नेभिगेशन

सलमान खानलाई लागेको ‘ब्रेन एन्युरिज़्म’ कति खतरनाक रोग हो ? 

नेपाल हेल्थ न्युज, मुम्बई । चर्चित कमेडी कार्यक्रम ‘द ग्रेट इन्डियन कपिल शो’ को तेस्रो सिजनको पहिलो भाग अभिनेता सलमान खानको उपस्थितिमा प्रसारण भएको छ। यो अवसरमा सलमान आफ्नो आगामी फिल्म सिकन्दर को प्रचारका लागि सहभागी भएका थिए। कार्यक्रममा कपिल शर्मा र उनको टोलीले सलमानसँग फिल्मसँगै उनको व्यक्तिगत जीवनका विषयमा पनि कुराकानी गरे।

यही क्रममा सलमान खानले खुलासा गरे कि उनी अहिले ‘ब्रेन एन्युरिज़्म’ नामक मस्तिष्कसम्बन्धी गम्भीर रोगबाट ग्रसित छन्। उनले भने, “हामी हरेक दिन हड्डी र करङ भाँचिरहेका छौँ, ट्राइजेमिनल न्यूराल्जिया छ, ब्रेन एन्युरिज़्मको समस्या पनि छ। यति हुँदा हुँदै पनि म काम गरिरहेको छु – एक्सन गरिरहेको छु, नाचिरहेको छु, अगाडि बढिरहेको छु।”

उनको यो स्वीकारोक्तिपछि धेरै दर्शक र शुभचिन्तकहरू इन्टरनेटमा ‘ब्रेन एन्युरिज़्म’ कस्तो रोग हो भनेर जानकारी खोजिरहेका छन्। यस रोगको प्रकृति, लक्षण, जोखिम र उपचारसम्बन्धी जानकारी निम्नानुसार छः

ब्रेन एन्युरिज़्म के हो ?
ब्रेन एन्युरिज़्मलाई नेपालीमा मस्तिष्क धमनीविस्फार भनिन्छ। यो मस्तिष्कको कुनै धमनीको भित्तो कमजोर भई त्यस भाग फुल्ने अवस्था हो, जुन बेलुनजस्तै सुन्निन्छ। यदि त्यो फुलेको भाग च्यातिन्छ भने, मस्तिष्कमा रक्तस्राव (सब–अरेक्नोइड ह्यामरेज) हुन सक्छ, जसले ज्यान नै जान सक्ने खतरा उत्पन्न गर्छ।

brain-3-1750747063.jpg
 

धेरैजसो ब्रेन एन्युरिज़्म मस्तिष्कको तल्लो भागका धमनीहरूमा देखिन्छ। केही मुख्य प्रकारहरू छन्ः

  • बेरी एन्युरिज़्म (सैकुलर एन्युरिज़्म) – अंगुर झैँ सानो थैलीजस्तो देखिने र सबभन्दा सामान्य प्रकार।
  • फ्युजिफर्म एन्युरिज़्म – धमनी चारैतिर फैलिएको हुन्छ।
  • मायकोटिक एन्युरिज़्म – संक्रमणका कारण हुने धमनीको कमजोरीबाट उत्पन्न।

लक्षणहरू के हुन् ?
फाटेपछि देखिने लक्षणः

  • एक्कासि अत्यन्तै चर्को टाउको दुखाइ
  • घाँटी कडा हुनु
  • वान्ता वा वाकवाकी
  • उज्यालोतर्फ हेर्न गाह्रो हुनु
  • चेतनाशक्ति हराउनु वा बेहोस हुनु

नफाटेको अवस्थामाः

  • लगातार टाउको दुख्ने
  • दृष्टिमा समस्या
  • अनुहार सुन्निनु वा एकातिर झुण्डिनु

किन हुन्छ ब्रेन एन्युरिज़्म ?
ब्रेन एन्युरिज़्मका केही ज्ञात कारणहरूः

  • धूम्रपान
  • उच्च रक्तचाप
  • परिवारमा यो रोगको इतिहास
  • जन्मजात रक्तनलीको कमजोरी
  • टाउकोमा चोट
  • अत्यधिक मदिरा वा लागूपदार्थको सेवन

यो रोग कुनै पनि उमेरमा देखिन सक्छ, तर ४० वर्षभन्दा माथिका व्यक्तिहरूमा बढी देखिन्छ। महिलामा यसको जोखिम अझ बढी हुन्छ।

उपचार के छन् ?
ब्रेन एन्युरिज़्मको उपचार रोगको अवस्था र आकार अनुसार फरक हुन्छः

सर्जिकल क्लिपिङः
शल्यक्रिया गरी धमनीमा मेटल क्लिप लगाइन्छ, जसले थप रक्तस्राव हुन नदिने गर्छ।

एन्डोभास्कुलर ट्रीटमेन्टः
शरीरको अन्य भागबाट क्याथेटर हालेर एन्‍युरिज़्मसम्म पुगी, त्यहाँ धातुका कोइलहरू राखिन्छन्।

फ्लो डाइभर्जनः
ठूलो वा जटिल एन्युरिज़्ममा स्टेन्ट राखी रक्तप्रवाहको दिशा परिवर्तन गरिन्छ।

यी सबै उपचारपछिपनि रोगीले नियमित स्वास्थ्य परीक्षण गरिरहनुपर्छ।

रोगबाट कसरी बच्ने ?

  • धूम्रपान नगर्नु
  • उच्च रक्तचाप नियन्त्रणमा राख्नु
  • मदिरा वा लागूपदार्थको सेवन नगर्नु
  • शारीरिक तौल नियन्त्रणमा राख्नु
  • तारेका, बोसोयुक्त खाना कम खानु
  • नियमित स्वास्थ्य परीक्षण गराउनु

सलमान खानजस्तो फिट देखिने व्यक्तिलाई समेत ब्रेन एन्युरिज़्म हुन सक्ने हो भने, हामी सबैले सचेत रहनु अत्यावश्यक छ। यस रोगका लक्षणहरू थाहा पाउनु, जीवनशैली सुधार गर्नु, र समयमा उपचार गर्नु नै यसको सबैभन्दा उत्तम रक्षा हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट