नेभिगेशन

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारी नियुक्ति माग

नेपाल हेल्थ न्युज, धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ मा अवस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पदाधिकारीको नियुक्ति प्रक्रिया छिटो अगाडि बढाउन स्थानीय संघर्ष समितिले माग गरेको छ।

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई सोमबार ज्ञापनपत्र बुझाएर विश्वविद्यालयका पदाधिकारी नियुक्ति र विश्वविद्यालय सभा गठनमा विशेष ध्यान दिन आग्रह गरेको छ।

समितिले जनाएको छ कि विश्वविद्यालय विधेयक सर्वसम्मत रुपमा पारित भई राष्ट्रपतिद्वारा प्रमाणीकरण भइसकेको छ र राजपत्रमा समेत प्रकाशित भइसकेको छ।

तर पनि, ऐन लागू भएको लामो समय बितिसकेको भए तापनि विश्वविद्यालय सभाको गठन र पदाधिकारी नियुक्ति अझै सम्पन्न भएको छैन भनी समितिले गुनासो गरेको छ।

यसैगरी, समितिले यस आर्थिक वर्षभित्र एमबीबीएसका लागि विद्यार्थी सिट निर्धारण गर्ने कार्य सुरू गर्नुपर्ने र ६०० शैयाको अस्पताल निर्माण अन्तर्गत ३०० शैयाको अस्पताल सञ्चालनका लागि तत्काल तयारी अघि बढाउन मुख्यमन्त्रीसँग आग्रह गरेको छ।

ज्ञापनपत्रमा उल्लेख छ, “राजपत्रमा प्रकाशित विश्वविद्यालय ऐन कार्यान्वयन अवस्थामा आए पनि सभाको गठन र पदाधिकारी नियुक्ति प्रक्रिया रोकिएको छ। विश्वविद्यालय सभामा कुलपति प्रधानमन्त्री, सह–कुलपति शिक्षामन्त्री, र अन्य पदेन सदस्यहरू रहने व्यवस्था छ भने माननीय मुख्यमन्त्री पनि सदस्य रहेका कारण उहाँको सक्रिय भूमिका आवश्यक छ।”

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शाहले पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाउन केही कठिनाइहरू भए पनि आफू पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। केही दिनअघि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, परराष्ट्रमन्त्री र स्वास्थ्य मन्त्रीसँग छलफल भइसकेको जानकारी पनि उहाँले दिनुभएको थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट