नेपाल हेल्थ न्युज,झापा । झापामा आधारित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना सदस्यहरूलाई लक्षित गरी स्वास्थ्य सुरक्षामा केन्द्रित एक अभिनव कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले आर्थिक रूपमा कमजोर वर्गका सदस्यलाई गम्भीर रोग लाग्दा उपचारमा राहत पुगोस् भन्ने हेतुले स्वास्थ्य सहायता योजना जीवन वरदान सञ्चालनमा ल्याएको हो।
संस्थाले वि.सं. २०७२ सालदेखि सुरु गरेको यो कार्यक्रमअन्तर्गत सदस्यहरूले वार्षिक रु. ३,४७५ को शुल्क तिरेपछि योजना लाभ लिन सक्ने व्यवस्था गरिएको छ। कार्यक्रम लागू भएदेखि हालसम्म हजारौं सदस्यहरूले करोडौं मूल्य बराबरको स्वास्थ्य सेवा प्राप्त गरिसकेका छन्।
सहकारीका उप-निर्देशक दिनेशबहादुर निरौलाका अनुसार, पछिल्ला १० वर्षमा १७ हजारभन्दा बढी सदस्यहरूले करीब ४२ करोड रुपैयाँ बराबरको उपचार सेवा लिइसकेका छन्। चालु आर्थिक वर्ष २०८१/८२ मा मात्रै १,४०० भन्दा बढी सदस्यहरूले झन्डै ७ करोड रुपैयाँ बराबरको उपचार सेवा प्राप्त गरिसकेको जानकारी उहाँले दिनुभयो।
जीवन वरदान कार्यक्रमअन्तर्गत सदस्यहरूले आफ्नो सुविधाअनुसार अस्पताल चयन गर्न पाउँछन्। सहकारीले राजधानी काठमाडौँदेखि मोफसलका ५० भन्दा बढी अस्पतालहरूसँग सम्झौता गरी सेवा सुलभ बनाएको छ। सदस्यहरूले अस्पताल भर्ना हुँदा जीवन वरदान कार्ड प्रस्तुत गरेपछि धरौटीको आवश्यकता नपर्ने र अस्पतालले प्रत्यक्ष सहकार्यमा सेवा दिने व्यवस्था गरिएको छ।
सहकारीले शल्यक्रिया र जटिल उपचारमा लाग्ने खर्चको ८० देखि ९० प्रतिशतसम्म रकम बेहोर्ने गर्छ। यस्तै, अस्पतालबाट डिस्चार्ज भएपछि पनि आवश्यक परेमा नर्समार्फत घरमै पुगेर ‘होम केयर’ सेवा प्रदान गर्ने व्यवस्था छ।
संस्थाले मुटु, मिर्गौला, मधुमेह, उच्च रक्तचाप, दम, थाइराइड लगायत दीर्घकालीन १० प्रकारका रोगका लागि औषधि खर्चमा पनि ५० प्रतिशतसम्म सहयोग पुर्याउने गर्छ।
कनकाई नगरपालिका–३ का चन्द्रप्रसाद रिजालले टाउकाको शल्यक्रिया गर्दा बीएन्डसी अस्पतालबाट २ लाख ५० हजार रुपैयाँ बराबरको सेवा पाएको बताउनुभयो। यस्तै, बिर्तामोड–२ का ढुण्डीराज मिश्रले एक वर्षअघि मेडिसिटी अस्पतालमा गरिएको ट्यूमरको शल्यक्रियामा ४ लाख रुपैयाँ बराबरको आर्थिक राहत प्राप्त गर्नुभएको थियो।
हाल सहारा नेपालमा १ लाख ९१ हजारभन्दा बढी सदस्य आवद्ध छन् भने संस्था सञ्चालित ८१ सेवा केन्द्रहरू झापा, मोरङ, इलाम, पाँचथर, सुनसरी र उदयपुर जिल्लामा रहेका छन्। संस्थाको कूल शेयर पुँजी १ अर्ब ६९ करोड रुपैयाँ नाघिसकेको छ।
स्वास्थ्य सेवामा पहुँच अभावका कारण धेरैले उपचारबाट वञ्चित हुनुपरेको अवस्थामा, सहारा नेपालको ‘जीवन वरदान’ कार्यक्रम ग्रामीण तथा शहरी दुवै क्षेत्रका नागरिकका लागि जीवनरक्षक पहल बन्न सफल भएको देखिन्छ।
कोशीबाट उपाध्यक्षमा पूर्व महानिर्देशक डा. टंकप्रसाद बाराकोटीको उम्मेदवारी घोषणा
आइतबार, मंसिर २८, २०८२
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा करार नियुक्तिका लागि दरखास्त आह्वान
शुक्रबार, मंसिर २६, २०८२
नर्सका माग सम्बोधन गर्न तयार: कार्यदलको प्रतिवेदन आइतबार बुझाउने तयारी
शुक्रबार, मंसिर २६, २०८२
स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सहकार्यको आह्वान
शुक्रबार, मंसिर २६, २०८२
