
नेपाल हेल्थ न्युज, झापा । कोशी प्रदेश सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस भ्याक्सिन’ (एचपीभी) खोप लगाउने तयारी पूरा भएको जनाएको छ ।
स्वास्थ्य निर्देशनालय धनकुटाका खोप अधिकृत भरत भण्डारीले कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका प्रदेशका करिब दुई लाख ६५ हजार किशोरीलाई एचपिभी खोप लगाउने तयारी पूरा भएको बताउनुभयो । उहाँका अनुसार आगामी माघ २३ गतेदेखि सबै खोप केन्द्रबाट खोप सञ्चालन हुनेछ ।
प्रदेशका १४ वटै जिल्लाका स्वास्थ्य प्रमुख र केही स्थानीय तहहरूलाई मङ्सिर २३ देखि २६ गते सम्मभित्र दुई समूहमा राखेर प्रदेशस्तरको अभिमुखीकरण कार्यक्रम प्रदान गरिएको उहाँले जानकारी दिनुभयो ।
खोप अधिकृत भण्डारीका अनुसार आगामी माघको ३ गतेभित्र जिल्ला स्वास्थ्य कार्यालयमार्फत सबै वडा, स्थानीय तहका स्वास्थ्यकर्मीहरूलाई बोलाएर खोप केन्द्र निर्धारण गर्ने र प्रचारलाई तीव्र बनाउन बृहत् योजनासहित अभिमुखीकरण गरिनेछ । माघ ४ देखि १२ गतेभित्रमा प्रदेशका सबै स्थानीय तहमा अभिमुखीकरण सकेर वडा तहका स्वास्थ्यकर्मीलाई खोपका लागि आवश्यक तालिम प्रदान गरिनेछ ।
आगामी माघ १२ देखि १५ गतेभित्र जिल्ला खोप समन्वय समिति र सञ्चारकर्मीबीच अभिमुखीकरण गरिने र १५ देखि १८ गतेभित्रमा स्थानीय तह, वडा खोप समन्वय समिति र विद्यालय शिक्षक, स्वयंसेविकाहरू माझ अभिमुखीकरण कार्यक्रम तय भएको जनाइएको छ । माघ १० गतेभित्रमा सबै जिल्लामा खोप पुर्याइसकिने खोप अधिकृत भण्डारीको भनाइ छ । हाल झापा, मोरङ, सुनसरी र धनकुटामा आवश्यक प्रचार सामग्रीहरु पुगिसकेको र बाँकी जिल्लामा तीन दिनभित्र पुर्याइने उहाँले बताउनुभयो ।
खोपलाई प्रभावकारी बनाउन र समन्वय गर्न प्रदेश स्वास्थ्य निर्देशनालय, आपूर्ति व्यवस्थापन केन्द्र र खोप साझेदार निकाय डब्लुएचओ वाटर हेडलगायतका टोली सहजीकरणका लागि जिल्लाहरूमा परिचालन गरिसकिएको उहाँले बताउनुभयो । “प्रदेशमा खोपको कमी छैन”, उहाँले भन्नुभयो, “तर खोप सबै लक्षित किशोरीहरूमा पुर्याउन चुनौती छ । यसका राजनीतिक दल, सामाजिक क्षेत्र, स्थानीयवासी र सञ्चारकर्मीको सहयोगको अपेक्षा गरेका छौँ ।”
विद्यालयबाहिर रहेका किशोरीहरू अधिकांश पिछडिएका, गरिबीका चपेटामुनिका हुँदा उनीहरूको पहिचान गरी खोप केन्द्रसम्म ल्याउन स्वास्थ्यकर्मीले मात्र नसक्ने हुँदा सबैको सहयोग आवश्यक रहेको उहाँले बताउनुभयो । रासस
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
