नेभिगेशन

युरोपका नेपाली स्वास्थ्यकर्मीको पहिलो भेला नेदरल्यान्डमा

नेपालको स्वास्थ्य क्षेत्र सुदृढ गर्न युरोपभरिका नेपाली स्वास्थ्यकर्मीको साझा प्रतिबद्धता

नेपाल हेल्थ न्युज, बार्सिलोना ।  युरोपभर छरिएर रहेका नेपाली चिकित्सक र स्वास्थ्यकर्मीहरू हालै नेदरल्याण्डको आम्स्टर्डाममा सम्पन्न एक महत्वपूर्ण सम्मेलनमा भेला भएका छन्। दुई दिने यस भेलाले ‘सोसाइटी अफ नेपलिज् हेल्थ प्रोफेसनल्स इन युरोप’ को नेतृत्वमा नेपाली स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि सँगै काम गर्ने साझा प्रतिबद्धता व्यक्त गरेको छ।

वार्षिक अधिवेशनका अवसरमा स्वास्थ्य सेवा, प्रविधि र अनुसन्धानका क्षेत्रमा युरोपमा कार्यरत नेपाली पेशेवरहरूले आफ्नो ज्ञान र अनुभवलाई नेपालमा पनि उपयोग गर्ने रणनीति प्रस्तुत गरे। सम्मेलनमा नयाँ प्रविधि, स्वास्थ्य चुनौती र समाधानका उपायहरूबारे कार्यपत्रहरू प्रस्तुत गरिएको थियो।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिका रूपमा सहभागी नेपाली राजदूत सेवा लम्सालले संस्थाले छोटो समयमा देखाएको सक्रियता र उपलब्धिको प्रशंसा गर्दै युरोप–नेपाल स्वास्थ्य सहकार्यमा नेपाली दूतावासको पूर्ण समर्थन रहने आश्वासन दिइन्।

यस वर्ष ‘नेपलिज् हेल्थ प्रोफेसनल अफ द इयर २०२५’ को सम्मान प्रतिष्ठित चिकित्सक प्रा.डा. गणेश आचार्यलाई प्रदान गरिएको छ। बेलायत, अमेरिका, नर्वे, चीन, स्विडेनलगायत देशहरूमा चिकित्सा शिक्षा र सेवामा योगदान पुर्‍याएका डा. आचार्य हाल नर्वेको आर्कटिक विश्वविद्यालयमा अध्यापन र स्विडेनको कारोलिन्स्का अस्पतालमा वरिष्ठ सल्लाहकारको रूपमा कार्यरत छन्।

सम्मान ग्रहण गर्दै उनले यो उपलब्धिलाई व्यक्तिगत मात्र नभई युरोपस्थित सम्पूर्ण नेपाली स्वास्थ्यकर्मीहरूको सामूहिक पहिचानको प्रतीक बताएका थिए। “यो पुरस्कारले मलाई अझ थप प्रेरणा दिएको छ,” उनले भने।

सम्मेलनमा विविध विषयमा विशेषज्ञहरूले आफ्ना कार्यपत्रहरू प्रस्तुत गरेका थिए। क्लिनिकल तथा वैज्ञानिक पक्षमा डा. आचार्यसँगै डा. दीपराज थापा, लक्ष्मी बेलबासे, र डा. सागर धितालले विचार राखेका थिए। सूचना प्रविधिसम्बन्धी सेसनमा शशी श्रेष्ठ र दीपक पौडेलले प्रस्तुति दिएका थिए।

nepali-health-worker-nedarlands-4-1754807639.jpeg
 

संस्थाका अध्यक्ष डा. विनय श्रेष्ठले युरोपमा रहेका नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई संगठित गर्दै अनुसन्धान, स्वास्थ्य सेवा र दक्षता अभिवृद्धिमा केन्द्रित कार्यक्रमहरू अघि बढाइरहेको बताए। उनले नेपालमा पनि दीर्घकालीन सहकार्यको खाका कोर्न थालिएको जनाए।

कार्यक्रममा उपाध्यक्ष डा. दीपराज थापाले स्वागत मन्तव्य दिएका थिए भने डा. सागर धितालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। नयाँ कार्यसमितिमा डा. कौशल किशोर तिवारी (इटाली) र डा. राजु श्रीवास्तव (बेल्जियम) लाई समावेश गरिएको छ।

सम्मेलनको अन्त्यमा नेपाल स्वीस डटकमका सम्पादक हिरालाल श्रेष्ठले सहभागीहरू तथा सम्मानित व्यक्तित्वहरूसँग अन्तरक्रिया गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट