका लक्षणसँग मिल्दोजुल्दो हुने भएकाले व्यक्तिहरु झुक्किने गर्छन् । तसर्थ छातिको भागमा दुखाई भएका व्यक्तिहरुले इसिजी गराउनुपर्छ । यस्तै, ‘रिक्स फ्याक्टर’ को माध्यमबाट पनि आफुमा हृदयघातको सम्भावना अनुमान गर्न सकिन्छ । हृदयघात पहिचान गर्न सकिने माध्यम रक्त परीक्षण पनि हो ।
उपचार प्रकृया
औषधि सेवन
हृदयघात भएका व्यक्तिलाई उपचार प्रकृया स्वरुप पहिलो चरणमा औषधि दिइन्छ । यद्यपि औषधिले नै समस्याको निदान हुनसक्ने सम्भावना भने निकै कम रहन्छ ।
कोरोनरी हाइड्रोप्लाष्टि
कोरोनरी हाइड्रोप्लाष्टि भन्नाले मुटुमा रगतको क्लटका कारण ब्लक भएर बसेको धमनीलाई एउटा तारको सहायताले खोलेर जाली राख्ने प्रकृया भन्ने बुझिन्छ । र, तुनात्मक रुपमा यसलाई औषधि सेवनभन्दा प्रभावकारी प्रकृया मानिन्छ ।
बाइपास सर्जरी
मधुमेह, रक्तचाप तथा कोलेस्टेरोजजस्ता रोगले पहिल्यै ग्रसित व्यक्तिहरुको कतिपय घटनामा मुटुका अधिकांश नशाहरु ड्यामेज भइसकेका हुन्छन् । तसर्थ त्यस्तो अवस्थामा भने व्यक्तिको बाइपास सर्जरी गरिन्छ ।
पेसमेकर वा सीआरटी
मुटुको चालमा अनियमिता देखिएको खण्डमा व्यक्तिमा गरिने उपचार भनेको पेसमेकर अथवा सीआरटी हो । माथि उल्लेखित प्रक्रिया हृदयघात भएको ८ घण्टाभित्रै मुटुको अन्य भागहरु ड्यामेज हुनु अगावै अथवा अन्य भागहरु मर्नु अगावै गरिएमा उपचारको प्रभावकारिता बढि रहन्छ । अन्यथा समयमै उपचारको अभावमा व्यक्तिको मुटुको धड्कनको गतिमा कमी आई क्रमशः मुटुको केहि भाग चल्न छाड्छ । जसबाट शरीरमा जति मात्रामा मुटुले रक्तप्रवाह गर्नुपर्ने हो त्यत्ति मात्रामा गर्न सक्दैन र परिणाम स्वरुप ‘हार्ट फेल’ सम्म हुनसक्छ । साथै व्यक्तिको ज्यान जानसक्ने सम्भावना उच्च रहन्छ ।
सतर्कता
हृदयघातको सम्भावना बढि भएका व्यक्ति, विशेषगरी मधुमेह, उच्च रक्तचाप तथा कोलेस्टेरोलजस्ता दीर्घरोग र पहिले पनि शिकार भइसकेका व्यक्तिहरुले आफूमा भएको असहजताको महसुसलाई ध्यानमा राखेर सदैव सर्तक रहनुपर्दछ । यस्ता व्यक्तिले साथमा सकेसम्म ‘एस्प्रिन’ अथवा ‘डिस्प्रिन’ औषधि छुटाउन हुँदैन । र, आफूलाई हृदयघात हुने सम्भावना देखिएमा दुई चक्की सो औषधि चपाएर निल्नुपर्छ । त्यसपश्चात् तुरुन्तै नजिकको अस्पताल गएर ‘ईसिजी) गराउनुपर्छ ।
सहयोग
यदि कुनै व्यक्तिलाई हृदयघात भएमा अर्को व्यक्तिले तुरुन्त एम्बुलेन्सलाई खबर गरेर बिरामीलाई ‘एसप्रिन र डिस्प्रिन’ का दुईवटा चक्की चपाएर खान दिनुपर्छ । सम्भव भएसम्म एम्बुलेन्स नआउन्जेल बिरामीलाई अक्सिजन दिएर राख्नुपर्छ ।
रोकथाम
हृदयघातबाट बच्ने उत्तम उपाय मुटु स्वस्थ्य राख्नु हो । यसका लागि स्वस्थ खाना तथा सक्रिय जीवनशैलीलाई अवलम्बन गर्दै धुम्रपान तथा मद्यपानजस्ता घातक पदार्थको सेवन त्याग्नुपर्छ ।
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

