
नेपाल हेल्थ न्युज, चन्द्रपुर (रौतहट)। रौतहटको चन्द्रपुर–६ चन्द्रनिगाहपुरमा रहेको प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चन्द्रनिगाहपुरमा बिरामीको आकर्षण बढेको छ । केही वर्षअघि दैनिक तीन/चारजना मात्र सेवाग्राही आउने उक्त चिकित्सालयमा हिजोआज ५० जनाभन्दा बढी बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
चिकित्सालयका सूचना अधिकारी रुपनारायण महतोले चिकित्सालयमा रौतहटका मात्र नभई छिमेकी मुलुक भारतबाट समेत उपचारका लागि आउने गरेको जानकारी दिनुभयो । हरेक वर्ष चिकित्सालयमा आउने बिरामीको सङ्ख्या बढ्दै गएको उहाँले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०८०/८१ मा ३१ हजार दुई सय ६६ बिरामीले सेवा लिएकामा १६ हजार एक सय २४ पुरुष र १५ हजार एक सय ४२ जना महिला रहेका महतोले बताउनुभयो ।
प्राप्त तथ्याङ्कअनुसार सो केन्द्रमा सबैभन्दा बढी सन्धिगत बाथरोगका बिरामीहरु बढी आउने गरेको पाइएको छ । गत आर्थिक वर्षमा सो रोगका पाँच हजार ६ सय २० जना बिरामीले उपचार गराएका थिए । यसैगरी, अल्पपित्तका चार हजार सात सय २५ जनाले उपचार गराउनुभएको तथ्याङ्कमा उल्लेख छ ।
चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिरसम्म चार हजार तीन सय ५२ महिला र चार हजार सात सय ५४ पुरुष गरेर नौ हजार एक सय ६ जनाले सेवा लिएको सूचना अधिकारी महतोले जानकारी दिनुभयो ।
यहाँ सेवाग्राहीको आकर्षण बढ्दै गए पनि भौतिक पूर्वाधार तथा अन्य स्रोतसाधनको अभावले उपचारमा समस्या भइरहेको चिकित्सालयका प्रमुख डा शिवशङ्कर रायले गुनासो गर्नुभयो । सानो भवन, केमिकलको अभावले थाइराइड जस्ता रोगको परीक्षण गर्न नसकिएको उहाँले बताउनुभयो । “प्रदेश सरकारले पठाउने विभिन्न प्रकारको औषधि आठ÷नौ महिनामा नै सकिन्छ । त्यसपछि औषधिको समेत समस्या हुने गरेको छ । स्थानीय सरकारले सहयोग नगर्ने र प्रदेश सरकारले समयमा नै औषधि नपठाउने र पठाएको औषधिसमेत पर्याप्त नहुँदा सेवा प्रवाहमा कठिनाइ हुने गरेको छ”, प्रमुख रायले भन्नुभयो ।
यहाँ बहिरङ्ग सेवा (ओपिडी), ज्येष्ठ नागरिक सेवा (ज्येष्ठ नागरिकलाई रसायन औषधि निःशुल्क वितरण), स्तनपाइ (आमाहरूलाई दूधवद्र्धक औषधि निःशुल्क वितरण), बाथका बिरामीका लागि पञ्चकर्म सेवा, होमियोप्याथिक सेवा र प्रयोगशाला सेवा दिने गरिएको छ । आयुर्वेद सेवा केन्द्रमार्फत अति आवश्यकमध्ये २३, स्तनपाइका दुई र ज्येष्ठ नागरिकलाई तीन प्रकारका औषधिहरू निःशुल्क दिने गरिएको कार्यालय प्रमुख रायले जानकारी दिनुभयो ।
यहाँ उपचारका लागि आउने बिरामीले ‘एलोपेथिक’ बाट हुक्क भएपछि आयुर्वेदतर्फ आकर्षित भएको बताउने गरेका छन् । त्यसैकारण चिकित्सालयको वृत्तिविकासमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने धेरैको भनाइ छ । गरुडा–९ कमलपटीबाट यहाँ उपचारका लागि आउनुभएका कमल सहनीले वर्षौसम्म खुट्टा दुखेको समस्याको उपचार गराउँदा पनि समाधान नभएपछि चिकित्सालयमा आएको सुनाउनुभयो । उहाँले चिकित्सालय व्यवस्थापकीय सुधार र पूर्वाधार निर्माणमा ध्यान दिए आफूजस्ता धेरै बिरामी लाभान्वित हुने बताउनुभयो ।
गढीमाई– ४ मदनपुर बलुवाकी अमृताकुमारी बैठाले पनि आयुर्वेद चिकित्साबाट आफूजस्ता धेरै बिरामी लाभान्वित भएको भन्दै चिकित्सालयको सुधारका लागि आग्रह गर्नुभयो ।
नेपालमा क्षयरोगको भार उच्चः ६७ हजार नयाँ बिरामी, १६ हजारको मृत्यु
मंगलबार, चैत १०, २०८२
गिँजाको स्वास्थ्यमा नयाँ बहसः काठमाडौंमा अन्तर्राष्ट्रिय पेरियोडेन्टल सम्मेलन
आइतबार, चैत ८, २०८२
सुडानमा स्वास्थ्य संरचनामाथि आक्रमणः ६४ को मृत्यु, मृतकमध्ये १३ बालबालिका
आइतबार, चैत ८, २०८२
योनिमा हुने ब्याक्टेरियाले कसरी स्वास्थ्यमा सुधार ल्याउँछ
आइतबार, फागुन १७, २०८२
