नेपाल हेल्थ न्युज, विराटनगर । कोशी प्रदेश सरकारअन्तर्गतका ४४ वटा स्वास्थ्य सेवा केन्द्रहरूको नाम परिवर्तन हुने भएको छ। ती संस्थाहरूलाई ‘प्रदेश’को पहिचान झल्किने ढंगले पुनःनामाकरण गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
यो निर्णय अन्तर्गत प्रदेशभरका १४ जिल्ला आयुर्वेद केन्द्र, १६ अस्पताल र १४ जिल्ला स्वास्थ्य कार्यालय समेटिएका छन्। स्वास्थ्य मन्त्रालयले आगामी साउनभित्र क्याबिनेटमा प्रस्ताव लैजाने तयारी गरिरहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार, अब ‘जिल्ला’ भन्ने शब्द हटाएर ‘प्रदेश’ थपिनेछ। जस्तै, ‘जिल्ला अस्पताल धनकुटा’ अब ‘प्रदेश अस्पताल धनकुटा’ हुनेछ। यसैगरी, ‘स्वास्थ्य कार्यालय’हरूलाई ‘प्रदेश जनस्वास्थ्य कार्यालय’ बनाइनेछ।
मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा सेन्टर, विराटनगरको शैलजा आचार्य हृदय रोग केन्द्र र झापाको प्रादेशिक आयुर्वेद अस्पतालसहितका प्रमुख संस्थाहरूको नाम पनि परिवर्तन हुने तयारी गरिएको छ।
यो कदमले नागरिकलाई कुन तहको सरकारले सेवा दिइरहेको हो भन्ने स्पष्टता दिने विश्वास गरिएको छ। स्वास्थ्य मन्त्री भुपेन्द्र राईका अनुसार नाममा प्रदेशको उल्लेख भएपछि सेवाग्राहीलाई सहज रुपमा सेवा प्रदायकको पहिचान हुने छ।
हाल, मन्त्रालयले ओएनएम सर्वेक्षणमार्फत आवश्यक विवरण संकलन गरिरहेको छ। कानुन मन्त्रालयले पहिल्यै सकारात्मक सुझाव दिएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयले केही सर्तहरू राख्दै सुझाव दिएको छ।
नाम परिवर्तनपछि नयाँ नाम अनुसार साइनबोर्ड, लोगो, स्टाम्प र सरकारी पत्राचार अनिवार्य रूपमा अद्यावधिक गरिनेछ। यसले प्रशासनिक, प्राविधिक तथा बजेट व्यवस्थापनमा स्पष्टता ल्याउने विश्वास गरिएको छ।
यो नाम परिवर्तन प्रक्रिया केवल औपचारिकता मात्र नभई, प्रदेश सरकारको पहिचान संस्थागत रूपमा बलियो बनाउने प्रयासको हिस्सा हो। आगामी क्याबिनेट बैठकपछि निर्णय पारित भएलगत्तै कार्यान्वयन सुरु हुनेछ।
जेन–जी आन्दोलनकी घाइते एकता शाहलाई एमबिबिएस अध्ययनमा छात्रवृत्ति
बिहीबार, चैत १९, २०८२
पहुँचको आधारमा सुगममा बसेका चिकित्सक दरबन्दीमा फिर्ता, को कहाँ पुगे?
बिहीबार, चैत १९, २०८२
स्वास्थ्य सेवाका ६ चिकित्सक एघारौँ तहमा पदोन्नति
बुधबार, चैत १८, २०८२
