नेभिगेशन

नेपालमा म्यानुअल थेरापी र म्यानुअल मेडिसिनका अगुुवा डा.किशोरलाल श्रेष्ठ

बिना शल्यक्रिया ९० प्रतिशत हाड–जोर्नी र नशा रोग निको पार्न सफल  २२ वर्ष लामो करिअरमा ५० हजारभन्दा बढी बिरामी लाभान्वित 

‘हातले जाँचेर रोगको उपचार’ ! यस्तो सुन्दा जो कोहीलाई अचम्म लाग्नसक्छ । तर डा. किशोरलाल श्रेष्ठको उपचार विधि दुई दशक भन्दा बढी समयदेखि यही पथमा समर्पित छ । नेपालमा म्यानुअल थेरापी र म्यानुअल मेडिसिन भित्र्याउने पहिलो चिकित्सकका रूपमा डा. श्रेष्ठको नाम अग्रपङ्तीमा आउँछ । उहाँ एक सिनियर कन्सल्ट्यान्ट अर्थोपेडिक सर्जन मात्र नभई म्यानुअल थेरापी र म्यानुअल मेडिसिनका पनि दक्ष विशेषज्ञ हुनुहुन्छ ।

नेपालमै पहिलो पटक रसियन प्रविधिद्वारा म्यानुअल र काइरोप्राक्टिक थेरापी भित्र्याउन सफल हुनुभयो । वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. श्रेष्ठले हाडजोर्नी  तथा नसा सम्बन्धि समस्याहरू जस्तैः हड्डी  खिइएको, नसा च्यापिएको,  ढाड  तथा  कम्मर दुख्ने , घुडा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, हातखुट्टा झम्झमाउने, पोल्ने, लाटो हुने, करेन्ट लागेजस्तो हुने, सिल्का हान्ने, प्यारालाइसिस, मुख बाङ्गिएको  लगायत  रोगहरुमा सफल उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।

यसमा मेडिसिन पनि प्रयोग हुनसक्छ । श्रेष्ठ यसलाई म्यानुअल मेडिसिन भन्न रूचाउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘शल्यक्रिया गर्नुपर्ने भनिएका धेरै बिरामीलाई मैले म्यानुअल थेरापीबाट निको बनाएको छु ।’ रूसमा रहँदा हजारौँ घुँडाका बिरामीलाई बिना शल्यक्रिया ठीक गरेको अनुभव सँगालेपछि उहाँले नेपालमा पनि सोही विधिलाई निरन्तरता दिँदै आउनुभएको छ । 
 

रूसबाट नेपाल यात्रा
सन् २००२ मा रूसबाट एमडी (अर्थोपेडिक्स) र म्यानुअल थेरापी एवं म्यानुअल मेडिसिन अध्ययन पश्चात् डा. श्रेष्ठ नेपाल फर्किनुभयो । त्यो बेला उहाँसँग ज्ञान थियो, तर त्यो ज्ञान बुझ्ने सेवाग्राही थिएनन् । ‘त्यो बेला नेपालमा म्यानुअल थेरापी कसैले सुनेको थिएन’–उहाँ सम्झनुहुन्छ– ‘यहाँसम्म कि फिजियोथेरापिष्टहरू पनि अनभिज्ञ थिए । बिरामीलाई थेरापीको अर्थदेखि नै बुझाउनुपथ्र्यो ।’
 

अन्नपूर्णदेखि अहिलेसम्म
नेपाल फर्किएपछि डा. श्रेष्ठले अन्नपूर्ण नर्सिङ होममा प्रा.डा. अञ्जनीकुमार शर्मासँग काम गर्दै पहिलोपटक म्यानुअल थेरापीको अभ्यास सुरू गर्नुभयो । ‘त्यतिबेला ‘पेसेन्ट टु पेसेन्ट’ राम्रो प्रचार भयो’ –उहाँ भन्नुहुन्छ । 
 

यो हो म्यानुअल थेरापी 
म्यानुअल थेरापी हात र कहिलेकाहीँ खुट्टाको प्रयोगबाट गरिने चिकित्सा प्रणाली हो । जसमा काइरोप्याक्टिक, बोन सेटिङ, म्यानुपुलेसन, मोबिलाइजेसन, ओस्टियोप्याथी लगायत २३ थरिका विधि समेटिएका हुन्छन् । यो कुनै एकल उपचार होइन, बरू संयोजन विधि हो । यो सेवाबाट विशेषगरी दीर्घकालीन दुःखाइ, नसा च्यापिएको अनुभव, जोर्नीको गति घटेको, शरीर सुन्निएको वा लाटो जस्तो अनुभव हुने बिरामी लाभान्वित हुने गर्छन् ।  
 

बिना शल्यक्रिया ९० प्रतिशत समस्या समाधान
‘घुँडाको समस्यामा औषधिले मात्र काम गर्दैन’—डा. श्रेष्ठ भन्नुहुन्छ–‘हाडजोर्नी र नशा सम्बन्धी करिब ९० प्रतिशत रोग म्यानुअल थेरापीबाट ठिक गर्न सकिन्छ ।’ उहाँ विशेषतः घुँडाको एक्स–रे उभिएर गर्नुपर्ने कुरालाई जोड दिनुहुन्छ । बिरामी उभिँदा शरीरको वजन घुँडामा पर्ने भएकाले यसले वास्तविक ग्याप प्रष्ट्याउँछ । १० प्रतिशत हाराहारीलाई मात्रै शल्यक्रिया गर्नुपर्छ ।

हाडजोर्नी तथा नशा रोगको उपचार ९० प्रतिशत म्यानुअल थेरापी (मेडिसिन) र फिजियोरापीबाट निको पार्न सकिने डा. श्रेष्ठको अनुभव छ । उहाँ घाँटीको नशा च्यापिएको समस्यामा त बिना शल्यक्रिया शत्प्रतिशत निको हुने दाबी गर्नुहुन्छ । डा. श्रेष्ठ भन्नुहुन्छ—‘घाँटी, मेरुदण्ड, हातको नशा, घुँडा दुख्नेलगायतका अनेकौं समस्या भएर शल्यक्रिया गर्न अघि म्यानुअल थेरापिष्ट वा म्यानुअल मेडिसिन विज्ञलाई देखाएर मात्र निर्णय लिनु बुद्धिमानी ठहरिने छ ।’ 
 

माइलोप्याथीको सफलता
लामो समय नशा च्यापिँदा घाँटीको नशाले काम गर्न छाड्दै जान्छ । हातले मोबाइल चलाउन, लेख्न, पैसा उठाउन, गन्न नसक्ने, पूरै हात लाटा हुने र औँला नचल्ने समस्यालाई माइलोप्याथी भनिन्छ । यस्ता बिरामीको बिना शल्यक्रिया निको बनाउन सकिन्छ । अहिले माइलोप्याथी समस्या भएका थुप्रै बिरामी डा. श्रेष्ठको उपचार विधिसँग जोडिएका छन् । उहाँले हाल माइलोप्याथीका धेरै बिरामीको उपचार गरिरहनुभएको छ । जुन समस्या न्यूरो सर्जनबाट पनि समाधान हुन सकेको थिएन । 
 

एडभान्स ड्राइ निडलिङः अमेरिकाभन्दा अगाडि
डा. श्रेष्ठको दाबी छ– ‘एडभान्स ड्राइ निडलिङ थेरापी अमेरिकामा पनि छैन होला, भारतको कुरा नगर्नुहोस् ।’ एकदेखि पाँच एमएलसम्मका सिरिन्जबाट उहाँ ड्राइ निडलिङ गर्नुहुन्छ । यसका लागि बिरामीलाई सम्बन्धित भागमा हातले छामेर निडल कहाँ राख्ने भन्ने निर्धारण गरिन्छ । ‘हातले छामेर मसल्सका एङ्गल बुझ्न सक्नुपर्छ, जथाभावी घोचेर केही हुँदैन’–श्रेष्ठ प्रष्ट्याउनुहुन्छ । 
 

सही डाइग्नोसिस नै मुख्य आधार
‘लक्षण होइन, रोगको जरा समात्नुपर्छ’ –डा. श्रेष्ठको थेरापी दर्शन यस्तै छ । आवश्यक परेमा सिटीस्क्यान वा एमआरआई जस्ता परीक्षण गराइन्छ । तर पेनकिलर प्रयोग भने दुर्लभ अवस्थामा मात्र । 
दक्षता कसरी चिन्ने ?

डा. श्रेष्ठ भन्नुहुन्छ–‘फिजियोथेरापी पढ्नेहरूले एक–दुई महिनाको तालिम लिएका हुन्छन् । तर त्यो पर्याप्त होइन । मैले दुई वर्ष म्यानुअल थेरापीको छुट्टै अध्ययन गरेको छु ।’
५० हजारभन्दा बढीको सेवा

२२ वर्ष लामो करिअरमा ५० हजारभन्दा बढी बिरामीको सेवा गरिसक्नुभएका डा. श्रेष्ठ अझै पनि आफ्नो पेशामा सक्रिय हुनुहुन्छ । उहाँलाई विश्वास छ–‘सही विधि र ज्ञान भए धेरै रोग शल्यक्रियाबिना निको पार्न सकिन्छ ।’
निष्कर्ष

म्यानुअल थेरापी र म्यानुअल मेडिसिनमा समर्पित डा. श्रेष्ठको यात्रा नेपाली चिकित्सा जगतमा एक अनुपम उदाहरण हो । शल्यक्रियाबिनाको उपचार, बिरामीप्रति न्यानो व्यवहार र निरन्तर खोजीको भावनाले उहाँलाई अरू चिकित्सकभन्दा फरक बनाइरहेको छ । यो कथा मात्र होइन, नेपाली चिकित्सा प्रणालीमा सम्भावनाको एउटा उज्यालो झिल्को पनि हो । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप करियर