नेभिगेशन

दमौली अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार

नेपाल हेल्थ न्युज, तनहुँ । तनहुँको दमौलीस्थित प्रदेश अस्पतालले पछिल्लो समय विभिन्न स्वास्थ्य सेवा विस्तार गर्दै आएको छ। अस्पतालले अब शल्यक्रियामार्फत प्रसूति सेवा, सर्जरी सेवा, एमडिजिपी सेवा, पाठेघर फाल्ने शल्यक्रिया तथा हाँडजोर्नी–नसा रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउन थालेको छ।

करीब चार महिनादेखि रोकिएको शल्यक्रियामार्फत प्रसूति सेवा पुनः सञ्चालनमा ल्याइएको हो भने अन्य सेवा नयाँ रूपमा सुरु गरिएको हो। अस्पतालका प्रमुख डा. परिवर्तन बरालका अनुसार, छात्रवृत्तिबाट करारमा ल्याइएका विशेषज्ञ चिकित्सकहरूको सहयोगमा सेवा विस्तार सम्भव भएको हो।

बरालका अनुसार, पेट, छाती र मुटुको रोगसम्बन्धी विशेषज्ञ एक जना, हाँडजोर्नी तथा नसा रोग विशेषज्ञ दुई जना, स्त्रीरोग र प्रसूति विशेषज्ञ तीन जना, बालरोग विशेषज्ञ चार जना र रेडियोलोजी विशेषज्ञ हप्ताको दुई दिन सेवा दिने गरी व्यवस्थापन गरिएको छ। एनेस्थेसिया सेवा हप्तामा एक दिन उपलब्ध हुन्छ भने इन्डोस्कोपी र फिजियोथेरापी सेवासमेत थपिएका छन्।

यसअघि दमौलीका गर्भवती महिलाहरूलाई शल्यक्रियाको लागि पोखरा, चितवन वा अन्य सहर जानुपर्ने बाध्यता थियो। अब भने स्थानीय स्तरमै सेवा उपलब्ध हुँदा सहज भएको छ। अस्पतालमा हर्निया र हाइड्रोसिलको समेत शल्यक्रिया सेवा सञ्चालनमा ल्याइएको छ।

गत साउन १४ गतेदेखि पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु गरिएको छ। डा. कुमार विष्ट नेतृत्वको टोलीले पहिलो सफल शल्यक्रिया गरिसकेको अस्पतालले जानकारी दिएको छ। यस सेवाले दमौली र आसपासका क्षेत्रका महिलालाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।

हाल १५ शय्या स्वीकृत भए पनि अस्पताल ५४ शय्याबाट सेवा दिइरहेको छ। गण्डकी प्रदेश सरकारले ५० शय्याको नयाँ संरचना बनाउने निर्णय लिइसकेको छ र निर्माण कार्य अगाडि बढेको बताइएको छ। विसं २०३४ मा स्वास्थ्य चौकीका रूपमा स्थापना भएको यो संस्थालाई क्रमशः २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्र र २०५९ मा अस्पतालमा स्तरोन्नति गरिएको हो।

अस्पतालले अहिले दमौली मात्र होइन, छिमेकी जिल्लाका बासिन्दालाई समेत सेवा दिइरहेको छ। अत्याधुनिक उपकरण तथा सेवा सुविधा थप्दै, अस्पतालमा अब फोहोर तथा फोहोरपानी व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन, आँखाको उपचार, दाँत सेवा, आइसीयू, भेन्टिलेटरसहितको सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि वितरण कक्ष, अत्याधुनिक ल्याब, तीनवटा शव राख्ने संरचना लगायत थप सेवा विस्तार भइसकेको छ।

अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, प्रयोगशाला, दन्त, आँखा, मानसिक स्वास्थ्य उपचार र डायलाइसिस सेवा पनि प्रदान गर्दै आइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट