नेपाल हेल्थ न्युज, म्याग्दी । करिब आठ वर्षसम्म अस्थायी र साँघुरा भवनबाट सेवा दिँदै आएको बेनीस्थित प्रदेश अस्पतालले अब नयाँ संरचना मार्फत सेवा सुरु गरेको छ। अस्पतालका प्रमुख डा. रविरञ्जन प्रधानका अनुसार, अब अस्पतालको भुइँतलामा बाहिरङ्ग र पहिलो तलामा अन्तरङ्ग सेवा सञ्चालनमा आएका छन्।
पहिलेका कोठा साँघुरा र असहज थिए, जसले बिरामी र स्वास्थ्यकर्मी दुवैलाई समस्या हुन्थ्यो, उहाँले बताउनुभयो। अब शल्यक्रिया, प्रसूति सेवा र फार्मेसी पनि क्रमशः नयाँ भवनमा सार्ने तयारी भइरहेको छ।
भवन निर्माणका लागि सम्बन्धित निकाय र निर्माण कम्पनीसँग समन्वय गरी उपसमिति गठन गरेर सेवा सुरु गरिएको जनाइएको छ। अस्पतालमा अब ज्येष्ठ नागरिक, बालबालिका, महिला तथा पुरुष बिरामीका लागि अलग–अलग उपचार कक्ष व्यवस्था गरिएको छ। अन्नपूर्ण गाउँपालिका–१ दोवाका अमृत गर्बुजाले नयाँ भवनमा उपचार पाउँदा धेरै सहज भएको प्रतिक्रिया दिनुभयो।
बेनी अस्पताल २०७२ सालमा १५ शय्याबाट ५० शय्या क्षमतामा स्तरोन्नति भए पनि भवन अभावका कारण सेवा विस्तारमा कठिनाइ थियो। २०७४ सालमा पुरानो बाहिरङ्ग विभाग भत्काएर अस्थायी सेवा थालिएको थियो।
जिल्ला समन्वय समिति कार्यवाहक प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डिलकुमारी खत्रीका अनुसार, तीनवटा भवनमध्ये हाल एक प्रयोगमा ल्याइएको हो भने बाँकी दुई भवनको अन्तिम चरणको काम तीव्र रूपमा भइरहेको छ।
सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङमार्फत २०७३ मङ्सिर २१ गते निर्माण सम्झौता भएको थियो। रु १८ करोड ८४ लाख आठ हजार लागतको यो परियोजना २०७६ मङ्सिरमा सकिने लक्ष्य थियो, तर ढिलाइ भएपछि अब भदौभित्र सकिने लक्ष्य राखिएको आयोजनाका प्रमुख कृष्णकुमार मर्हजनले जनाउनुभयो।
चार हजार ९६३ क्षेत्रफलमा बनेको यो चारतले संरचना भूकम्प प्रतिरोधी र अपाङ्गमैत्री छ। भवनको भुइँतलामा लोन्ड्री, मोर्टुअरी र भान्सा, पहिलो तलामा आकस्मिक सेवा, प्रयोगशाला र रेडियोलोजी, दोस्रो तलामा शल्यक्रिया कक्ष र बाहिरङ्ग सेवा, अन्तिम तलामा प्रशासनिक कार्यालय रहने व्यवस्था गरिएको छ। साथै, अस्पताल परिसरमा ५०० मिटर सडक कालोपत्रे गरिएको छ।
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२

