नेभिगेशन
मानवता हराउँदैछ कि हामी नै हराइरहेका छौं ?

पूर्व डीएसपी केपी शर्मा पन्थीको अस्पताल शैयाबाट आएको गहिरो सन्देश

जिवित हुँदा मरेतुल्य व्यवहार गर्ने ती सबै आफन्तजनलाई म जिवितै श्रद्धाञ्जली अर्पण गर्दछु ।’— पूर्व डीएसपी केपी शर्मा पन्थी

काठमाडौंको सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको सघन उपचार कक्ष (आईसियू) मा एक अनुभवी व्यक्ति उपचाररत छन्—पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) केपी शर्मा पन्थी । तर, उहाँको उपचारको भन्दा ठूलो कुरा अहिले चर्चामा छ—उहाँको मनभित्रको पीडा, समाजप्रतिको गुनासो, र मानवता प्रतिको आह्वान ।


अस्पतालको बेडमा मृत्युसँग लडिरहेका बेला लेखिएको उहाँको सन्देश सामाजिक सञ्जालमा तीव्र रूपमा फैलिएको छ । शब्दहरू भावनाले भरिएका छन्—तर यिनले एकजना व्यक्तिको मात्र होइन, आजको समाजको यथार्थ बोल्छन् ।


उहाँ लेख्नुहुन्छः
‘जीवनमा नाता र सम्बन्ध कति छन् भन्ने होइन, आपत पर्दा तपाईंको साथमा को छ भन्ने नै सबैभन्दा महत्वपूर्ण कुरा हो ।
यो केवल एउटा भावुक उक्ति होइन, आजका मानिसहरूको मनोविज्ञानको ऐना हो । अस्पतालको सैयामा धेरैजसो बिरामी उपचारको पीडाभन्दा पनि आत्मीय सम्बन्धको अभावले छटपटाइरहेका छन् ।


‘छि धिक्कार छ तिमीहरूको मानव चोला !’
उहाँको सन्देशमा कतै प्रश्न छन्—मानवता कता हरायो ? सम्बन्ध किन यति सतही भए ? अनि कतै ठाडो गुनासो पनि छ ।
‘न शुभकामना दिन समय छ, न साथ दिन तत्परता । अस्पताल आउन फलफूल लिएर आउनु पर्छ, पैसा खर्च हुन्छ भनेर सम्बन्ध तोड्ने प्रवृत्ति बढेको छ ।’


यो सन्देश केवल कुनै एकजना बिरामीको अनुभव नभई, समाजमा मौलाउँदै गएको निर्ममता, उदासीनता र सम्बन्धको अवमूल्यनप्रति गहिरो टिप्पणी हो ।


धन्य चिकित्सक, धन्य जीवनसाथी
असन्तुष्टिको बीचमा पनि उहाँ कृतज्ञ हुनुहुन्छ—उपचारमा समर्पित चिकित्सक डा. संजय कुमार सिंह केसी, नर्सहरू र विशेषगरी आफ्नो जीवनसाथीप्रति ।


उहाँ लेख्नुहुन्छः
‘मेरो ज्यान जोगाउन खटिएकी मेरी जीवनसंगिनीलाई सादर आभार, अथाह प्रेम ।’

संवेदना जिन्दगीमा, श्रद्धाञ्जली जिवित अवस्थामा
हामी प्रायः श्रद्धाञ्जली मरेपछि दिन्छौं । तर, पूर्व डीएसपी पन्थीले भन्नुभएको छः
‘म जिवितै मेरा स्वार्थी, मतलबी नातेदारलाई श्रद्धाञ्जली अर्पण गर्छु ।’
कति गहिरो चोट र यथार्थ पोतिएको छ ती शब्दहरूमा !
 

हाम्रो उत्तरदायित्व
यो कथा एक बिरामीको मात्र होइन, हाम्रै समाजको कथा हो । हरेक पाठकले आफूभित्र सोध्नुपर्छ—के म आफन्त हुँ, कि केवल नाममा मात्र सम्बन्ध राख्ने व्यक्ति ? के हामीसँग ‘शुभकामना दिन’ समय छैन ?


पूर्व डिएसपी पन्थीको प्रश्न हो—के मानवीय धर्म समाप्त भयो ? वा हामीले नै त्यसलाई बिर्सियौं ?


अन्त्यमा...
उहाँको सन्देश त्यति गम्भीर र गहिरो छ कि त्यो एउटा धर्मपाठ जस्तो लाग्छ—हामी सबैले पढ्नैपर्ने । सम्बन्ध बचाउन, मानवता फर्काउन र ‘आफन्त’ हुन फेरि सिक्न आवश्यक छ ।

‘जिवित हुँदा मरेतुल्य व्यवहार गर्ने ती सबै आफन्तजनलाई म जिवितै श्रद्धाञ्जली अर्पण गर्दछु ।’— पूर्व डीएसपी केपी शर्मा पन्थी  । 

जय जननी । जय मातृभूमि नेपाल ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप स्वास्थ्य लेख