नेभिगेशन

ब्लु डायमन्डको गैरकानुनी लिङ्ग परिवर्तन अभियानको भण्डाफोर, पहिचानमै खेलबाड नगर्न चेतावनी

नेपाल हेल्थ न्युज, काठमाडौं । नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारका लागि लड्दै आएको ब्लु डायमण्ड सोसाइटी अहिले आफैँ गम्भीर विवादमा फसेको छ। संस्थामाथि समुदायकै भित्री तहबाट उठेका गम्भीर आरोपहरूले एकातर्फ पहिचानको संघर्षलाई झन जटिल बनाइरहेका छन् भने अर्कोतर्फ संस्थागत पारदर्शिता र नेतृत्व संकटलाई उजागर गरेका छन्।

शल्यक्रियाबाट पहिचान खोज्ने कि आत्मस्वीकृतिबाट ?

ब्लु डायमण्ड सोसाइटीमाथि मानसिक रूपमा अस्थिर व्यक्तिहरूलाई सल्लाहकार बनाउने, कानुनी आधारविनै यौन अंग परिवर्तन गराउन उक्साउने, र विदेशी दाताहरूको रकम पारदर्शी रूपमा प्रयोग नगरेको आरोप समुदायकै अगुवाहरूले लगाएका छन्।

संस्थापक सुनिल बाबु पन्त स्वयंले ब्लु डायमण्डको हालको नेतृत्वले समग्र समुदायको होइन, केही व्यक्तिको स्वार्थमा संस्था चलाएको आरोप लगाउँदै, शल्यक्रियाबाट पहिचान खोज्ने प्रवृत्तिको कडा विरोध गरेका छन्। पन्त भन्छन्, हाम्रो मुक्ति भनेको लिंग परिवर्तन गरेर महिला वा पुरुष बन्नु होइन।

WhatsApp-Image-2025-07-04-at-4.51.18-PM-1751791311.jpeg
 

भवनहरू छन्, तर प्रयोगविहीन

धेरै भवन, कार्यक्रम, संरचना भए पनि अहिले समुदायका अन्य संस्थाहरू जस्तै मायाको पहिचान नेपाल र लिड नेपाल आफ्नै समुदायद्वारा बनाइएका भवनहरूमा अफिस राख्न नपाएको गुनासो गर्दै छन्। ब्लु डायमण्डबाट निकालिएका प्रतिनिधिहरू भन्छन्— सार्वजनिक स्रोतबाट बनेका संरचना केही व्यक्तिको स्वार्थमा बन्द गरिएको छ।

सम्मान गृह यौन क्रियाकलापको केन्द्र ?

पूर्वकर्मचारीहरू तथा समुदायका सदस्यहरूले सम्मान गृह जस्ता स्थानहरूलाई पीडितहरूका लागि प्रयोग नगरी, यौन क्रियाकलापको केन्द्र बनाइएको, योग्यताको आधारमा नभई व्यक्तिगत निकटताका आधारमा स्टाफ नियुक्त गरिएको आरोप लगाएका छन्।

विवादको जराः नेतृत्व र पारदर्शिताको अभाव

“ब्लु डायमण्डमा मनपरेको मान्छेलाई राख्ने, नपरेकोलाई निकाल्ने प्रवृत्ति छ,” भन्छिन् सन्ध्या लामा। उनी थप्छिन्, “तेस्रोलिंगी पहिचान भएका, खुलेर आएका, संघर्ष गरेका साथीहरूलाई ओझेलमा पारिएको छ।”

नागरिकता र कानुनी असमानतास् द्विविधाको घेरा

तेस्रोलिंगी, समलैंगिक, ट्रान्स पहिचान भएकाहरूलाई दिने नागरिकता तथा कानुनी अधिकारको विषय अझै अस्पष्ट रहेको धेरैको गुनासो छ। अन्य पहिचानको नागरिकता लिँदा नाम परिवर्तन गर्न नपाउने र नागरिकता लिन लिंग परिवर्तन गर्नुपर्ने जस्ता अव्यवस्थित प्रक्रियाले मानसिक तनावको वातावरण सिर्जना गरेको छ।

डोनर फन्ड र भ्रमको खेती

समलैंगिक विवाह कानुनी रूपमा दर्ता गराउनेमा आफूहरूको भूमिका नभएको भन्दै केही संस्थाहरूले डोनर फन्डका लागि झूटो प्रचार गरिरहेको आरोप मायाको पहिचान नेपाल का सचिव सुरेन्द्र पाण्डेले लगाएका छन्। “२० जोडीको विवाह भनेर प्रमाणबिना प्रचार गर्ने संस्थाहरूलाई हामी चुनौती दिन्छौं,” उनले भने।


लैंगिक पहिचान र अधिकारको आन्दोलन अब संस्थागत पारदर्शिता, सही नेतृत्व चयन, सार्वजनिक स्रोतको जवाफदेहिता र स्पष्ट कानुनी संरचनाको आवश्यकता महसुस गरिरहेको छ।

वर्तमान विवाद, आरोप–प्रत्यारोप र संस्थागत संकटले यस आन्दोलनलाई फेरि आधारभूत प्रश्नमा ल्याइदिएको छ— के हामी पहिचानको खोजीमा संस्थाभन्दा माथि उठ्न सक्छौं ? 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट