
नेपाल हेल्थ न्युज, चितवन । चितवनका ३१ हजार पाँच सय ७० किशोरीलाई एचपीभी खोप दिइने भएको छ । पाठेघरको मुखको क्यान्सरबाट बच्नका लागि नौ वर्षदेखि १४ वर्ष उमेर समूहका ती किशोरीलाई खोप दिन लागिएको हो ।
जनस्वास्थ्य कार्यालय चितवनले आज अन्तर्क्रिया आयोजना गरी चार सय ३३ खोप केन्द्रबाट माघ २२ देखि १५ दिनसम्म खोप कार्यक्रम सञ्चालन हुने जनाएको छ । कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार ती खोप केन्द्रमा चार सय ५५ स्वास्थ्यकर्मी र नौ सय १० स्वयंसेवक परिचालन गरिने छ । सबै स्थानीय तहहरूले एक हप्ता खोप अभियान सञ्चालन गर्ने छन् भने भरतपुर महानगरपालिकाले १० दिन सञ्चालन गर्ने छ ।
विद्यालयमा रहेका किशोरीलाई विद्यालयमानै खोप केन्द्र निर्माण गरी खोप लगाउने तयारी गरिएको उहाँले जानकारी दिनुभयो । विद्यालय बाहिर रहेका किशोरीलाई अभियानको अन्तिम दिन खोप लगाइने उहाँले भन्नुभयो । नेपालमा बर्सेनी दुई हजारभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुने गर्दछ ।
खोपलाई वार्षिक कार्यक्रममा राखेर निरन्तरता दिइने कार्यालयका प्रमुख दिनेश रूपाखेतीले जानकारी दिनुभयो ।उहाँका अनुसार ९० प्रतिशत किशोरीलाई खोप पुर्याउने, ३० देखि ४९ वर्ष उमेर समूहका ९० प्रतिशत महिलालाई पाठेघरको क्यान्सरको परीक्षण गर्ने र परीक्षणबाट पुष्टि भएका ९० प्रतिशतलाई उपचारको दायरामा ल्याउने गरी सरकारले खोप अभियान सुरु गरेको हो । अभियानका क्रममा कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने किशोरीलाई खोप लगाउन लागिएको उहाँले जानकारी दिनुभयो ।
यो खोप नेपालमा आर्थिक वर्ष २०७२–७३ मा चितवन र कास्कीमा परीक्षण गरिएको थियो । रासस
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३

