नेपाल हेल्थ न्युज, काठमाडौं । प्री-डायबिटीज भन्नाले रगतमा चिनीको मात्रा सामान्यभन्दा बढी भए पनि अझै पूर्ण रूपमा मधुमेह नपुगेको अवस्था हो। यो अवस्था त्यस्तो संवेदनशील मोड हो, जहाँबाट जीवनशैली परिवर्तन नगरे समयक्रममा टाइप-२ मधुमेहमा परिणत हुन सक्छ।
डायबिटीज यूकेकी वरिष्ठ स्वास्थ्य सल्लाहकार एस्थर वाल्डेनका अनुसार, धेरै मानिसहरूलाई जब प्री-डायबिटीज भएको थाहा हुन्छ, तब उनीहरू निराश हुन्छन् र सोच्न थाल्छन् कि अब मधुमेह पक्कै हुन्छ। तर, यथार्थमा यदि जीवनशैली र आहारमा सही परिवर्तन गरियो भने, टाइप-२ मधुमेह नहुने सम्भावना आधा भन्दा बढी रहन्छ। यस्तो परिवर्तनमा विशेषतः तौल घटाउनु, नियमित शारीरिक गतिविधि गर्नु र पोषणयुक्त खानपान अति महत्त्वपूर्ण हुन्छ।
यो अवस्था थाहा पाउन पनि सजिलो हुँदैन, किनभने प्रायः कुनै लक्षण देखिँदैन। धेरैजसो अवस्थामा यो नियमित स्वास्थ्य परीक्षणको क्रममा मात्र पत्ता लाग्छ। पोषण विज्ञ डा. अमान्डा एभरीका अनुसार, उमेर, जातीय पृष्ठभूमि, खानपान, शारीरिक तौल लगायतका कारणले प्री-डायबिटीजको जोखिम बढ्छ।
शरीरमा बोसो विशेषगरी पेटको वरिपरि बढी हुँदा, इन्सुलिन नामक हर्मोन ठीकसँग काम गर्न सक्दैन। यसले गर्दा शरीरमा इन्सुलिन रेसिस्टेन्स बढ्छ र रक्तमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन सक्दैन। सुरुवातमा शरीरले थप इन्सुलिन उत्पादन गरेर सन्तुलन मिलाउने प्रयास गर्छ, तर लामो समयसम्म यस्तो प्रक्रिया सम्भव हुँदैन।
जीवनशैली परिवर्तनमा सबैभन्दा असरकारी भनेको तौल घटाउनु हो। बेलायतका प्रख्यात अनुसन्धानकर्ता तथा लाइफ विथआउट डायबिटीज पुस्तकका लेखक प्रोफेसर रोय टेलरका अनुसार, धेरै व्यक्तिका लागि केवल शरीरको कुल तौलको १० प्रतिशत घटाउँदा पनि मधुमेहको खतरा हटाउन सकिन्छ। कलेजोमा जम्मा भएको बोसो घटेपछि शरीर फेरि इन्सुलिन प्रति संवेदनशील बन्न थाल्छ। यद्यपि यस्तो परिवर्तन दीर्घकालीन हुन आवश्यक छ, अन्यथा लाभ अस्थायी हुन सक्छ।
उहाँको भनाइमा, प्री-डायबिटीज हुने सीमाना प्रत्येक व्यक्तिको शारीरिक संरचना अनुसार फरक हुन्छ। त्यसैले कुनै पनि व्यक्तिलाई बाह्य रूपमा मोटोपन नदेखिए पनि उनी जोखिममा हुन सक्छन्।
डाइट परिवर्तन गर्दा, अत्यधिक चिनी भएको पेय पदार्थ, प्रशोधित मासु (जस्तै ह्याम, ससेज, पोर्क), रिफाइन्ड कार्बोहाइड्रेट )जस्तै सेतो ब्रेड, बिस्कुट), र आलु (विशेषगरी फ्रेन्च फ्राइज) जस्ता खानेकुराबाट जोगिनु उपयुक्त हुन्छ। यी वस्तुहरूले शरीरमा चिनीको मात्रा चाँडै बढाउँछन् र इन्सुलिन प्रणालीमा असर पार्छन्।
दोस्रोतर्फ, हरियो पातलो तरकारी, फलफूल (जस्तै अंगुर, स्याउ, ब्लुबेरी), साबुत अन्न ९धजयभि नचबष्लक०, दही, कम फ्याट भएका दुग्धजन्य पदार्थ, र चिनीबिना चिया वा कफी सेवनले मधुमेहको जोखिम घटाउन मद्दत गर्छ। यस्ता खानेकुरामा फाइबर, भिटामिन, र कम ग्लाइसेमिक सूचकांक हुन्छ, जसले रक्तचाप, तौल र चिनी नियन्त्रणमा मद्दत गर्छ।
यदि तौल घटाउने योजना बनाइरहनु भएको छ भने, चिकित्सकको निगरानीमा मात्रै योजना अपनाउनु ठीक हुन्छ। तीव्र तौल घटाउने उपाय (जस्तै दैनिक ८०० क्यालोरी) केही व्यक्तिका लागि लाभदायक भए पनि, सबैका लागि उपयुक्त नहुन सक्छ।
यस्तो अवस्थामा, परिवर्तनको सुरुवात साना कदमबाट गर्नु बढी व्यवहारिक हुन्छ। दिनको आहारमा थोरै सुधार, नियमित हिँडडुल, र पानी प्रशस्त पिउनुजस्ता सरल उपायले दीर्घकालीन सुधार ल्याउन सक्छ।
डा. एभरी भन्नुहुन्छ, “प्री(डायबिटीज पत्ता लाग्नु डराउनु पर्ने कुरा होइन। यो त चेतावनी हो—जीवनशैली सुधार गरेर स्वस्थ जीवनतर्फ फर्किने अवसर हो।”

नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
