
डा. ज्ञवालीले हालसम्म २ सय बढी बिरामीको जोर्नी प्रतिस्थापन गरिसक्नुभएको छ । उहाँ सन् २०१५ देखि सक्रिय रुपमा लाग्नुभएको हो । सन् २०१२ मा नेपाल अर्थोपेडिक अस्पतालमा काम शुरू गर्नुभयो । यहाँ हरेक वर्ष अमेरिकाबाट जोर्नी प्रत्यारोपण सर्जनहरु आउने गर्छन् । उनीहरुको उद्देश्य नेपाली बिरामीलाई सहयोग गर्ने र नेपाल अर्थोपेडिक हस्पिटलका डाक्टरलाई टिचिङ गराउनु हो । उहाँले पनि उनीहरुबाटै जोर्नी प्रत्यारोपण सिक्नुभएको हो र त्यसपछि स्वीजरल्याण्डबाट आर्थोस्कोपी र आर्थोप्लाष्टीमा फेलोसिप गर्नुभयो । यस अंकमा हामीले जोर्नी प्रत्यारोपण एवं आर्थोस्कोपी सर्जन डा. प्रकाश ज्ञवालीसँग जोर्नी प्रत्यारोपणसम्बन्धि कुराकानी गरेका छौं । आउनुस् जानौं ।
जोर्नी प्रतिस्थापन के हो ?
बिग्रिएको जोर्नीको ठाउँमा नयाँ जोर्नी राख्ने प्रक्रिया जोर्नी प्रतिस्थापन हो । यसमा बिग्रिएको जोर्नीको भागलाई काटेर निकालेर क्रित्रिम जोर्नी हालिन्छ । जोर्नी प्रत्यारोपण चिरेर गर्नुपर्छ । तर जोर्नी भित्रको लिगामेन्ट, वासर, जोर्नी फुत्कने समस्याको लागि सानो प्वालबाट क्यामरा छिराएर जोर्नी भित्र सर्जरी गरिन्छ । यसलाई आर्थोस्कोपी भनिन्छ र यो स्पोर्टस् इन्जुरीतिर बढी हुन्छ ।
जोर्नी प्रतिस्थापन एक सर्जिकल प्रक्रिया हो जसमा जोर्नीको क्षतिग्रस्त भागलाई कृत्रिम सामाग्रीले प्रतिस्थापन गरिन्छ जसलाई प्रोस्थेसिस भनिन्छ । यो धातु, प्लास्टिक र सिरेमिक सामग्रीबाट बनेको हुन्छ । यो प्रायः घुँडा र हिपका जोर्नीहरू प्रतिस्थापनका लागि प्रयोग गरिन्छ।
कस्ता–कस्ता घटना ह्याण्डल गरिरहनुभएको छ ?
अस्पतालमा लडेर, खसेर, सडक दुर्घटनाबाट हड्डी भाँचिएर आउने बिरामीको सर्जरीबाहेक मैले विशेष गरेर जोर्नी प्रत्यारोपण र जोर्नीको क्यामराबाट गर्ने सर्जरी गर्छु । जोर्नी प्रत्यारोपण आर्थोप्लाष्टी हो भने जोर्नीको क्यामराबाट गर्ने सर्जरी आर्थोस्कोपी हो ।
जोर्नी प्रत्यारोपण किन गर्ने ?
जोर्नी बिग्रिएपछि दुःखाइ सहेर हिड्नुपर्छ । तर जोर्नी प्रत्यारोपणले दुःखाई रहीत जीवन जिउन सकिन्छ । जोर्नी प्रत्यारोणले क्वालिटी अफ लाइफ राम्रो हुन्छ । अन्यथा मल्टिपल डिजिजले आक्रमणगर्नसक्छ । यदि तपाईंले खुट्टाले हिड्न सक्नुभएन र बेडमा मात्र बस्नुपर्यो भने के होला सोच्नुस् त । यसमा जीवनको अर्थ नै रहँदैन ।

जोर्नी किन खिइन्छ ?
उमेर र जोर्नीमा लाग्ने रोगका कारण (जस्तैः बाथरोग) आदिले जोर्नी खिइन सक्छ । पुरानो जोर्नीको चोट, पुरानो जोर्नीको संक्रमण जस्तैः जोर्नीको क्षयरोगले पनि जोर्नी खिइनसक्छ । एग्रेसिभ बाथ रोग भएका व्यक्तिको पनि युवावस्थामा जोर्नी बिग्रन सक्छ ।
शुल्क कति लाग्छ ?
जोर्नी प्रत्यारोपण महँगो सर्जरी हो । इम्प्लान्टको मूल्य महँगो पर्छ । नेपालको परिदृश्यमा जोर्नी प्रत्यारोपणका लागि हेल्थ इन्स्योरेन्सको सुविधा छैन । शल्यक्रिया शुल्क बाहेक एउटा इम्प्लान्ट किन्न मात्र करिब २ लाख रुपियाँ भन्दा बढी खर्च गर्नुपर्छ ।
अर्ध सरकारी अस्पतालमा ४ लाख रुपियाँ जति खर्च हुन्छ । सरकारी अस्पतालमा पनि प्रत्यारोपण खर्च उस्तै हो । शल्यक्रिया शुल्क सस्तो हुने भएकाले सरकारीमा १०–१५ हजार सस्तो पर्नसक्छ । तर निजी अस्पतालमा यसको खर्च अझ बढी आउँछ ।
यो सामान्य नेपालीका लागि खर्चिलो हो । पहिलेको तुलनामा इम्प्लान्टको मुल्य घटेको छ । अहिले दुई लाख रुपियाँको हाराहारीमा आउँछ ।
प्रतिस्थापन गरिएको जोर्नी कति टिक्छ ?
एकपटक प्रत्यारोपण गरिएको जोर्नी २०–२५ वर्षसम्म चल्ने अध्ययनले देखाएको छ । स्पाइन, मिर्गौला र क्यान्सरका बिरामीलाई सरकारले मासिक ५ हजार भत्ता दिने गरेको छ ।
जोर्नी प्रत्यारोपण गर्नु बाद्यता भएकालेअपाड्गता भएर हिड्न नसकेकाहरुलाई डिजेबल स्कोरमा राखेर सरकारले सुलभ दरमा सहुलियत दिन आवश्यक छ । यसबारेमा आर्थोप्लास्टी एसोशियसनले पनि पहल गरेको छ ।

कम्प्लिकेशन कतिको आउनसक्छ ?
जोर्नी प्रत्यारोपणको ठूलो जटिलता भनेको संक्रमण हो । तर संक्रमण दर एकदम कम हुन्छ । कुनै कारणबस संक्रमण भई नियन्त्रण गर्न नसकिएको अवस्थामा इम्प्लान्ट निकालेर फाल्नुबाहेक बिकल्प हुँदैन र संक्रमण फेरि नियन्त्रण गरेपछि अर्को इम्प्लान्ट हाल्नुपर्छ जुन धेरै खर्चिलो हुन्छ ।
संक्रमण के कारणले हुनसक्छ?
मल्टिपल कारणले संक्रमणको जोखिम हुन्छ । हाम्रा बिरामीको व्यक्तिगत स्वच्छता कमजोर भएको पाइन्छ । त्यसैले बिरामीबाट पनि संक्रमण हुने सम्भावना हुन्छ । साथैशल्यक्रिया कक्षको वातावरण र उपकरण (इन्स्ट्रुमेन्टेसन)ले गर्दा पनि संक्रमणको जोखिम हुन्छ । यसप्रति विशेष सावधानी अपनाउनुपर्छ ।
सर्जरीपछि बिरामी कति समयसम्म फलोअपमा रहनुपर्छ?
जोर्नीको प्रत्यारोपण सर्जरीपछि अवस्था अनुसार ४–५ दिनमा डिस्चार्ज गर्न सकिन्छ । दुई हप्तामा टाँका काट्नुपर्छ । प्रत्यारोपण गरेका बिरामीलाई फिजियोथेरापी र एक्सरसाइजको आवश्यकता हुन्छ । शल्यक्रियापछि पनि हामी (सर्जन) ले सिकाएको व्यायाम गरिराख्नु राम्रो हुन्छ । एकमहिना पछि फलोअपमा आउनुपर्छ । उनीहरुले गरेको एक्सरसाइज चित्त बुझ्दो भएमा पुनः डेढ महिनापछि फलोअपमा बोलाइन्छ । प्रायजसो दुईहप्ता, डेढ महिना, ३ महिना, ६ महिना र एकवर्षमा फलोअपमा बोलाउने गरिन्छ । त्यसपछि हरेक एक वर्षको अन्तरलालमा फलोअपमा बस्नुपर्छ ।
खानपान र जीवनशैली कस्तो हुनुपर्छ ?
जोर्नी प्रत्यारोपणका व्यक्तिहरुलाई खानपानमा बन्देज गरिदैन । जोर्नी प्रत्यारोपण गर्ने व्यक्ति प्राय बृद्धबृद्धा हुन्छन् । मधुमेह, उच्च रक्तचाप र थाइराइड जस्ता दीर्घ रोग पनि हुनसक्छ । यी रोग नियन्त्रमा राख्न खानपान बार्नुपर्दछ । साथै धेरै मोटाउनु हुँदैन । सुगर लेवल र उच्च रक्तचाप नियन्त्रणमा राख्नुपर्दछ । यस्ता रोग शरीरको रोग प्रतिरोधात्मक प्रणालीसँग सम्बन्धित हुने भएकाले प्रतिरोधात्मक क्षमता घट्नसक्छ । यसबाट प्रत्यारोपण गरिएको जोर्नीमा संक्रमण हुने जोखिम उच्च हुन्छ । अतःजोर्नी प्रत्यारोपण गरेपछि नियमित जोर्नी सम्बन्धि ब्यायाम गर्न जरूरी हुन्छ ।
शल्यक्रिया पूर्व बाथ नियन्त्रणको जरूरत पर्छ ?
प्रत्यारोपण गरिएकोजोर्नीलाई बाथले बिगार्दैन । तर बाथका कारण जोर्नी बिग्रिएको अवस्थामा शल्यक्रिया गर्नुपूर्व यसलाई नियन्त्रणमा राख्नुपर्छ । यसका लागि बाथरोग विशेषज्ञको पनि संलग्नता आवश्यक पर्छ ।
नेपालमा प्रायः धेरै महिलाको जोर्नी किन बिग्रन्छ ?
नेपालको परिस्थितिमा महिलाहरूको जोर्नी समस्या बढी भएको र यसको कारण महिलाको दैनिक क्रियाकलाप र रजनोवृत्ति कारण हुनसक्छ ।
पुरूषको तुलनामा महिलाको शारीरिक क्रियाकलाप बढी हुन्छ । गाउँमा पानी पधेँरो, घाँस दाउरा र घरको कामकाज महिलाले नै गर्नुपर्छ । जोर्नी बिग्रने चार जना महिलाको तुलनामा एक जना पुरूष हुन्छन । महिलाहरू लामो समयसम्म दुःखाइ सहेर बसिरहेका हुन्छन् ।
आफ्नो समस्या समाजमा खुलेर भन्न सक्दैनन् ।सामान्य समस्या भएमा पुरुषहरू आफैं अस्पताल आइपुग्छन्। तर महिलालाई अस्पताल लिएर जानुपर्छ । जसले गर्दा उनहरू जोर्नी धेरै बिग्रिसकेपछि मात्र अस्पताल पुग्छन् ।
सरकारी स्वास्थ्य सामग्री खरिदमा पारदर्शिता र गुणस्तरमा जोड
सोमबार, असोज १९, २०८३
भरतपुरमा ‘डर्मासोल’का उत्पादनमाथि गम्भीर प्रश्न
आइतबार, असोज ११, २०८३
जेनजी आन्दोलनका सहिदप्रति फ्यानक्यानको श्रद्धाञ्जली
बुधबार, भदौ २४, २०८३
बाढी प्रभावित क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार
बिहीबार, भदौ १८, २०८३
