नेपाल हेल्थ न्युज, काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका प्रखर अभियानकर्ता डा. गोविन्द केसीले निजी मेडिकल कलेजहरूमा एमबिबिएस र बिडिएस को सिट संख्या नबढाउन सरकारलाई कडा रूपमा आग्रह गर्नुभएको छ।
मंगलबार सार्वजनिक गरिएको एक प्रेस विज्ञप्तिमार्फत डा. केसीले हालको सिट संख्याभन्दा एक सिट पनि थपिएमा आफू पुनः अनशनमा बस्न बाध्य हुने चेतावनी दिनुभएको छ । उहाँले निजी कलेजहरूमा काम गर्ने रेजिडेन्ट डाक्टरहरू श्रम शोषणको शिकार भइरहेको उल्लेख गर्दै, उनीहरूको मागलाई तुरुन्त सम्बोधन गर्न पनि सरकारसँग आग्रह गर्नुभएको छ। साथै, विगतमा भएका सहमति कार्यान्वयन गर्न र पुराना मागहरू पूरा गर्न उहाँले जोड दिनुभएको छ।
उहँले भन्नुभएको छ, सरकारले चिकित्सा शिक्षा सुधारसम्बन्धी पुराना सम्झौता लागू नगरेको अवस्थामा म नेपाल फर्किएपछि फेरि सत्याग्रहमा उत्रन बाध्य हुनेछु।
चिकित्सा शिक्षा आयोगको पछिल्लो बैठकमा एमबिबिएस र बिडिएसमा सिट संख्या बढाउने सम्बन्धमा समिति गठन गरी प्रक्रिया अघि बढाइएकोप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँले यस्तो कदम तत्काल रोक्न आग्रह गर्नुभएको हो।
डा. केसीले स्वास्थ्य शिक्षा क्षेत्रका सरकारी संरचना विस्तारमा राज्यले पर्याप्त पहल नगरेको आरोप पनि लगाउनुभएको छ। एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान ऐन वर्षौंसम्म कागजमै सीमित रहँदा सरकार नयाँ सरकारी मेडिकल कलेज खोल्न हिच्किचाएको आरोप समेत उहाँले लगाउँनुभएकाो छ।
त्यस्तै, कैलालीको गेटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको संरचना निर्माण सम्पन्न भए पनि सञ्चालनमा नआएको, इलाम, उदयपुर र डडेल्धुरा जस्ता स्थानहरूमा खोल्ने भनिएका प्रतिष्ठानको काम गरिएको छैन भन्ने विषयमा पनि उहाँले चिन्ता व्यक्त गर्नुभएको छ।
डा. केसीले सरकारलाई जनस्वास्थ्यप्रति जिम्मेवार हुन आग्रह गर्दै, शिक्षा आयोगको अधिकार सीमित गर्ने र शुल्क तथा सिट संख्या बढाउनेजस्ता कदमहरूबाट टाढा रहन चेतावनी दिनुभएको छ।

यी हुन् जडिबुटी प्रशोधन केन्द्रमा आगजनी गर्ने आरोपी
शुक्रबार, जेठ ३०, २०८२
चितवनमा पाँच महिनामा ५२ नयाँ एचआइभी संक्रमित
शुक्रबार, जेठ ३०, २०८२
असारदेखि भेरी अस्पतालमा एमडी तहको पढाइ सुरु हुँदै
शुक्रबार, जेठ ३०, २०८२