नेभिगेशन

ट्रमा सेन्टरमा आईसियु र एमआरआई सेवा विस्तारको माग: घनश्याम रिजाल

नेपाल हेल्थ न्युज, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का राष्ट्रियसभा सांसद घनश्याम रिजालले राजधानीको राष्ट्रिय ट्रमा सेन्टरमा सघन उपचार कक्ष (आईसियु) र एमआरआई सेवा विस्तार गर्न सरकारलाई आग्रह गर्नुभएको छ।

बुधवारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद रिजालले ट्रमा सेन्टरमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको सेवा पुर्‍याउनुपर्नेमा त्यसको पालना नभएको औंल्याउनुभयो। उहाँका अनुसार, २०० बेड क्षमताको उक्त अस्पतालमा हाल जम्मा १० बेड मात्र आईसियुका लागि छुट्याइएको छ, जुन न्यूनतम आवश्यकता भन्दा निकै कम हो।

अन्तर्राष्ट्रिय प्रोटोकल अनुसार कुनै पनि ट्रमा अस्पतालमा कुल शय्याको कम्तिमा ३० प्रतिशत आईसियु उपलब्ध हुनुपर्छ, रिजालले भन्नुभयो, तर नेपाल सरकार अन्तर्गतको एकमात्र विशिष्ट ट्रमा अस्पतालमा उक्त मापदण्डको पालना हुन सकेको छैन।

उहाँले अहिले कार्यरत जनशक्तिले नै थप ५० आईसियु बेड सञ्चालन गर्न सक्ने सम्भावना रहेको दाबी गर्दै, आवश्यक स्रोत र पूर्वाधारको तत्काल व्यवस्था गर्न आग्रह गर्नुभयो।

सांसद रिजालले एमआरआई सेवा समेत उपलब्ध नहुँदा गम्भीर बिरामीहरूको उपचारमा ढिलाइ हुने र कतिपयले अकालमै ज्यान गुमाउनु परेको अवस्थाबारे पनि सरकारलाई सचेत गराउनुभयो।

ट्रमा बिरामीलाई चार घण्टाभित्र उपचार सुरु गर्नुपर्ने हुन्छ, उहाँले भन्नुभयो, तर आईसियु सेवा अभावका कारण धेरै बिरामीहरू निजी अस्पताल धाउन बाध्य छन्, जसले गर्दा समयमा उपचार नपाएर ज्यान समेत जाने अवस्था आएको छ।

उहाँले ट्रमा केन्द्रमा तत्काल आईसियु शय्या संख्या बढाउन र अत्यावश्यक एमआरआई सेवा सञ्चालनमा ल्याउन सरकारसँग पहल गर्न आग्रह गर्नुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट