नेपाल हेल्थ न्युज, लन्डन । विश्वमै पहिलोपटक मानव डीएनएलाई पूर्णरूपमा सुरुदेखि निर्माण गर्ने महत्वाकांक्षी र विवादास्पद परियोजना सुरु भएको छ। बेलायतस्थित प्रसिद्ध स्वास्थ्य अनुसन्धान संस्था वेलकम ट्रस्टले यसका लागि $१० मिलियन (१ करोड पाउन्ड) लगानी गरेको छ।
यो परियोजनाले मानव जीवनसँग जोडिएका गम्भीर रोगहरूको उपचारको नयाँ ढोका खोल्ने अपेक्षा गरिएको छ। तर यससँगै कृत्रिम रूपमा परिमार्जित मानवको सम्भावना र जैविक अस्त्र विकास जस्ता गम्भीर नैतिक चिन्ताहरू पनि सतहमा आएका छन्।
यस परियोजनामा वैज्ञानिकहरूले डीएनएका अणुहरू सुरुवाती विन्दुबाटै निर्माण गर्ने प्रयास गरिरहेका छन्। यो अनुसन्धान सिन्थेटिक ह्यूमन जीनोम प्रोजेक्ट को नामबाट परिचित छ। यसले मानव जीनमा रहेका दोषहरूलाई बुझ्न र तिनको उपचारको उपाय विकास गर्न सहयोग पुर्याउने लक्ष्य राखेको छ।
एमआरसी लेबोरेटरी अफ मलिक्युलर बायोलोजी, केम्ब्रिजका डा. जुलियन सेल भन्छन्, “यो जीवविज्ञानको क्षेत्रमा एक ठूलो फड्को हो। हामी यस्तो थेरापी विकास गर्ने दिशामा छौँ जसले वृद्धावस्थालाई स्वस्थ र रोगमुक्त बनाउन सक्छ।”
चिकित्सा मात्र होइन, चिन्ता पनि
यद्यपि अनुसन्धानकर्ताहरूले यस परियोजनालाई उपचारमुखी पहलका रूपमा हेरेका छन्, आलोचकहरू भने यसबाट उत्पन्न हुने सम्भावित दुरुपयोगप्रति चिन्तित छन्। बियोन्ड जीएम नामक समूहकी डा. प्याट थोमस भन्छिन्, “सबै वैज्ञानिक सद्भावनाका साथ काम गर्छन् भन्ने मान्यता राख्न गाह्रो छ। यो प्रविधि युद्ध र विनाशका लागि प्रयोग हुन सक्ने खतरा पनि छ।”
एडिनबरा विश्वविद्यालयका आनुवंशिक विज्ञ प्राध्यापक बील अर्नशा यस प्रविधिबाट मानव जस्तै विशेषताहरू भएका नयाँ प्राणी विकासको प्रयास हुन सक्ने सम्भावनातर्फ इशारा गर्छन्। उनी भन्छन्, “जिनी अब बोतलबाट बाहिर आइसकेको छ।”
समाजशास्त्रीय दृष्टिकोणबाट पनि अध्ययन
यो परियोजनाको वैज्ञानिक पक्षसँगै सामाजिक प्रभाव पनि गहिरो छ। त्यसैले अनुसन्धानसँगै एउटा सामाजिक विज्ञान कार्यक्रम पनि सञ्चालन गरिनेछ, जसको नेतृत्व युनिभर्सिटी अफ केन्टकी प्राध्यापक जोइ जाङले गर्नेछिन्।
उनले भनिन्, “हामी यस प्रविधिलाई आमजनता कसरी हेर्छन्, यसको प्रभाव के(के पर्छ, र यसलाई कसरी जिम्मेवारीपूर्वक प्रयोग गर्न सकिन्छ भन्नेबारे गम्भीर छलफल गर्न चाहन्छौँ।”

मानव डीएनए निर्माण गर्ने प्रयास औषधि विज्ञानमा क्रान्तिकारी परिवर्तन ल्याउने क्षमता राख्छ। तर यससँगै सामाजिक, नैतिक र कानुनी प्रश्नहरू पनि उठेका छन्। जिम्मेवार अनुसन्धान र खुला बहसको माध्यमबाट मात्रै यस प्रविधिको सकारात्मक र सुरक्षित प्रयोग सुनिश्चित गर्न सकिनेछ।
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
