
मुटु शरीरको जटिल संरचनाबाट बनेको एउटा अंग हो । मुटुका सबै रोगमा शल्यक्रियाको जरुरत पर्दैन । मुटु रोगीका लागि औषधि सेवन र शल्यक्रिया भन्ने कुरा रोगको प्रकृतिमा निर्भर हुन्छ । तीन मिनेट भन्दा बढी मुटु नचलेको अवस्थामा मस्तिष्कमा रगत सञ्चालन नपुगेर मानिसको मृत्यू हुन्छ । मुटु सर्जनले मुटु शल्यक्रियाको दौरानमा मुटु बन्द गराएर बैकल्पिक मुटु र फोक्सोको काम गर्ने (हार्ट लङ) मेसिनमा राखेर मुटु र फोक्सोबाहेकका अन्य सबै अंगहरुमा रगत सञ्चार गराएर मुटुभित्र गर्नुपर्ने सबैकाम सकेपछि फेरि मुटु चलाउनुपर्छ । त्यसैले यसमा धेरै जटिलता जोडिएको छ । मन लगाएर काम गर्दा गाह्रो भन्दा गाह्रो अवस्थाका बिरामी बचाउन सकिन्छ । बिरामी बचाएको जस्तो आनन्द अरु केहीबाट पाउन सकिँदो रहेनछ । बाथ मुटुरोगको अवस्था भए, मुटुको रक्तनली बन्द भएर चाँडै पत्ता लागेमा औषधि सेवनले फाइदा गर्छ । तर रोग बढेर भल्भ नराम्ररी बिग्रिएमा, मुटुका रक्तनली ६०–७० प्रतिशत भन्दा बढी बन्द भएमा, हिँड्दा धेरै छाति दुखेकामा शल्यक्रिया या एन्जियोप्लास्टीको जरुरत पर्नसक्छ । जन्मजात मुटु रोगलाई शल्यक्रियाको जरुरत पर्छ ।
जन्मजात मुटुका साना साना प्वालहरु कतिपयको आफैं टालिनसक्छन् । नटालिएमा खासै समस्या दिएको छैन एवं फोक्सोको प्रेसर बढाएको छैन भने त्यसलाई शल्यक्रिया गरिरहन आवश्यक हुँदैन । मुख्यतया मुटुको भल्वको रोग, मुटुको रगतको नलीहरुमा अवरोध भएर हुने कोरोनरी आर्टरी डिजिजमा वाइपास सर्जरी र बच्चाहरुमा जन्मजात हुने रोग कन्जिनाइटल हार्ट डिजिजमा शल्यक्रियाको जरुरत पर्छ ।
मुटुको भल्व
मुटुमा चार वटा भल्व हुन्छन् । मुटुको देब्र भागमा २ वटा र दाहिनेतिर २ वटा भल्व हुन्छन् । मुटुको भल्वको शल्यक्रिया मुख्यतया ¥यूम्याटिक र डि—जेनेरेटिभ गरी दुई प्रकारका हुन्छन् । वाथ ज्वोरोले भल्व बिग्रिएर हुने समस्या ¥यूम्याटिक हो र यो प्रायःजसो युवा व्यक्तिलाई हुने गर्छ । उमेर सँगसँगै भाल्वहरु बिग्रिने समस्यालाई डि—जेनेरेटिभ भनिन्छ । जन्मजात पनि भल्भहरु बिग्रिएका हुनसक्छन् । साधारणतया ¥यूम्याटिक वा डि—जेनेरेटिभलगायत जुनसुकै मुटुको रोग भएपनि देब्रेतिरको माइट्रल र एओर्टिक भल्भ बढी बिग्रेको पाइन्छ । दाहिने भागको भल्वहरु खासै त्यति बिग्रिएका हुँदैनन् ।

र्युम्याटिक हार्ट डिजिज
बच्चामा बेटा हिमोलाइटिक स्ट्रप्टोकोक्कस नामक ब्याक्टेरियाले टन्सिलाईटिस हुँदा समयमै उपचार नगरेमा तथा चिकित्सकको परामर्शमा एन्टिबायोटिक नखाएमा बाथ ज्वरो तथा र्युम्याटिक भल्व डिजिज हुनसक्छ । उक्त ब्याक्टेरियालाई मुटुको भल्व अति नै मन पर्छ । त्यसले गर्दा देब्रेतिरको भल्वहरुमा संक्रमण गरेपछि भल्वहरु बिस्तारै साँघुरो हुने वा चुहिने समस्या देखिनसक्छ । यसरी भल्व बिग्रिँदैमा सबैलाई शल्यक्रियाको जरुरत पर्दैन । यदि बिग्रिसकेपछि पनि समयमै औषधि खाएमा रोकथाम गरेर लामो समयसम्म भल्व मर्मत नगरीकन नै बच्न सकिन्छ । तर हाम्रो देशमा सामान्य उपचार सुविधासमेत पर्याप्त नभएकाले धेरै बिरामीहरुको भल्व कि एकदमै साँघुरो भइसकेको हुन्छ वा चुहिने भइसकेको हुन्छ । यस्तो अवस्थामा फोक्सोको प्रेसर वढ्छ र मुटु तन्केर धेरै ठूलो आकारको हुन्छ ।
अलिकति हिँड्ने बित्तिकै स्याँ स्याँ हुने, हिँड्न गाह्रो हुने, गोडा सुन्निने, पेट सुन्निनेजस्ता समस्याहरु देखिनसक्छन् । यस किसिमको समस्या आउन अगावै शल्यक्रिया गरेमा राम्रो हुन्छ । शल्यक्रिया प्रक्रियामा भल्व कतिको साँघुरो छ, यसमा कति चुहिने समस्या छ, मुटु कति तन्किएको छ र बिरामीलाई कतिको गाह्रो छ जस्ता कुराहरुको समिश्रण हेरेर भल्व फेर्नुपर्छ ।
डि—जेनेरेटिभ हार्ट डिजिज
उमेरसँगै छाला चाउरी परेजस्तै मुटुका भल्वहरु पनि चाउरी पर्न थाल्छन् । भल्वमा क्याल्सियम जम्न थाल्छन् । यस्तो प्रक्रियामा प्रायजसो एओर्टिक भल्व साँघुरो हुने र माइट्रल चुहिने हुन्छ । चुहिने अवस्थामा भल्व मर्मत गर्नुपर्छ तर एओर्टिक भल्व प्राय फेर्नु नै पर्ने हुन्छ । एकदमै धेरै समस्याग्रस्त बिरामीहरुलाई आजकल शल्यक्रिया नै नगरी गोडाको रगतको नलीबाट एन्जिओग्राम गरेजस्तै एउटा भल्व पठाएर एओर्टिक भल्वमा अर्को भल्व राख्न सकिन्छ । यसलाई ट्रान्स एओर्टिक भल्व रिप्लसमेन्ट भनिन्छ । तर यो निकै खर्चिलो छ । नेपालमा यो प्रविधिबाट हालसम्म शल्यक्रिया भएको छैन । भारतमा पनि एकदुईवटा अस्पतालमा मात्र हुने गर्छ ।
इन्फेक्टिभ इन्डोकार्डाइटिस
किटाणु संक्रमणका कारण भल्वमा समस्या आउनसक्छ । यदि मुटुको भल्वमा संक्रमण भएमा बिरामीलाई ज्वरो आउने, भल्व पाक्ने, कुहिने, त्यहाँ याब्सेस (पिप जम्ने) जस्ता प्रक्रियालाई इन्फेक्टिभ इन्डोकार्डाइटिस भनिन्छ । लागू औषध प्रयोगकर्ताहरुमा मुटुको दाहिने भागको ट्राइकस्पिड भल्वमा समस्या देखिनसक्छ । अन्य रोगले बिग्रिसकेको भल्वमा इन्फेक्टिभ इन्डोकार्डाइटिस हुने संभावना रहन्छ । कसैमा ¥यूम्याटिक हार्ट डिजिजका कारण अलिकति भाग बिग्रिएको भएमा उसलाई संक्रमण हुने संभावना उच्च रहन्छ । डि—जेनेरेटिभ हार्ट डिजिजमा पनि भल्वमा समस्या आउने जोखिम धेरै हुन्छ । इन्फेक्टिभ इन्डोकार्डाईटिसबाट कहिलेकाँही व्यक्तिको ज्यानसमेत जानसक्छ । यस्तो समस्यामा कम्तिमा चारदेखि ६ हप्तासम्म रगतको नलीबाट एन्टिबायोटिक पठाएर उपचार गर्नुपर्छ । यस्तो समस्यामा भल्व मर्मत गर्ने वा फेर्नुपर्ने हुनसक्छ । ।
कोरोनरी आर्टरी बाइपास ग्राफ्ट सर्जरी
मुटुको रगतका नलीहरु साँघुरिएर हृदयघात हुने वा छाति दुःख्ने भएमा कोरोनरी आर्टरी डिजिज भनिन्छ । देब्रेतिर २ वटा र दाहिनेतिर एउटा गरी मुटुमा ३ वटा रगतका नली हुन्छन् । तीनवटा रगतका नलीमध्ये कुनै एकमा वा सबैमा अवरोध देखिएमा यस्तो खालको समस्या हुनसक्छ । कतिपय अवस्थामा औषधि खाएर पनि निको हुन्छ वा एन्जिओप्लास्टी गरेर पनि समाधान गर्न सकिन्छ । तर यी दुवै प्रभावहीन भएमा शल्यक्रिया गर्नुपर्छ । यसमा अवरोधको प्रकृति कस्तो छ ? भन्नेमा निर्भर हुन्छ । कतिवटा रगतका नलीमा अवरोध छन् ? कहाँ अवरोध छ ? व्यक्तिमा मधुमेह छ वा छैन ? व्यक्तिलाई पहिला हृदयघात भएको छ कि छैन ? उसको मुटुले कति काम गरिहेको छ ? जस्ता कुराले वाइपास सर्जरी गर्ने कि नगर्ने भन्ने कुराको निक्र्यौल गरिन्छ ।
मुटुको तीन वटा रगतका नली अवरोध भएमा मधुमेह भएका बिरामीहरुमा एन्जिओप्लास्टीको तुलनामा कोरोनरी आर्टरी वाईपास ग्राफ्ट सर्जरी (मुटुको रगतको नली वाइपास गरेर अर्को रगतको नली हाल्ने) निकै राम्रो मानिन्छ । यसमा छाति मुनी हुने रगतका नली, हातमा हुने रगतका नली र खुट्टामा हुने भेनहरु लगेर अवरोध भएको भागभन्दा मुनि जोडिन्छ र रक्तसञ्चारका लागि वैकल्पिक बाटो बनाइन्छ । यसले पछि हृदयघात, हिँड्दा स्याँ स्याँ, छाति दुख्ने जस्ता समस्याबाट मुक्ति मिल्छ । यस्तो अवस्थामा औषधि नियमित रुपमा खानुपर्छ र आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । यो भत्केको पूलमा डायभर्सन हालेजस्तै हो ।
कहिलेकाँही पछि हालेको रगतको नलीमा पनि अवरोध आउनसक्छ । त्यसैले यसमा अवरोध आउन नदिन चिकित्सकले भनेका कुरामा ध्यान दिनुपर्छ । जस्तो—नियमित व्यायाम गर्ने, नियमित औषधि खाने, जीवनशैलीमा परिवर्तन ल्याउनुपर्छ । खानपानमा विचार गर्नुपर्छ । चुरोट सेवन गर्नहुँदैन । उच्चरक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्नुपर्छ । यसो गर्न सकेमा बाइपास गरेर जोडेका नलीहरु लामो समयसम्म खुला रहन्छन् ।

कन्जिनाइटल हार्ट डिजिज सर्जरी
जन्मजात मुटुमा हुने रोग भिन्न प्रकारका हुन्छन् । साधारण खालको मुटुमा प्वाल हुनेदेखि जटिल प्रकारका (मुटुको रगतको नलीहरु एकातिरबाट आउनुपर्नेमा अर्कोतिरबाट आउने, एकातिर हुनुपर्ने मुटुको खण्ड अर्कोतिर हुने, फोक्सोमा जाने रगतको नली नबन्ने, साँघुरो हुनेसम्म) हुन्छन् । हामी जन्मजात मुटुरोगको साधारण खालको प्वाल टाल्नेदेखि जटिल प्रकारका शल्यक्रियाहरु गर्न सक्षम छौं । समयमा बिरामीको उपचार भएमा धेरै रोग निको पार्न सकिन्छ । कतिपय जन्मजात रोगको शल्यक्रिया गरेर निको पार्न सकिदैन ।
हार्ट फेलियर
मुटुको देब्रे भेन्ट्रिकल र दाहिने भेन्ट्रिकल दुवैले रगत पम्प गर्छन् । दाहिनेले रगत फोक्सोमा पम्प गर्छ भने देब्रेले शरीरका विभिन्न भागमा पम्प गर्छ । विभिन्न कारणले मुटु कमजोर भएर मुटुको रगत पम्प गर्ने क्षमतामा कमी आएमा अर्थात मुटु तन्किएर मुटुको मांशपेशीमा समस्या आएमा हार्ट फेलियरको अवस्थामा पुगिन्छ । विभिन्न रोगले मुटुको पम्पिङ गर्ने क्षमता कम भएर जाने प्रक्रिया हार्ट फेलियर हो । मुटुलाई पम्प गर्न सक्रिय बनाउने प्रविधि छैन । मुटुका मांशपेशीहरु मरिसकेपछि त्यसलाई सक्रिय बनाउन सकिदैन । १५—२० प्रतिशत मात्र मुटुको काम गर्ने क्षमता बाँकी रहेमा मुटु प्रत्यारोपण एक विकल्प हुनसक्छ । तर नेपालमा अहिलेसम्म मुटु प्रत्यारोपण हुन सकेको छैन । भेन्ट्रिकुलर असिस्ट डिभाईस (भ्याड) एक किसिमको मुटुबाट रगत पम्प गर्ने मेसिन हो ।
मुटु कमजोर भएका व्यक्तिको भेन्ट्रिकलमा उक्त पम्प गर्ने मेशिन राखिन्छ । यसले मुटुले पम्प गर्न नसकेको रगत पम्प गरिदिन्छ । यो निकै महँगो शल्यक्रिया छ । भेन्ट्रिकुलर डिभाइस नै निकै महँगो छ । यो शल्यक्रिया पनि नेपालमा हालसम्म भएको छैन ।
अन्य मुटुका शल्यक्रिया
माथि उल्लेखित मुटुरोग तथा शल्यक्रियाबाहेक मुटुका ट्यूमर, मुटुबाट निस्कने मुख्य रगतको नली एओर्टमा लाग्ने रोग, मुटुको बाहिरको पत्र पेरिकार्डियममा लाग्ने रोगको शल्यक्रिया नेपालमा नियमित रुपमा भइरहेको छ ।
(डा. शर्मा ह्याम्स हस्पिटलमा कार्यकारी निर्देशक तथा चिफ कन्सल्यान्ट कार्डियाक सर्जन हुनुहुन्छ । )
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
विपद् प्रभावितको राहतका लागि केभिडी ग्रुपद्वारा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग
बिहीबार, भदौ १८, २०८३

