नेभिगेशन

बाल क्यान्सर र उपचारको अवस्थाः नेपालमा स्वास्थ्य सेवा र चुनौती

विश्वमै बालबालिकालाई लाग्ने क्यान्सर भयावह बनिरहेको छ । नेपालमा वार्षिक एक हजार ५ सय बालकालिकामा विभिन्न किसिमका क्यान्सर समस्या पहिचान हुने गरेको अनुमान छ । नेपालको सन्दर्भमा वार्षिक एक तिहाइ बालबालिका मात्रै उपचारको पहुँचमा आउने गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, अमेरिका लगायतका विकसित देशहरूमा स्रोतसाधन र उपचारको पहुँच राम्रो भएकाले त्यहाँ क्यान्सर समस्या भएका बालबालिकाको निको हुने दर ८० देखि ९० प्रतिशतसम्म छ । नेपालजस्ता न्युन आय भएका मुलुकहरूमा निको हुने दर ३० प्रतिशत मात्र छ । यही सन्दर्भमा बालबालिकामा हुने यस्तो समस्या र उपचार विधिका विभिन्न पक्ष बारे भक्तपुर क्यान्सर अस्पतालकी बाल क्यान्सर विशेषज्ञ डा. ऋतु लामिछानेसँग जनस्वास्थ्य सरोकार मासिकले गरेको कुराकानी । 
 

नेपालमा बाल क्यान्सर पहिचानमा देखिएका चुनौति बारे बताइदिनुस् न ?
 

क्यान्सर भनेको कुनैपनि मानव शरीरको कोषिकाको अनियन्त्रित वृद्धि हो । वयस्कलाई फोक्सो, पाठेघरको मुख, स्तन क्यान्सर हुन्छ भन्ने धेरैलाई थाहा छ । तर, बालबालिकामा पनि क्यान्सर हुन्छ भन्ने कुरा धेरैलाई अवगत छैन । बाल क्यान्सर वयस्क उमेर समूहमा देखिने क्यान्सर भन्दा केही भिन्न हुन्छ । हामीले भर्खरै जन्मिएदेखि १९ वर्ष उमेर समूह सम्मका बालबालिकाहरूको उपचार गर्दै आएका छौँ

 । कतिपय बाल क्यान्सरको उपचार गर्ने अस्पतालहरूले १४ वर्षसम्मका बालबालिकाको मात्रै उपचार गर्दै आएका छन् । नेपालको सन्दर्भमा बर्सेनि एक हजार पाँच सय नयाँ बाल क्यान्सरका समस्या पहिचान (डायग्नोसिस) हुने गरेको छ । हामीसँग यकिन सरकारी तथ्याङ्क छैन । नेपालमा वार्षिक एक हजार पाँच सय हाराहारी बालबालिकामा क्यान्सरको समस्या पहिचान भइरहँदा एक तिहाइ बालबालिका मात्रै उपचारको पहुँचमा आएका छन् । वयस्क उमेर समूहहरूको तुलनामा क्यान्सर समस्या भएका बालकालिकाहरू छिटो निको हुन्छन् । बालबालिकाहरू प्ररम्भिक चरणमै विशेषज्ञहरू समक्ष उपचारको पहुँचमा पुगे भने छिट्टैसामान्य जीवनमा फर्कन सक्छन् । पश्चिमी मुलुकहरूमा स्रोतसाधन र उपचारको पहुँच बढी हुन्छ । त्यहाँ निको हुने दर ८० देखि ९० प्रतिशत छ । नेपालजस्ता न्युन मध्यम आय भएका मुलुकहरूमा निको हुने दर ३० प्रतिशत मात्र छ । नेपालमा सबैभन्दा ठूलो चुनौती भनेको सचेतनाको कमी हो । बालबालिकामा हुने नियमित प्रकृतिका स्वास्थ्य समस्याबाहेक क्यान्सर हुनसक्ने समस्याबारे अभिभावकले चिकित्सकहरूसँग परामर्श लिने संस्कार नै छैन भने पनि हुन्छ । नेपाल जस्ता देशमा भौगोलिक विकटता, साक्षरता दर, सामाजिक, आर्थिक परिवेशले पनि सम्भावित स्वास्थ्य जटिलताबारे विज्ञहरूसँग राय सुझाव लिने चलन नै छैन । 


बालबालिकाहरुमा कस्तो प्रकृतिका क्यान्सर देखिन सक्छन् ?
बालबालिका जन्मिएदेखि १९ वर्ष उमेर समूहमा विभिन्न किसिमका क्यान्सरका समस्या देखिन सक्छन् । सबैभन्दा बढी रगतसम्बन्धी क्यान्सर ‘ल्युकेमिया’ देखिएको छ । यसले हरेक अंगका कोषिकाहरूलाई असर गर्न सक्छ । त्यस्तै मस्ष्तिष्कको क्यान्सर (ब्रेन ट्युमर), कलेजोमा ‘हेपाटोब्लास्टोमा’, मृर्गौलामा विल्मस् ट्युमर, हड्डी तथा  मांशपेशीमा सार्कोमा क्यान्सर र आँखामा रेटिनोब्लास्टोमा क्यान्सर हुनसक्छ । कपाल र नङ बाहेक शरीरका जुनसुकै अंगमा बाल क्यान्सर हुनसक्छ । ठूलो चुनौती भनेको सामान्य बालबालिकामा लाग्ने लक्षणपनि ‘ओभरल्याप’ हुनसक्छ । सानो बच्चाले आफूलाई के भइरहेको भन्न सक्दैनन् । मुख्य कुरा रोग पत्ता लगाउने आधार नै लक्षणहरू हुन् । 

बाल क्यान्सर शंका गर्ने आधार के हुनसक्छ ?
लामो समय ज्वरो आउने, तौल घट्ने, रक्तअल्पता, शरीरमा निलो डाम आउने, स–साना राता छिर्का दाग देखिने, घाँटी वा शरीरका कुनै भागमा घिर्खा देखिने, बिहानीपख लामो समयसम्म टाउको दुख्ने जस्ता लक्षण देखिए चिकित्सकसँग परामर्श लिनुपर्छ । 
 

बालबालिकामा क्यान्सर हुने कारण के हो ?
वयस्कमा धुम्रपानले फोक्सो क्यान्सर, मद्यपानले कलेजो क्यान्सर, खानपानमा असर भएमा अन्य क्यान्सर हुनसक्छ । यी स्थापित जोखिमका पक्ष (रिस्क फ्याक्टर) हुन् । बाल क्यान्सरको स्थापित रिस्क फ्याक्टरको कारण छैन । जीनमा परिवर्तन आएर बालबालिकामा क्यान्सर हुने कारण मानेका छौँ । स्वास्थ्यसँग जोडिएको पारिवारिक पृष्ठभूमि (फ्यामिली हिस्ट्री) राम्रो भए १० प्रतिशत वंशाणुगत हुनसक्छ । त्यसबाहेक अन्य ठोस कारण यकिन छैन । हामीले प्राथमिक लक्षण पहिचानमा जोड दिनुको मुख्य कारण ‘स्क्रिनिङ टेस्ट’ को अभाव हो । 

यहाँको कति वर्ष उमेर समूहका बालबालिकाको उपचार  गरेको अनुभव छ ?
मैले सबैभन्दा कम उमेर भनेको तीन महिने नानीको ‘रेटिनोब्लास्टोमा’ को उपचार गरेकी छु । स्वास्थ्यसँग जोडिएको पारिवारिक पृष्ठभूमि बलियो भए रेटिनोब्लास्टोमालाई जन्मजातै पहिचान गर्न सकिन्छ । कहिलेकाहिँ फ्यामिली हिस्ट्री नभएपनि देखिन सक्छ । हरेक उमेर समूहका बालबालिकाहरूले उपचार पाइरहेका छन् । 
 

बालबालिकामा धेरै देखिने क्यान्सर कुन हो ?

बाल क्यान्सरमध्ये एक नम्बरमा रक्त (ब्लड) क्यान्सर नै आउँछ । यसमा ‘बी सेल लिम्फोब्लास्टिक ल्युकेकिया’ र ‘अक्युड माएलोइड ल्युकेमिया’ बढी देखिएको छ । यहाँ (भक्तपुर क्यान्सर अस्पतालमा) उपचाररत बालबालिकाले यसकै उपचार लिइरहेका छन् । त्यस्तै ब्रेन ट्युमर, हड्डीको क्यान्सर अस्टियोसार्कोमा, इवीङ सार्कोमा आदिका अधिकतम् स्वास्थ्य समस्या देखेका छौँ । साथै, अरूदुर्लभ केसहरू पनि हामीसँग उपचाररत छन् । 


बाल क्यान्सरको व्याप्त भ्रमहरुबारे बताइदिनुस् न ?
हाम्रो समाजमा क्यान्सर भन्नासाथ निको नहुने, जटिल प्रकृतिको स्वास्थ्य समस्या हो भन्ने बुझाइ छ । त्यसमाथि नेपालमा बाल क्यान्सरको उपचार हुन्छ कि हुँदैन भन्ने अधिकांश अभिभावकको प्रश्न हुन्छ । बाल क्यान्सर निको हुँदैन, मृत्युको मुखमा पुगिन्छ, नेपालमा उपचार सम्भव छैन, क्यान्सर उपचार धेरै महँगो छ जस्ता भ्रम समाजमा पाइन्छ । त्यस्तै अभिभावकहरू उपचार खर्च धान्न नसकेर छोड्नुपर्ने होकी,उपचारपश्चात बच्चाको जीवनयापन सामान्य हुन्छ÷हुँदैन जस्ता अनेक प्रश्न बोकेर आउँछन् । बच्चाको क्यान्सर उपचारयोग्य (ट्रिटेबल) हुन्छ ।  साधारतणतया ८० देखि ९० प्रतिशत ब्लड क्यान्सर किमोथेरापीको माध्यमबाट ठिक पार्न सक्छौँ । उपचारको यात्रा कठिन भएपनि हामीले हरेक तर्फबाट बालबालिकालाई कम्प्रिहेन्सिभ एवं होलिस्टिक केयर प्रदान गछौँ । बच्चाले उपचारपश्चात सामान्य जीवनयापन गर्ने गरी उपचारमा लैजान्छौँ  । नेपालमै अधिकांश केशहरूको राम्रोसँग उपचार गरी जीवनयापन सामान्य बनाउन सकिन्छ । किमोथेरापीको साइडइफेक्ट हुन्छ । तर कतिपय अभिभावक कपाल झर्छ, पुनः कपाल आउँदैन भनेर चिन्तित हुन्छन् । यसबारे परामर्श दिनुपर्छ । उपचार यात्राका क्रममा तपाईंहरू एक्लै हुनुहुन्न, हामी साथमा छौँ । हाम्रो उद्देश्य सकेसम्म उपचार पुरा भएपछि मात्र घर पठाउने हो । 

उपचार गरेका कति बालबालिका बाँच्छन् ?
हरेक क्यान्सरको आउटकम र बिरामी निको हुने नहुने कुरा क्यान्सर कुन किसिमको हो र कुन स्टेजमा उपचारका लागि आएको छ भन्ने कुराले निर्भर गर्दछ । अधिकांश क्यान्सरका बिरामीहरूलाई अस्पताल उपलब्ध भएका उपचार पद्दतिहरूले निको बनाएर घर फर्काएका छौँ । उपचारले धेरै अंग छोएको हुनसक्छ । बालबालिकामा प्रयोग गरिएका उपचार पद्दतिले दीर्घकालीन साइड इफेक्ट के–के भएका छन् यी सबै मोनिटर गर्न नियमित फलोअपमा बस्नुपर्छ ।  

के क्यान्सर बल्झिन सक्छ ?
क्यान्सर सत्प्रतिशत निको भएपनि जुनसुकै समयमा बल्झिन सक्छ । यसमा कसैको नियन्त्रण हुँदैन । हाम्रो उद्देश्य सकेसम्म क्यान्सरलाई फर्किन नदिने हो । सुरूवाती अवस्थामै आक्रमक रूपले स्ट्यान्डर्ड प्रोटोकल, टाइमलाईन फलो गरेर निकट भविष्यमा रोग नबल्झिने गरी उपचार गर्न खोज्छौँ ।  बाल क्यान्सर पाँच वर्षपछि बल्झिने सम्भावना न्युन हुँदै जान्छ । त्यसकारण उपचार सकिएपछि कम्तिमा पाँच वर्ष क्लोज मोनिटरिङ गछौँ । 

क्यान्सर उपचार कति समयसम्म चल्छ ? 
क्यान्सरको उपचार त्यति सजिलो छैन । उपचार अवधि कति समय लम्बिन्छ भन्ने कुरा  क्यान्सरको  प्रकृतिमा निर्भर गर्दछ । कुनै क्यान्सर साढे दुई वर्ष, एक वर्ष र कुनै क्यान्सर ६ महिनामा निको हुनसक्छ । औसतमा एक वर्षको समय लिनुपर्छ । 

क्यान्सर बालबालिकालाले अस्पतालबाट कस्ता सुविधा पाउँछन् ? 
 नेपालमा क्यान्सर उपचार गर्ने अस्पतालहरू एकदमै कम छन् । भक्तपुर क्यान्सर अस्पतालमा देशका विभिन्न ठाउँका क्यान्सरका बिरामीहरू उपचारका लागि आउने गर्छन् । बिरामीका आफन्तलाई सकेसम्म अस्पतालदेखि नजिक एकघण्टाको दूरीमा बस्न आग्रह गछौँ । जसले किमोथेरापी वा उपचारका क्रममा साइडइफेक्ट भए तुरून्तै उपचार सेवा दिन सकिन्छ । कतिपयले घरपरिवार, जागिर, खेतीपाती सबै छोडेर आएका हुन्छन् । अर्कोकुरा आर्थिक समस्या एक नम्बरमै पर्छ । हामी उपचारको पहुँच र गुणस्तरीय उपचार प्रदान गर्न निरन्तर लागिपरेका छौँ  ।  सरकारले घोषणा गरेअनुरूप भक्तपुर क्यान्सर अस्पतालले १४ वर्ष मुनिका क्यान्सरका बालबालिकाको निःशुल्क उपचार सेवा सुरू गरिसकेको  छ । आइसियू, जनरल बेड, प्रयोगशाला सेवा, किमोथेरापी, सपोर्टिभ केयरकाऔषधि, रेडियोथेरापी, र शल्यक्रिया सेवा निःशुल्क प्रदान गरिरहेका छौँ । दूरजराजबाट आएका बिरामीहरूको आर्थिक भार कम गर्न विभिन्न संघसंस्थाहरूसँग सहकार्य गरेर खाने बस्ने व्यवस्था मिलाइरहेका छौँ । यसबाट बिरामीको ५०-६० प्रतिशत आर्थिक भार कम भएको छ । 

