नेपाल हेल्थ न्युज, बुटवल । रुपन्देही जिल्लामा दर्ता प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका तीनवटा आइभिएफ केन्द्रहरूलाई अनुगमनका क्रममा जरिवाना र बन्द गरिएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय रुपन्देहीको नेतृत्वमा स्वास्थ्य कार्यालयको टोलीले बुटवलमा सञ्चालनमा रहेका ती केन्द्रहरूको अनुगमन गरेको हो। अनुगमनपछि तीनवटै केन्द्रलाई एक–एक लाख रुपैयाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिनुभयो।
प्रनाभी आइभिएफ सेन्टरमा भने अनुमति विना सेवा सञ्चालन गरिरहेको पाइएपछि सिधै ताला लगाइएको छ। वरदान आइभिएफ सेन्टरले दुई वर्ष अघि दर्ता प्रक्रियाका लागि निवेदन दिएको भए पनि मन्त्रालयबाट ढिलाइ भएकाले सेवा अनिश्चित बनेको थियो। त्यहाँ हाल २१ जोडी दम्पतीको उपचार प्रक्रिया चलिरहेको भन्दै ४५ दिनको म्याद दिइएको र सो समयभित्र अनुमति नलिए थप कारबाही हुने चेतावनी दिइएको छ।
वात्सल्य आइभिएफले स्थानीय पालिकाबाट सामान्य परामर्शको अनुमति लिएको मात्र भेटिएकोले उसलाई पनि एक लाख रुपैयाँ जरिवाना गरिएको छ। साथै, आइभिएफ सम्बन्धी सेवा नदिन सख्त निर्देशन दिइएको र अवज्ञा गरेमा तालाबन्दी गर्ने चेतावनीसमेत दिइएको छ।
त्यस्तै, तिलोत्तमा नगरको जानकीनगरस्थित विपासना फर्टिलिटी सेन्टरले भने आवश्यक सबै अनुमति लिएको फेला परेको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा तिलोत्तमा ड्राइभर टोलमा रहेको श्रीकृष्ण आई केयर एन्ड अप्टिकल्स पनि दर्ता सम्बन्धी आवश्यक कागजात नपाएकोले बन्द गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय प्रमुख चिन्तामणि ज्ञवालीका अनुसार अप्टिकल्समा नगरपालिकाको सामान्य दर्ताबाहेक अन्य कागजात भेटिएको थिएन।
यसअघि खाद्यान्न, मासु, पेय पदार्थलगायतका पसल र उद्योगहरूमा मात्रै केन्द्रित रहेको जिल्ला अनुगमन समितिले हाल अस्पताल, क्लिनिक, फार्मेसी, ल्याब, र प्रजनन सेवासम्बन्धी केन्द्रहरूमा पनि अनुगमनको दायरा विस्तार गरेको हो। सेतो पाटी
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
