नेभिगेशन

सिरहा प्रादेशिक अस्पतालमा बालकको मृत्यु, तनावपूर्ण स्थिति

नेपाल हेल्थ न्युज, जनकपुरधाम । प्रादेशिक अस्पताल, सिरहामा उपचारको लागि भर्ना गरिएका एक १२ वर्षीय बालकको असामयिक निधनपछि आक्रोशित आफन्त र स्थानीयवासीहरूले विरोध प्रदर्शन गरेका छन्। अस्पताल परिसर तनावग्रस्त बनेको छ भने सुरक्षाका लागि थप प्रहरी बल परिचालन गरिएको छ।

सिरहा नगरपालिका–६ का झबुलाल महराका छोरा राजन रामको आइतबार विहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो। एक्कासि बेहोस भएपछि उनलाई बिहान साढे १० बजे अस्पताल ल्याइएको थियो।

उपचारमा संलग्न डा. सुदेशकुमार यादवले प्रारम्भिक परीक्षणपछि रक्तअल्पताको गम्भीर अवस्था देखिएको भन्दै तुरुन्तै रगत चढाउन सुझाव दिनुभएको थियो। तर, अस्पतालको ब्लड बैंकमा आवश्यक रगत नहुँदा उपचार अगाडि बढ्न सकेन।

रगत अभावकै कारण बालकको ज्यान गएको चिकित्सकीय स्रोतले जनाएको छ। छोराको मृत्युको खबरले आहत भएकी आमा सुनिता महरा अस्पताल परिसरमै बेहोस भइन्।

मृतक बालकको शोकमा गाउँले र आफन्त आक्रोशित बनेका छन्। उनीहरूले केही समयसम्म अस्पताल अगाडि सडक अवरुद्ध गर्नुका साथै तोडफोडको प्रयाससमेत गरेका थिए।

वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले अस्पताल प्रशासनमाथि गम्भीर आरोप लगाउँदै भन्नुभयो, “वर्षौंदेखि सेवा सुधारको माग गरिरहे पनि सुनुवाइ भएन। आजको घटनाले त्यसको परिणाम देखाएको छ। अस्पतालको लापरवाहीले एक निर्दोष ज्यान गयो, यसको जिम्मेवारी उनीहरूले लिनैपर्छ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट