नेपालका धेरैलाई इन्डोस्कोपिक गाइनोकोलोजिस्टको बारेमा थाहा छैन । यी डाक्टरहरू को हुन् र उनीहरूले के–कसरी उपचार गर्छन् भन्ने कुरा आजको यो हेल्थ टकमा बुझ्ने प्रयास गर्नेछौं । इन्डोस्कोपिक गाइनोकोलोजिस्ट भनेको त्यस्तो डाक्टर हो जसले दूरविनको प्रविधिको मद्दतले पाठेघर सम्बन्धी स्वास्थ्य समस्याहरूको उपचार गर्छन् । यस पद्धतिको विशेषता भनेको शल्यक्रिया गर्दा शरीरमा धेरै ठूलो चिरा पार्नु नपर्ने र उपचार प्रक्रिया सरल र छिटो हुने हो ।
ल्याप्रोस्कोपिक शल्यक्रिया कसका लागि हो ?
यदी कुनै महिलाको पाठेघर सम्बन्धि समस्या छ अथवा खुला शल्यक्रिया गर्न सुझाइएको छ भने त्यस्ता महिलाहरूका लागि ल्याप्रोस्कोपिक शल्यक्रिया उपयोगी हुनसक्छ ।
ल्याप्रोस्कोपिक शल्यक्रिया केका लागि प्रयोग गरिन्छ ?
नर्मल डेलिभरी र खुला शल्यक्रिया (ओपन अप्रेसन) बाहेकका सबै उपचारहरू ल्याप्रोस्कोपिक प्रविधिबाट गर्न सकिन्छ । ल्याप्रोस्कोपिक शल्यक्रिया पेटसँग सम्बन्धित धेरै समस्याहरूको उपचारमा प्रयोग गरिन्छ । यसमा पेट दुख्ने, हर्निया, एपेन्डिसाइटिस, पित्तथैली, पाठेघर, मिर्गौला, प्रोस्टेट जस्ता समस्याको उपचार गरिन्छ ।
के ल्याप्रोस्कोपिक शल्यक्रिया पीडादायी छ ?
ल्याप्रोस्कोपिक शल्यक्रिया सामान्यतया पीडादायी हुँदैन । यसमा साना प्वालहरू बनाइन्छ र विशेष उपकरणहरू प्रयोग गरिन्छ । यसकारण यो परम्परागत ओपन शल्यक्रिया भन्दा कम पीडादायी छ । विहान शल्यक्रिया गरेर बेलुका डिस्चार्ज गर्न सकिने भएकाले पनि यो प्रविधि निकै उपयोगी छ ।
महिलालाई ल्याप्रोस्कोपिक शल्यक्रिया नै किन ?
ल्याप्रोस्कोपिक प्रविधिबाट शल्यक्रिया गर्दा पेटमा धेरै ठूलो चिरा पार्नु पर्दैन । त्यसैले दुःखाइ र ब्लिडिङ कम हुन्छ । यस प्रविधिबाट पाठेघर नै फाल्नु परे पनि पाँचदेखि १० एमएल भन्दा बढी रगत खेर जाँदैन । यस कारण शल्यक्रियापछि महिलाहरू पारिवारिक र कार्यालयको नियमित कामकाजमा छिटो फर्किन सक्छन् । त्यति मात्रै होइन ल्याप्रोस्कोपिक शल्यक्रियाबाट भविष्यमा जटिलता आउन सक्ने सम्भावना पनि निकै कम हुन्छ । खुला शल्यक्रिया गरेका धेरैजसो महिलाहरू काटेको ठाउँमा पानी पर्दा र चिसो मौमसमा एकदमै चर्किएर दुख्ने बताउँछन् । काटेको ठाउँका सेलहरू कहिलेकाहिँ सामान्य रूपमा फर्किदैनन् । यसकारण दुख्ने समस्या हुन सक्छ । तर, खुला शल्यक्रियाको तुलनामा ल्याप्रोस्कोपिक शल्यक्रिया निकै उपयोगी छ । यसले महिलाहरूको जीवन एकदमै सजिलो बनाइदिएको छ ।
के ल्याप्रोस्कोपिक शल्यक्रिया एक प्रमुख शल्यक्रिया हो ?
ल्याप्रोस्कोपिक शल्यक्रियाले मुख्य शल्यक्रिया प्रविधिलाई एकदमै सजिलो बनाइदिएको छ । यस प्रविधिबाट शल्यक्रिया गर्दा एक सेन्टिमिटरको मात्र प्वाल पारिन्छ । हाल मिनि ल्याप्रोस्कोपिक प्रविधि पनि प्रयोगमा छ । मिनि ल्याप्रोस्कोपिकबाट शल्यक्रिया गर्दा झनै आधा सेन्टिमिटरमात्र प्वाल पारिन्छ । यसकारण ल्याप्रोकोपिक प्रविधि मुख्य शल्यक्रियालाई सजिलो पार्न प्रयोग गरिने प्रविधि हो ।

ल्याप्रोस्कोपिक शल्यक्रिया गर्न कति समय लाग्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रियामा सामान्यतया केही घण्टा लाग्न सक्छ । सामान्यतयाः अवस्था अनुसार ल्याप्रोस्कोपी गर्न ३० देखि ६० मिनेट लाग्न सक्छ । यदी, ल्याप्रोस्कोपिक शल्यक्रिया साधारण स्क्रिनमा भइरहेको छ, प्रयोग गरिने औजार, प्रविधि पनि साधारण र कम गुणस्तरका भएमा एक घण्टामा सकिने शल्यक्रिया तीन घण्टा पनि लाग्न सक्छ । तर, ल्याप्रोस्कोपिक शल्यक्रियामा उच्च आधुनिक प्रविधिका सामान प्रयोग गरिएमा तीन घण्टा लाग्ने शल्यक्रिया एक घण्टामंै पनि पूरा गर्न सकिन्छ । शल्यक्रिया गर्ने डाक्टर कति योग्य छ, कहाँबाट प्रशिक्षण लिएको छ र आफ्नो पेशा अंगालेपछि कति वटा शल्यक्रिया गरिसकेको भन्ने कुराले पनि समयावधिमा फरक पार्न सक्छ ।
ल्याप्रोस्कोपिक शल्यक्रियाका फाइदा के छन् ?
ल्याप्रोस्कोपिक शल्यक्रियामा चिर्नु पर्दैन । त्यसैले पेटको पर्खालमा कम आघात हुन्छ र दुःखाइ पनि कम हुन्छ । यो शल्यक्रियामा चिरफार कम हुने भएकाले रगत कम खेर जान्छ । साथै ठूलो दाग पनि बस्न पाउँदैन । त्यस्तै, ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दा लामो समयसम्म अस्पताल बस्नु पर्दैन । रगत कम बग्ने भएकाले हेमोग्लोबिनको पनि कमी हुँदैन । शल्यक्रिया गरेको सातदेखि नौं दिन भित्रमा महिलाहरू पारिवारिक र कार्यालयको नियमित काममा फर्किन सक्ने भएकाले यो प्रविधि निकै फाइदाजनक छ ।
ल्याप्रोस्कोपिक शल्यक्रियापछि हिड्न सकिन्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रियापछि विस्तारै हिड्न र सामान्य गतिविधिहरू पुनः सुरू गर्न सम्भव छ । तर, शल्यक्रियापछि सातदेखि नौं दिनसम्म आराम (बेड रेष्ट) गर्नुपर्छ । हामीले आठ वर्ष अगाडि नेपालमा पहिलो पटक ‘डे केयर हिस्टेरेक्टोमी’ सुरूवात गरेका थियौँ । त्यसमा बिरामीहरूले विहानको पाँच÷सात बजे नै खाली पेट अस्पताल आइपुग्नुपथ्र्यो । सात बजे बल्ल बिरामीको शल्यक्रिया गरिन्थ्यो । शल्यक्रिया गरिएको आठ घण्टापछि बिरामीलाई मुखबाट केही खानेकुरा खान दिइन्थ्यो र १० घण्टापछि बिरामीहरू आफैँ हिडेरै घर फर्किन सक्थे ।
के महिनावारीको समयमा पनि ल्याप्रोस्कोपिक शल्यक्रिया गर्न सकिन्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रिया महिनावारी नभएको समयमा गर्दा राम्रो हो । तर, इमर्जेन्सी केसहरूमा भने महिनावारी हुँदा पनि शल्यक्रिया गर्न सकिन्छ ।
यस्तो शल्यक्रियाले कुन अंगलाई असर गर्छ ?
पाठेघर, अण्डाशय, पित्तथैली, एपेन्डिक्स, प्रोस्टेट, मिर्गौला जस्ता अंगहरू ल्याप्रोस्कोपिक शल्यक्रियाबाट प्रभावित हुन्छन् । पहिले नै पेट खोलेर शल्यक्रिया गरिएका केसहरूमा आन्द्रा र बोसो धेरै ठाउँमा टाँसिसकेको हुन सक्छ । त्यस्तो अवस्थामा टाँसिएका आन्द्रा र बोसो छुटाउन खोज्दा आन्द्रामा, पिसाब थैलीमा र पिसाब नलीमा चोटपटक लाग्न सक्छ । सिम्पल बालपोलर औजारबाट ल्याप्रोस्कोपिक शल्यक्रिया गर्दा च्यापिएको ठाउँभन्दा अलिकति पर त्यसको एक्सन जान सक्छ । यसकारण आन्द्रा, पिसाबको थैली र पिसाबको नलीमा चोटपटक नलागोस् भनेर ध्यान दिन आवश्यक छ ।
के ल्याप्रोस्कोपिक शल्यक्रियापछि महिलाहरू गर्भवती हुन सक्छन् ?
ल्याप्रोस्कोपिक शल्यक्रियापछि महिलाहरु गर्भवती हुन सक्छन् । ल्याप्रोस्कोपिक शल्यक्रियाले गर्भधारण क्षमता बढाउन सक्छ । त्यसैले यो सन्तान नभएका दम्पत्तिहरूका लागि लाभदायक साबित हुन सक्छ । नेपालमा अझै पनि पाठेघरमा ट्युमर भए फाल्नु हुँदैन भन्ने भ्रम छ । यस्तो भ्रमलाई हटाउन हामीहरूले बिरामीको शल्यक्रियादेखि शल्यक्रिया पछाडि बच्चा जन्माउन सफल भएका महिलाहरूका भिडियोहरू पनि सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छौँ ।
ल्याप्रोस्कोपिक शल्यक्रिया पछाडि कसरी नुहाउने ?
‘टेगाड्रम’ भन्ने एक प्रकारको टेप वाटर प्रुफ हुन्छ । लेप्रोस्कोपिक शल्यक्रिया पछाडि त्यो टेपलाई बिरामीको घाउमा लगाइन्छ । यसकारण शल्यक्रिया गरेको भोलिपल्टै पनि बिरामीले नुहाउन सक्छन् ।
ल्याप्रोस्कोपिक शल्यक्रियापछि निको हुने समय कति हो ?
ल्याप्रोस्कोपिक शल्यक्रियापछि निको हुने समय शल्यक्रियाको प्रकार र बिरामीको अवस्थामा निर्भर हुन्छ । सामान्यतया सामान्य गतिविधिहरू शल्यक्रियापछि सातदेखि नौं दिनमा सुरू गर्न सकिन्छ । डेढ÷दुई किलोको ट्युमर फालिएको अवस्थामा पनि बिरामीले सातदेखि नौं दिनमै हिड्नुपर्छ भन्ने छैन । रोगको प्रकृति र शल्यक्रिया कति लामो चलेको छ भन्ने कुराले फरक पार्छ । मैले पो पेशा अंगालेपछि ल्याप्रोस्कोपिक प्रविधिबाट करिब २० हजारभन्दा बढी शल्यक्रिया गरिसकेकी छु । हालसम्म कुनै पनि बिरामीले १० देखि १५ दिनसम्म बेडमा सुतिराखेको देखेकी छैन ।
कुन शल्यक्रियामा आठ घण्टा जतिको समय लाग्न सक्छ ?
करिब पाँच÷छ वर्ष अगाडि मैले १८ वर्षीया एक किशोरीको पाठेघरबाट सयभन्दा बढी ट्युमर निकालेकी थिएँ । त्यो शल्यक्रिया गर्न मलाई ८ घण्टा लागेको थियो । जति ठूलो ट्युमर हुन्छ, त्यति नै जटिल र गाह्रो हुन्छ । पहिले नै पेट खोलेर शल्यक्रिया गरिसकेको छ भने टाँसिएको आन्द्रा छुट्याउन बढी समय लाग्न सक्छ ।

के ल्याप्रोस्कोपिक शल्यक्रियाका अन्य स्वास्थ्य समस्या (साइड इफेक्ट) छन् ?
ल्याप्रोस्कोपिक शल्यक्रिया पछाडि केही साइड इफेक्टहरू हुन सक्छन् । धेरै साइड इफेक्टहरू सामान्य छन् र केही दिनभित्रै निको हुन्छन् । खास गरेर ल्याप्रोस्कोपिक शल्यक्रियापछि पेट दुख्ने, ऐठन हुने, थकान महसुस हुने, चक्कर लाग्ने, घाँटी दुख्ने, निद्रामा समस्या, काँध वा ढाड दुख्ने जस्ता साइड इफेक्टहरू देखिन सक्छन् ।
ल्याप्रोस्कोपिक शल्यक्रियामा कति वटा प्वालहरू पारिन्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रियामा डाइग्नोसिस उपकरणबाट रोग भए नभएको अथवा रोगको अवस्थाबारे हेर्ने गरिन्छ । ल्याप्रोस्कोपिक शल्यक्रियामा एकदेखि चारवटा साना प्वाल बनाइन्छ । यी प्वालहरू प्रायः नाभि नजिक हुन्छन् ।
के ल्याप्रोस्कोपिक शल्यक्रिया जोखिमपूर्ण हो ?
क्यान्सर रोगमा जुनसुकै स्टेजहरूको उपचार गर्दा धेरै गहिराइमा गएर शल्यक्रिया गर्नुपर्छ । पाठेघर सम्बन्धी शल्यक्रिया पनि गहिराइमै गएर गर्नुपर्ने भएकाले यो पनि अलिकति जोखिमपूर्ण नै हुन्छ ।
ल्याप्रोस्कोपिक शल्यक्रियाको उपनाम के हो ?
ल्याप्रोस्कोपिकलाई ‘मिनिमम इन्भेसिभ सर्जरी’ (एमआइएस) पनि भनिन्छ ।
शल्यक्रियाबाट पाठेघर हटाउन सकिन्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रियाबाट पाठेघर हटाउन सकिन्छ । यसलाई ‘हिस्टेरेक्टोमी’ भनिन्छ । ल्याप्रोस्कोपिक शल्यक्रिया पाठेघरसँग सम्बन्धित धेरै समस्याहरूको उपचारमा गरिन्छ । संसारभरीको तथ्यांक हेर्दा ६ किलो भन्दा बढीको पाठेघरको ट्युमर यसै प्रविधिबाट निकालिएको विश्व रेकर्ड छ । हामीहरूले पनि करिब तीन किलोको पाठेघरको ट्युमर यस प्रविधिबाट निकालेका छौँ ।
शल्यक्रिया गर्नुभन्दा अगाडि कुन–कुन अंगको जाँच गर्नुपर्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रिया गर्नुअघि छातीको एक्सरे, मुटुको इसिजी र रगतको जाँच गर्नुपर्छ । त्यस्तै किड्नीले कसरी काम गरिरहेको छ, हेमोग्लोबिन, सुगर थाइराइडको लेवल कति भनेर पनि आधारभूत जाँच गर्नुपर्ने हुन्छ । नेपालमा अहिले पनि ७५ प्रतिशत महिलाको उपचार खुला शल्यक्रिया (ओपन सर्जरी)बाटै हुने गरेको छ । यसमा बिरामीहरूका पनि केही कमीकमजोरी छन् । विदेशमा बिरामीहरू डाक्टर कहाँ आउनुअघि आफूमा देखिएको रोग, उपचार गर्ने प्रविधि र त्यो प्रविधि प्रयोग गर्नुअघि के, कस्ता औषधिहरू चलाउनुपर्छ भन्नेबारे पूरै ज्ञान लिएर आएका हुन्छन् । तर, नेपालमा यस्ता खालका बिरामीहरू निकै कम भेटिन्छन् । बिरामीहरूले आफूलाई के रोग लागेको छ, त्यो रोगको उपचारमा के–कस्ता प्रविधि प्रयोगमा छन् भन्नेबारे सोधखोज गर्न जरूरी छ । २१आँै शताब्दीमा आएर खुला शल्यक्रिया गरी पेटमा ठूलो घाउ र दाग बनाउनु उचित कुरा होइन ।
के ल्याप्रोस्कोपिक शल्यक्रिया शतप्रतिशत सफल हुन्छ ?
धेरैजसो अवस्थामा ल्याप्रोस्कोपिक शल्यक्रिया सफल हुन्छ । यो परम्परागत शल्यक्रिया भन्दा सुरक्षित छ र रिकभरी पनि छिटो हुन्छ ।

यस्तो शल्यक्रिया गरेको कति समयपछि खाना खान सकिन्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रिया गर्नुअघि करिब आठ घण्टा खाली पेट राख्नुपर्छ । रोगको अवस्था अनुसार शल्यक्रिया गरेको आठदेखि १० घन्टापछि बिरामीलाई खाना खान दिइन्छ । आन्द्राहरू धेरै टाँसिएर छुटाइएको केसहरूमा भने २४ देखि ७२ घण्टासम्म पनि खाली पेट राख्नुपर्ने हुनसक्छ ।
के ल्याप्रोस्कोपिक शल्यक्रियाले प्रजनन् क्षमतामा सुधार गर्छ ?
ल्याप्रोस्कोपिक शल्यक्रियाले प्रजनन् क्षमता सुधार गर्न सक्छ । यो एक सुरक्षित प्रविधि हो । यसकारण ल्याप्रोस्कोपिक शल्यक्रियाद्वारा बाँझोपनका धेरै समस्याहरू हटाउन सकिन्छ । गर्भनली बन्द भएमा धेरै महिलाले आइभिएफ गराउँछन् । तर, गर्भनली बन्द हुने बित्तिकै फस्ट अप्सनमा आइभिएफ गराउनु उचित होइन । यसमा दुरविनको माध्यमबाट बन्द भएको गर्भ नली खोल्न सकिन्छ । शल्यक्रियापछि धेरै जसो केसहरूमा गर्भनली खुल्छ ।
ल्याप्रोस्कोपिक शल्यक्रियामा कतिवटा टाँका लगाइन्छन् ?
ल्याप्रोस्कोपिक शल्यक्रियामा प्वालहरू बन्द गर्न सानो टाँका वा सर्जिकल टेप प्रयोग गरिन्छ । त्यसपछि प्वाल पारिएको ठाउँमा ड्रेसिंग गर्न सकिन्छ । धेरै जसो केसमा स्ट्याप्लर लगाइन्छ । ल्याप्रोस्कोपिक शल्यक्रिया सुरूवात गर्दा हामीले पनि स्ट्याप्लर लगाएका थियौँ । स्ट्याप्लर लगाउँदा दाग बस्ने भएकाले हाल हामीहरूले मेडिकल ग्लु प्रयोग गर्न थालेका छौँ । ग्लुको प्रयोग गर्दा पातलो धागो आफैँ गल्छ । यसकारण टाँका काट्नु र तान्नु पर्दैन । (डा. लाइकनबम नर्भिक र ब्लु क्रस हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
