डा. उज्वल चालिसे र उहाँको टोलीले क्यान्सरजस्तो गम्भीर रोगको प्रारम्भिक पहिचान र जनचेतनाका लागि दुर्गम भेगमा गरिरहेको काम अत्यन्तै सराहनीय छ । स्वास्थ्य पहुँचविहीन समुदायमा यस्ता कार्यक्रमहरू निरन्तर चलिरहनु आवश्यक छ ।
प्रश्न : डाक्टर उज्वल, क्यान्सर स्क्रिनिङ किन आवश्यक हुन्छ ?
उत्तरः जो–कोहीलाई पनि क्यान्सर हुन सक्छ, त्यसैले यसलाई चाँडै पत्ता लगाउनु जरुरी हुन्छ । जति छिटो पत्ता लाग्छ, त्यति नै छिटो उपचार गरेर निको पार्न सकिन्छ । स्क्रिनिङ भन्नाले कुनै विशेष लक्षण नदेखिएका व्यक्तिहरूमा क्यान्सरको सम्भावना पहिचान गर्ने प्रक्रिया हो । नेपालमा स्क्रिनिङ सबै प्रकारका क्यान्सरमा प्रभावकारी नहुन सक्छ । तर महिलामा देखिने पाठेघरको मुख र स्तन क्यान्सरमा भने स्क्रिनिङ निकै उपयोगी मानिन्छ । हामीले दुर्गम स्थानहरूमा स्क्रिनिङ शिविर आयोजना गर्दै आएका छौं । २०८१ चैत २२ गतेदेखि सुदूरपश्चिमका अछाम, डडेल्धुरा र कैलालीमा पनि साताव्यापी अभियानमार्फत करिब १७५० भन्दा बढी महिलाको स्क्रिनिङ गरेका थियौं ।
प्रश्न : कति जनसंख्याको स्क्रिनिङ गर्नुभयो ? परिणाम के रहे ?
उत्तरः अछाम, रामारोशन गा.पा. मुगाबगर
- ४५० जना महिलाको पाठेघर र स्तनको स्क्रिनिङ गरियो ।
- १५ जनामा क्यान्सरको शंका, ५ जनामा पुष्टि ।
- केही नमुनाहरू परीक्षणको लागि ल्याइएको छ, रिपोर्टपछि आवश्यक सल्लाह दिइनेछ ।
डडेल्धुरा अस्पतालः
- करिब ३०० जना महिलाको पाठेघर र स्तनको स्क्रिनिङ ।
- ५ जना क्यान्सर बिरामी सम्पर्कमा आएका, एकजनालाई तत्काल उपचारका लागि ल्याइएको हो ।
कैलाली, वर्दगोरिया
- १००० भन्दा बढी महिलाको पाठेघर र स्तनको स्क्रिनिङ ।
- शंकास्पद व्यक्तिहरूलाई उपचारको लागि सल्लाह दिइएको छ ।
समग्रमा, करिब १५०० भन्दा बढी पाठेघरको क्यान्सर परीक्षणका लागि नमुनाहरू संकलन गरिएको छ ।
प्रश्न : स्क्रिनिङ शिविरको मुख्य उद्देश्य के हो ?
उत्तरः मुख्य उद्देश्य भनेको जनचेतना अभिवृद्धि हो । स्क्रिनिङबाट चाँडै क्यान्सर पत्ता लाग्न सक्छ भन्ने सन्देश दिनु मुख्य लक्ष्य हो । बेलाबेलामा हामीले स्थानीय तहसँग समन्वय गरेर समुदायमै गएर उपचारभन्दा बढी जनचेतना र पूर्व–चेतावनीमा काम गरेका छौं ।
प्रश्न : कर्णाली प्रदेशमा गरिएको शिविरको अनुभव कस्तो रह्यो ?
उत्तरः सबैलाई क्यान्सर हुन्छ भन्ने हुँदैन । तर कस्तो जोखिम बोकेकाहरुलाई पछि क्यान्सर हुनसक्छ ? भन्ने आंकलन गर्न सकिन्छ । सुदूरपश्चिम र कर्णालीका भूगोल, सामाजिक अवस्था निकै कठिन छन् । स्वास्थ्य सेवाको पहुँच न्यून छ । धेरैजसो पुरुष भारतमा काम गर्न जाने, यौनजन्य रोग ल्याउने, महिलामा सार्ने—तर महिलाको उपचार नगर्ने चलन पाइएको छ । हाम्रो प्रयास भनेको त्यहाँ सुविधा लैजानु, जनचेतना फैलाउनु र स्वास्थ्य संस्थासँगको सहकार्यमार्फत सेवा दिनु हो । मलिाहरुमा पाठेघरको संक्रमण, आङ खस्नेलगायतका धेरै समस्या देखिनसक्छ । स्तनको समस्या कमै भेट्यौं । तर पाठेघरको समस्या धेरै देखिएको छ ।
प्रश्न : रोग लागेको थाहा हुँदाहुँदै पनि किन महिलाहरू उपचार गर्न पाउँदैनन् ?
उत्तरः त्यसमा सामाजिक, आर्थिक कारण छन् ।
- महिलाहरूमा ज्ञानको अभाव
- एक्लो महिला, घरमै रोकिएको अवस्था
- श्रीमानको सहयोगको कमी
- राज्य र पालिकाबाट सहयोगको अभाव
यस्ता अवस्थाहरूमा स्थानीय तहको जिम्मेवारी ठूलो हुन्छ । हाल सरकारले क्यान्सर जस्ता गम्भीर रोगहरूको लागि एक लाखसम्मको निःशुल्क उपचार सुविधा दिएको छ, तर रोग पहिचानको चरणमै कमजोरी छ । त्यसैले हामीले स्थानीय सरकारलाई बजेट छुट्याउने, बीमा प्रणाली प्रयोग गर्ने र जनचेतना बढाउने सल्लाह दिएका छौं ।
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
