नेभिगेशन

गर्भावस्थामा अटोइम्युन रोग र बायोलोजिक्सः चुनौती र नयाँ सम्भावना

नेपाल हेल्थ न्युज, काठमाडौं । गर्भावस्था एउटा संवेदनशील र जीवन निर्णायक अवस्था हो । यस अवधिमा हुने शारीरिक र हर्मोनल परिवर्तनले महिलाको प्रतिरक्षा प्रणाली (इम्युन सिस्टम) मा पनि ठूलो प्रभाव पार्छ । खासगरी अटोइम्युन रोग भएका महिलाहरूका लागि गर्भावस्था अझै जटिल बन्न सक्छ ।

यस्तै संवेदनशील विषयमा नेशनल वाथरोग सेन्टर (एनसिआरडी) ले हालै होटल हिल्टन काठमाडौंमा रुमा फ्यूजन अव्स्ट्रक्टिभ च्याप्टर शीर्षकमा वैज्ञानिक गोष्ठी आयोजना गरेको छ । कार्यक्रममा वाथरोग विशेषज्ञ डा. स्विकृति श्रेष्ठ र डा. सुधीर कर्माचार्यले ‘गर्भावस्थामा अटोइम्युन रोग र बायोलोजिक्सको प्रयोग’ विषयमा विशेषज्ञ प्रेजेन्टेशन दिनुभएको थियो । साथै लुपस र एन्टिफस्फोलिपिड सिन्ड्रोम जस्ता जटिल केसबारे अन्तरक्रियात्मक प्यानल छलफल गरिएको थियो ।

अटोइम्युन रोग र गर्भावस्थाः  अन्तर्राष्ट्रिय अनुसन्धानले के भन्छ ?

अटोइम्युन रोग भनेको शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै अंग वा कोषिकालाई नचिनेर आक्रमण गर्ने अवस्था हो । यसमा लुपस, रुमाटोइड आथ्र्राराइटिस, मल्टिपल स्क्लेरोसिस, सिस्टेमिक स्क्लेरोडर्मा लगायतका रोग पर्छन् ।

अमेरिकन कलेज अफ रुमाटोलोजी (एसिआर) को २०२२ को दिशानिर्देशन अनुसार अटोइम्युन रोग भएका महिलाहरूमा गर्भपतन प्रि–एक्लेम्प्सिया, समयअघि बच्चा जन्मिनेको जोखिम सामान्य महिलाभन्दा बढी हुन्छ । साथै गर्भावस्थामा रोग नियन्त्रण गर्न औषधि रोक्दा रोगको सक्रियता बढ्छ र आमाबच्चा दुवैलाई खतरा हुन्छ । त्यसैले सुरक्षित औषधि छनोट गरेर निरन्तर उपचार लिनु अति आवश्यक हुन्छ ।

ब्रिटिश मेडिकल जर्नल (बीएमजे) मा प्रकाशित २०२३ को एक अध्ययन अनुसार लुपस भएका ३५% महिलामा गर्भावस्थामा गम्भीर जटिलता देखिन्छ ।

एन्टिफस्फोलिपिड सिन्ड्रोम भएका महिलामा क्लट  हुने सम्भावना ५ गुणा बढी हुन्छ । जसले गर्भावस्थाको नतिजामा नकारात्मक असर पार्छ ।
बायोलोजिक्सः नयाँ पुस्ताको आशा
पारम्परिक औषधि (जस्तैः मेथेट्रेक्सेट साइक्लोफस्फामाइड)  गर्भावस्थामा प्रयोग गर्न सकिँदैन किनभने तिनीहरूले भ्रूणलाई असर गर्न सक्छन् । यसैबीच पछिल्लो दशकमा विकसित बायोलोजिक्स ( बायोलोजिक थेरापिक) ले अटोइम्युन रोग व्यवस्थापनमा नयाँ आशा जगाएको छ ।

टीएनएफ इनहिविटर्स: प्रारम्भिक अध्ययनहरूले यी औषधि गर्भावस्थामा तुलनात्मक रूपमा सुरक्षित भएको देखाएका छन् । तर तेस्रो त्रैमासिक (थर्ड ट्राइमेस्टर) मा प्रयोगबारे अझै सतर्कता अपनाउनुपर्ने हुन्छ ।

रिटक्सिम्याबर अन्य मोनोक्लोनल एन्टिबडीजः   प्रायः गर्भावस्थापूर्व मात्र सिफारिस गरिन्छ ।

ल्यान्सेट रुमाटोलोजी (२०२१) अनुसार, बायोलोजिक्स प्रयोग गर्दा रोग नियन्त्रण राम्रो हुने, मातृ–शिशु दुवैमा नतिजा सुधार हुने देखिएको छ । तर अझै लामो समयको अनुसन्धान आवश्यक छ । चिकित्सकहरूले हरेक बिरामीको अवस्था अनुसार व्यक्तिगत निर्णय गर्नुपर्ने हुन्छ ।

नेपालमा चुनौती

नेपालमा अटोइम्युन रोगको आधिकारिक तथ्यांक सीमित भए प ि रुमाटोलोजी विशेषज्ञहरूका अनुसार युवती र प्रजनन उमेरका महिलामा लुपस र रुमाटोइड आथ्र्राइटिस धेरै देखिने गर्छ ।

तर चुनौती के छ भने–

औषधि पहुँच सीमितः बायोलोजिक्स महँगो भएकाले सामान्य नेपाली परिवारका लागि किन्न गाह्रो छ ।

जनचेतना अभावः धेरै महिलाले गर्भावस्थामा औषधि रोक्ने गल्ती गर्छन् जसले रोग झन् बिगार्छ ।

बहु–विशेषज्ञ समन्वय कमीः स्त्रीरोग विशेषज्ञ, रुमाटोलोजिस्ट र बाल रोग विशेषज्ञबीच सहकार्य नहुँदा उपचार अपूर्ण हुन्छ ।

एनसिआरडीको पहल 
एनसिआरडीले आयोजना गरेको रुमा फ्यूजन अब्स्टेट्रिक च्याप्टर    नेपालमै पहिलो पटक यस विषयमा यति व्यापक छलफल भएको कार्यक्रम मानिएको छ । कार्यक्रममा भएका प्यानल डिस्कसनमा वास्तविक केस स्टडी, रोग व्यवस्थापन रणनीति, सुरक्षित औषधि छनोट र भविष्यमा नेपालमा उपलब्ध गराउन सकिने उपचारविधिबारे बहस भएको थियो ।

डा. स्विकृति श्रेष्ठको भनाइमा गर्भावस्थामा अटोइम्युन रोग भएका महिलालाई सही समयमा सही औषधि दिन सकियो भने स्वस्थ आमा र स्वस्थ शिशुको सम्भावना बढ्छ । यो विषयमा चिकित्सक, बिरामी र समाज सबै सचेत हुनुपर्ने बेला आएको छ ।

वास्तवमा गर्भावस्थामा अटोइम्युन रोग व्यवस्थापन चुनौतीपूर्ण भए पनि असम्भव छैन । अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ कि बायोलोजिक्सले आमा–बच्चा दुवैलाई सुरक्षित राख्दै रोग नियन्त्रण गर्न सक्ने सम्भावना बढाएको छ ।

नेपालमा अझै औषधि पहुँच, जनचेतना र विशेषज्ञ समन्वयका चुनौती भए पनि नेशनल बाथरोग सेन्टर जस्ता संस्थाहरूको पहलले भविष्यमा यस क्षेत्रमा नयाँ बाटो खोल्ने आशा दिलाएको छ ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

पुरुषोत्तम घिमिरे विगत २५ वर्षदेखि स्वास्थ्य पत्रकारिता गर्दै आउनुभएको छ ।  

थप रिपोर्ट विशेष