नेपाल हेल्थ न्युज, नेपालगञ्ज । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडमा देखिएको ठूलो आर्थिक अनियमितता प्रकरणमा १०३ भन्दा बढी व्यक्ति हालसम्म फरार छन्। यो सूचीमा वरिष्ठ चिकित्सकदेखि स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसम्म परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालय, बाँकेमार्फत उच्च अदालत तुलसीपुरको नेपालगञ्जस्थित वाणिज्य इजलासमा साउन १४ गते १०९ जनाविरुद्ध मुद्दा दायर गरिएको हो।
पक्राउ परेकामध्ये बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर राय, पूर्व अध्यक्ष पशुपतिदयाल मिश्रा र वित्त शाखा प्रमुख बेदप्रकाशसिंह ठकुरी रहेका छन्। अदालतले उनीहरूलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। साथै, नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गरिएको छ।
यो प्रकरणमा फरार सूचीमा परेकामध्ये वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. उषा राणा शाह, डुडुवा गाउँपालिका–६ का वडाध्यक्ष मोहनराम मिश्र, र राजनीतिक दलका नेताहरू ओमप्रकाश आजाद र ओमप्रताप राणा समेत रहेका छन्।
अदालतले दिएको जानकारीअनुसार दुई जना प्रतिवादीको मृत्यु भइसकेको छ । राप्ती पोलिमर्स प्रालिका सञ्चालक महेशजङ्ग थापा (२०७८ साल वैशाख ३१) र बैंकका पूर्वकर्मचारी धनन्जय कश्यप (२०८२ साल वैशाख ५)। बाँकी १०३ जनालाई पक्राउ गर्न ३५ दिनको म्यादसहितको पूर्जी प्रहरीलाई दिइएको छ।
सूचना अधिकारी बलबहादुर विष्टका अनुसार अदालतले फरारहरूको हकमा कानुनी प्रक्रिया अगाडि बढाउने आदेश दिइसकेको छ। फरार सूचीमा बैंकका पूर्व अध्यक्ष डा. ओमप्रकाश मिश्र, पूर्व प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावत, निरजविक्रम शाह, विष्णुप्रसाद कक्षपति, तथा नेपालगञ्ज शाखाकी पूर्व प्रमुख दीपा थापा पनि छन्।
यस प्रकरणमा बैंकका उच्च पदस्थ कर्मचारी, सञ्चालक, चिकित्सक, नेतागण र लेखापरीक्षकहरू समेत संलग्न रहेको पुष्टि भएको छ। अनुसन्धान जारी छ र फरार अभियुक्तहरूको खोजी तीव्र पारिएको छ।
स्वास्थ्य सेवाका ६ चिकित्सक एघारौँ तहमा पदोन्नति
बुधबार, चैत १८, २०८२
गजेन्द्रनारायण सिंह अस्पतालमा दरबन्दी रहेका पाँच चिकित्सकको काज फिर्ता
बुधबार, चैत १८, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा नयाँ व्यवस्था
मंगलबार, चैत १७, २०८२
बीमा सेवा दिन आनाकानी गर्ने अस्पताललाई कारबाही हुन्छ: बीमा बोर्ड
मंगलबार, चैत १७, २०८२