दातृ निकायबाट के कस्ता सहयोग उपलब्ध भएका छन् ? 

अस्पतालले मात्र यी सबै कार्य गर्न सक्दैनन् । हामीले विभिन्न संघसंस्थाहरूसँग  सहकार्य गरी बिरामीलाई सहुलियत प्रदान गर्न लागिपरेका छौँ । विश्व स्वास्थ्य संगठन ( डब्लुएचओ)द्वारा १९ वर्ष मुनिका बालबालिकालाई निःशुल्क किमोथेरापी दिने भनिएको छ। त्यस्तै ‘वल्र्ड चाइल्ड क्यान्सर’ले आर्थिक सहयोग र तालिम प्रदान गरिरहनुभएको छ । त्यसैगरी,‘लियो फाउन्डेसन’ले कान्ति बाल अस्पताल, पाटन अस्पताल र भक्तपुर क्यान्सर अस्पताल वरपर घर भाडा लिएर १२ देखि १४ परिवारलाई निःशुल्क खाना र बस्न व्यवस्था गरेको छ । त्यस्तै ‘वार्मिङ हार्ट नेपाल’ले क्यान्सरका बिरामीलाई मद्दत गरिरहेको छ । 

उपचारपश्चात् अभिभावकले के कुरामा ध्यान दिनुपर्छ ? 
हामीले क्यान्सरलाई मात्र उपचार गर्ने होइन । बालबालिकाको वृद्धि विकास, मनोवैज्ञानिक विकासक्रम क्रमशः चलिरहेको हुन्छ । उपचारका क्रममा यी सबै कुरा समग्रमा हेरिन्छ । अभिभावकहरूलाई उपचार सकिएपछि नडराउन तर सर्तक रहन भनिन्छ । पुनः त्यस्तै लक्षण देखिए समयमै अस्पताल आएर उपचारमा लैजान सकिन्छ । आफ्नो बच्चालाई क्यान्सर भएमा अन्य बच्चाभन्दा छुट्टै सोच्नुहुन्न । कतिपय क्यान्सर उपचारमा निको हुने चरणमा छ भने विद्यालय पठाइन्छ । समुदायसँग घुलमिल हुन ‘कम्युनिटी बेस्ट अप्रोच’ गर्नुपर्छ । 

क्यान्सरमा खानपान र  जीवनशैलीको भूमिका कस्तो हुन्छ ?
स्वास्थ्य सुधारका लागि खानपानको एकदम ठूलो भूमिका हुन्छ । उपचारले प्रतिरोधात्मक क्षमता कमजोर र कुपोषण हुनसक्छ ।  यसैपनि समाजमा कुपोषण बढी मात्रामा छ । संक्रमणसँग लड्ने क्षमता (न्युट्रिस्नल रिह्याविलिटेसन) को मद्दतले मजबुत बनाउन सक्छौँ । उपचार सकिएर गएपछि स्वस्थ खाना खान आग्रह गर्छौं । ‘च’ बाट नाम आउने चकलेट, चाउमिन, चटपटे, चुइगम नखान सल्लाह दिन्छौं । चिप्स, कुरकुरे जस्ता बजारमा पाइने पूर्व तयारी ‘जंक फुड’ नखान परामर्श दिइन्छ । दाल, भात र तरकारी पोषणयुक्त मानिन्छ । त्यस्तै शारीरिक क्रियाकलाप गर्न बिरामी र अभिभावकलाई प्रोत्साहन गर्नुपर्छ । अतः उपचारपछि बिरामीको स्वास्थ्य अवस्थामा सुधार ल्याउन अभिभावक र आफन्तहरूको भूमिका उत्तिकै महत्वपूर्ण हुन्छ । 
 (डा. लामिछाने भक्तपुर क्यान्सर हस्पिटलमा कन्सल्ट्यान्ट पेडियाट्रिक हेमाटोअंकोलोजिष्ट हुनुहुन्छ ।) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप हेल्थ टक