नेपाल हेल्थ न्युज, वासिङ्टन डीसी । वासिङ्टन डीसी अमेरिकामा एक व्यक्तिको शरीरमा न्यू वर्ल्ड स्क्रूवर्म नामक खतरनाक परजीवी कीरा फेला परेको छ। अमेरिकी स्वास्थ्य तथा मानव सेवा मन्त्रालयका अनुसार, ती बिरामी केही समयअघि एल साल्भाडोरबाट फर्किएका थिए, जुन देश यस कीराले प्रभावित देशहरूमध्ये एक हो।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले अगस्ट ४ मा यो संक्रमण पुष्टि गरेको थियो। सौभाग्यवश, बिरामी अहिले पूर्ण रूपमा निको भइसकेका छन् र संक्रमण अरू मानिस वा जनावरमा सरेको कुनै प्रमाण भेटिएको छैन।
स्क्रूवर्म के हो ?
अमेरिकी कृषि मन्त्रालयका अनुसार, स्क्रूवर्म एउटा विशेष प्रकारको झिँगा हो जसको लार्भा (कीराको बच्चा) जीवित प्राणीको शरीरभित्र पसेर मासु खान्छ। यी झिँगाहरू सामान्य घरमा देखिने झिँगाभन्दा अलि ठूलो हुन्छन्, र नीलो वा हरियो रंगका हुन्छन्। तिनको पछाडि तीन वटा कालो रेखा हुन्छन् र आँखाहरू सुन्तला रङ्गका हुन्छन्।
सामान्यतया यी जनावर, चराचुरुङ्गी, र कहिलेकाहीं मात्र मानिसमा फेला पर्छन्। यदि स्क्रूवर्मको लार्भा शरीरमा पस्यो भने त्यसले गम्भीर चोट पुर्याउन सक्छ, कहिलेकाहीँ त प्राणघातक समेत हुन सक्छ।
संक्रमण कसरी फैलिन्छ ?
पोथी स्क्रूवर्मले जनावर वा मानव शरीरमा रहेको कुनै खुला घाउमा अण्डा दिन्छ। अण्डाबाट निस्केका सयौं लार्भा घाउभित्र पसी मासु खान थाल्छन्। यही कारणले यसको नाम ‘स्क्रूवर्म’ राखिएको हो, जसको अर्थ स्क्रूजस्तै घाउभित्र घुस्ने कीरा भन्ने हुन्छ।
रोकथाम र उपचार
यस संक्रमणको उपचार भनेको संक्रमित भागलाई राम्ररी सफा गरेर सबै लार्भा हटाउनु हो। यदि शुरुमै उपचार गरियो भने संक्रमण फैलिन नपाइने र जोखिम न्यूनीकरण गर्न सकिने जनाइएको छ। खुला घाउ भएका व्यक्तिहरू, विशेष गरी स्क्रूवर्म प्रभावित देशहरूमा यात्रा गर्नेहरू उच्च जोखिममा हुन्छन्।
अमेरिकामा स्क्रूवर्मको इतिहास
१९३० को दशकमा स्क्रूवर्मले अमेरिकामा ठूलो प्रभाव पारेको थियो। दक्षिणपश्चिमबाट सुरु भएको संक्रमण सन् १९३४ भित्र मिसिसिपी, अलाबामा, जर्जिया लगायतका राज्यहरूमा फैलिएको थियो।
तर, १९६० को दशकमा वैज्ञानिकहरूले भाले स्क्रूवर्मलाई नसबन्धी बनाएर नियन्त्रण गर्न सफल भए। यसले गर्दा पोथी झिंगाहरूले बाँझ अण्डा मात्रै उत्पादन गर्न थाले र क्रमशः संक्रमण हरायो।
तर सन् २०२३ मा पनामामा फेरि स्क्रूवर्म देखा परेको थियो। हालै जुलाईमा मेक्सिकोमा पनि नयाँ संक्रमण देखिएपछि अमेरिकी कृषि मन्त्रालयले गाईबस्तुको आयातमा प्रतिबन्ध लगाएको छ।
अमेरिका हरेक वर्ष मेक्सिकोबाट १० लाखभन्दा बढी गाईबस्तु आयात गर्छ। स्क्रूवर्मको पुनः प्रकोपले करिब १०० अर्ब डलर बराबरको पशुपालन उद्योगमा प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। यद्यपि, अमेरिकी अधिकारीहरूका अनुसार हाल जनस्वास्थ्यमा यसको जोखिम अत्यन्तै न्यून छ।
किशोरकिशोरीमा चिकित्सकको सल्लाहबिना औषधि सेवनको प्रवृत्ति बढ्दो
आइतबार, मंसिर २८, २०८२
नेपाल चिकित्सक संघको उपाध्यक्ष पदमा डा. एकानन्द सिंहको स्वतन्त्र उम्मेदवारी
आइतबार, मंसिर २८, २०८२
चितवनमा पोहोरको तुलनामा डेंगी र स्क्रब टाइफस संक्रमण घट्दो
आइतबार, मंसिर २८, २०८२
एक वर्षदेखि चिकित्सकविहीन छ पाटनको भेटेरिनरी अस्पताल
आइतबार, मंसिर २८, २०८२
