नेपाल हेल्थ न्युज, काठमाडौं । साउन महिनाबाट देशभरका सबै ७५३ स्थानीय तहमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा आउने भएका छन्। हालसम्मका केन्द्रमा थप १४४ नयाँ केन्द्र थपिने भएकाले आगामी साउनदेखि सम्पूर्ण पालिकामा सेवा विस्तार हुने भएको हो।
यी केन्द्रहरूबाट आयुर्वेदिक ज्ञानमा दक्ष कविराज वा बैद्यमार्फत नागरिकलाई स्वस्थ जीवनशैलीको अभ्यास गराइनेछ। यसअघि केही पालिकामा यो कार्यक्रम सुरु भइसकेको छ र अब यसको पहुँच सबै तहमा पुर्याउने तयारी भइरहेको आयुर्वेद विभागले जनाएको छ।
स्वस्थ जीवनशैली प्रोत्साहनका लागि केन्द्रमार्फत विभिन्न जनचेतनामूलक कार्यहरू सञ्चालन हुनेछन्। जस्तै भान्छा सुधार, योग अभ्यास, ध्यान र व्यायामका कार्यक्रम, ज्येष्ठ नागरिकको स्वास्थ्य सघाउने पहल, जडीबुटीको सदुपयोगबारे जानकारी, तथा आयुर्वेदीय आहार–विहार सम्बन्धी प्रशिक्षणहरू प्रदान गरिनेछ।
आयुर्वेद विभागका महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार आरोग्य केन्द्रहरू रोग लाग्न नदिन पूर्वसतर्कता अपनाउने उद्देश्यले स्थापना गरिएका हुन्। ‘समयमै सुत्ने, बिहानै उठ्ने, सरसफाइमा ध्यान दिने लगायतका व्यवहार कविराजमार्फत सिकाइन्छ’, यादव बताउँनुहुन्छ।
उहाँको भनाइअनुसार नागरिकहरूमा आरोग्य केन्द्रको प्रभाव देखिन थालेको छ। ‘नेपामला केन्द्रको माध्यमबाट ३० जनाले योग र ध्यानमा सहभागी भएर जीवनशैली परिवर्तनको संकेत दिएका छन्’, यादवले बताउनुभयो।
गत फागुनमा सञ्चालन भएको स्वास्थ्य शिविरमा सहभागीहरूमा उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा आएको पाइएको उदाहरण दिँदै उहाँले जनजीवनमा सुधार देखिएको बताउनुभयो। ‘सजिलो व्याम, समयमै सुत्ने, स्वस्थ आहारका कारण धेरैले रोग नियन्त्रण गर्न थालेका छन्’, उहाँले भन्नुभयो।
आरोग्य केन्द्रको योगदानले घरमै उपलब्ध जडीबुटीको प्रयोगसमेत बढेको र यसले अनावश्यक औषधिको प्रयोग घटाएको यादवको भनाइ छ।
स्वास्थ्य चुनौती समाधान गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य : मन्त्री मेहता
मंगलबार, चैत २४, २०८२
उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्वस्थ, अस्पतालमा भर्ना
मंगलबार, चैत २४, २०८२
बीमाबाट स्वास्थ्य सेवा लिनेलाई भेदभाव गर्न नपाइने, औषधि अस्पतालमै अनिवार्य
मंगलबार, चैत २४, २०८२
