नेपाल हेल्थ न्युज, चितवन । रत्ननगरस्थित आयुर्वेद औषधि उत्पादन केन्द्रले चालु आर्थिक वर्षमा नौ प्रकारका नयाँ आयुर्वेदिक औषधिहरू उत्पादन गरी दर्ताका लागि सिफारिस गर्ने तयारी गरेको छ। केन्द्रले अघिल्लो वर्षदेखि नै औषधि उत्पादन आरम्भ गरिसकेको छ।
केन्द्रका प्रमुख डा. सुरेश महर्जनका अनुसार, गत वर्ष १० प्रकारका चूर्ण औषधिहरू सिफारिस गरिएको थियो भने यस वर्ष आठवटा ट्याब्लेट प्रकारका र एक भष्म औषधि दर्ताका लागि सिफारिस गरिनेछ।
अघिल्लो वर्ष उत्पादनमा ल्याइएका औषधिहरूमा अश्वगन्ध चूर्ण, आमलकी चूर्ण, सितोपलादी चूर्ण, अविपत्तिकर चूर्ण, बिल्वादी चूर्ण, हिङ्ग्वाष्टक चूर्ण, महासुदर्शन चूर्ण, पुस्यानुग चूर्ण, त्रिफला चूर्ण र निम्बादी चूर्ण समावेश थिए।
यस वर्ष सिफारिसको प्रक्रियामा रहेका औषधिहरू खदिरादि बटी, गन्धक रसायन, महाशङ्ख बटी, चन्द्रप्रभा बटी, कैशोर गुग्गुलु, योगराज गुग्गुलु, महायोगराज गुग्गुलु, सर्पगन्धाघन बटी र टङ्कण भष्म हुन्।
डा. महर्जनका अनुसार, औषधि उत्पादन बागमती प्रदेश सरकारको अनुमति र संघीय सरकारका मापदण्ड अनुसार भइरहेको छ। हाल केन्द्रले २३ प्रकारका औषधि उत्पादनलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ भने कुल ११९ औषधि उत्पादनको अनुमति प्राप्त भइसकेको छ।
अत्यावश्यक औषधिहरू उत्पादन गरी निःशुल्क वितरण गर्ने सरकारको योजनाअनुसार कार्य भइरहेको छ। उत्पादन प्रक्रिया २०८२ सालको कुशल औषधि उत्पादन अभ्यास निर्देशिकाअनुसार गरिएको बताइएको छ। बागमती प्रदेशका विभिन्न जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा यी औषधिहरू आपूर्ति गर्ने तयारी समेत भइरहेको केन्द्रले जानकारी दिएको छ।
प्रा. डा. चन्दा कार्कीका दुई कृतिमार्फत समाजसेवाको नयाँ अभियान
आइतबार, असार ७, २०८३
अब क्यान्सरको औषधि सहज उपलब्ध हुने
आइतबार, असार ७, २०८३
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान
आइतबार, असार ७, २०८३
डा. केशर ढकालले सरकारी सेवाबाट लिए अवकाश
शुक्रबार, असार ५, २०८३
