नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालको स्वास्थ्य क्षेत्रमा विगत तीन दशकमा उल्लेखनीय प्रगति भएको छ। झारफुक र धामीझाँक्रीमा सीमित रहेको उपचार प्रणाली आज प्रविधिमा आधारित उच्चस्तरीय स्वास्थ्य सेवासम्म पुगेको छ। आज ग्रामीण तहसम्म स्वास्थ्य चौकी स्थापना भइसकेको छ भने प्रत्येक पालिकामा पाँचदेखि १५ शय्या अस्पताल निर्माण गरिएको छ।
स्वास्थ्य चौकीमार्फत सरकारले निःशुल्क औषधि वितरण गर्दै आएको छ। यस्तै, स्थानीय अस्पतालहरूमा अब सामान्य उपचारदेखि शल्यक्रिया सेवा उपलब्ध छन्। आठौँ तहका मेडिकल अफिसरहरूको व्यवस्था भइसकेको यस्ता अस्पतालहरूले स्वास्थ्य पहुँचलाई जनस्तरसम्म पुर्याउन भूमिका खेलेका छन्।
स्वास्थ्य क्षेत्रमा स्रोतको अभाव, जनशक्ति व्यवस्थापन अझै चुनौती
यद्यपि, नेपालमा स्वास्थ्यकर्मीको दरबन्दी अझै ३२ वर्षअघिको जनसंख्यालाई ध्यानमा राखेर गरिएको छ। विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार एक नर्सले १० जना बिरामीलाई सेवा दिनुपर्नेमा, नेपालमा एक नर्सले ५० जनासम्मलाई सेवा दिन बाध्य छन्।
अंग प्रत्यारोपणमा नेपाल आत्मनिर्भर, विदेशीसमेत आकर्षित
मिर्गौला र कलेजो प्रत्यारोपणमा उल्लेखनीय सफलता हासिल गरेको नेपालले अब मुटु प्रत्यारोपण तयारी गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन्। भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशीसमेत उपचार गर्न आउने गरेका छन्।
आँखा उपचारमा नेपाल दक्षिण एसियाको केन्द्र
नेपाल आँखा उपचारमा दक्षिण एसियाको पहिलो रोजाइ बनेको छ। नेपाल नेत्रज्योति संघले खाडी मुलुकसम्म शाखा विस्तार गरी नेपालमा उपचारका लागि विदेशी नागरिक ल्याउने कार्य गरिरहेको छ। तराईका आँखा अस्पतालहरूमा ७०–८० प्रतिशत बिरामी भारतीय तथा बङ्गलादेशी हुने गरेका छन्।
स्वास्थ्य बीमा कार्यक्रमबाट सर्वसाधारणमा राहत
७७ वटै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू भइसकेको छ। यसले नागरिकलाई एक लाख रुपैयाँसम्म निःशुल्क उपचार उपलब्ध गराइरहेको छ। दीर्घरोगीहरूका लागि स्वास्थ्य बीमाले ठूलो राहत दिएको स्वास्थ्य मन्त्रालयको दाबी छ। भविष्यमा बीमा सीमा पाँच लाखसम्म पुर्याउने लक्ष्य लिइएको छ।
स्वास्थ्य शिक्षा पहुँचमा, आरक्षण प्रणाली प्रभावकारी
चिकित्सा शिक्षा आयोगमार्फत सरकारले उत्पीडित वर्ग र समुदायका लागि आरक्षणसहित चिकित्सा शिक्षामा पहुँच सुनिश्चित गरेको छ। यो कदमले “पैसावाल मात्र डाक्टर बन्छन्” भन्ने मान्यतालाई तोडेको छ।
स्वास्थ्यकर्मी पलायन बढ्दो, दरबन्दी पुनरावलोकन आवश्यक
नेपालमा नर्सिङ अध्ययन गर्ने ८० प्रतिशत विद्यार्थी विदेश जान चाहने गरेको पाइएको छ। अमेरिका, अस्ट्रेलिया, युरोप, क्यानडातर्फ स्वास्थ्यकर्मी पलायनको लहर तीव्र बन्दै गएको छ। समयमै जनशक्ति व्यवस्थापन नगरे नेपालमा स्वास्थ्यकर्मीको खडेरी आउने चेतावनी विज्ञहरू दिइरहेका छन्।
संघीय संरचनामा स्वास्थ्य सेवा, गुणस्तर कायम गर्ने सरकारको लक्ष्य
संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा स्वास्थ्य सेवा प्रदान गरिँदैछ। १८ अस्पताल संघीय मातहतमा राखिएको छ भने बाँकी प्रदेश मातहतमा छन्। सातै प्रदेशमा आयुर्वेद अस्पताल स्थापना भइसकेको छ।
सरकारले प्रत्येक तहका स्वास्थ्य संस्थाहरूमा न्यूनतम सेवा मापदण्ड लागू गरिसकेको छ भने चिकित्सक आचारसंहिता कार्यान्वयनमा ल्याइएको छ। स्वास्थ्य मन्त्रालयले ट्रमा सेन्टर, आधुनिक उपकरण तथा विशेषज्ञको व्यवस्थासहित स्वास्थ्य सेवा सुदृढ बनाउने कार्यलाई प्राथमिकता दिएको छ।
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
