नेपाल हेल्थ न्युज, बेइजिङ । विश्व शक्तिका दुई प्रमुख नेता, चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, हालै बेइजिङमा आयोजित विजय दिवसको अवसरमा अङ्ग प्रत्यारोपण र जीवन लम्ब्याउने प्रविधिबारे कुराकानीमा संलग्न भएको दुर्लभ क्षण सार्वजनिक भएको छ।
तियानमेन स्क्वायरमा आयोजित सैन्य परेडको प्रत्यक्ष प्रसारणका क्रममा ‘हट माइक’ (माइक्रोफोन खुला रहनु) मार्फत दुबै नेताबीचको अनौपचारिक संवाद प्रसारणमा आयो। यो कुराकानीले विश्व नेताहरूको दीर्घायु र बायोटेक्नोलोजीमा बढ्दो चासोलाई उजागर गरेको छ।
राष्ट्रपति सीले विगतमा मानिसको औसत आयु सीमित रहेको तर अहिलेको वैज्ञानिक प्रगतिले मानिसहरूलाई धेरै लामो समयसम्म बाँच्न सक्ने अवस्था ल्याइरहेको बताए। उनले भने, “विगतमा ७० वर्षको उमेरमा जीवनको अन्त्य नजिकिन्थ्यो, तर अहिले ७० वर्षको व्यक्ति पनि अझै तन्दुरुस्त र सक्रिय देखिन्छ।”
उनको भनाइमा प्रतिक्रिया दिँदै पुटिनले आधुनिक बायोटेक्नोलोजीले मानव शरीरका अङ्गहरू प्रतिस्थापन गर्न सक्ने बनाइरहेको उल्लेख गरे। “अहिलेको प्रविधिले अङ्गहरूको निरन्तर प्रत्यारोपण सम्भव बनाएको छ। यसले मानिसहरूलाई जवान राख्ने र दीर्घायु जीवन प्रदान गर्ने सम्भावना बढाएको छ,” उनले भने।
पुटिनले भविष्यमा मानिसहरू १५० वर्षसम्म बाँच्न सक्ने विश्वास व्यक्त गरे। यी अभिव्यक्तिहरू पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको दीर्घायु विज्ञान को सन्दर्भमा निकै सान्दर्भिक मानिन्छन्।
हाल बायोटेक्नोलोजी, स्टेम सेल रिसर्च, कृत्रिम अङ्ग विकास, र जेनेटिक इन्जिनियरिङ् जस्ता प्रविधिले मानव आयुमा महत्वपूर्ण क्रान्ति ल्याउने सम्भावना देखिएको छ। विश्वका धेरै देश चीन, रुस, अमेरिका र जापान—ले दीर्घायु प्रविधिमा ठूलो मात्रामा लगानी गरिरहेका छन्।
बायोटेक्नोलोजीको यही विकासलाई लिएर वैज्ञानिकहरू पनि भविष्यमा १२० देखि १५० वर्षसम्मको औसत आयु सम्भव हुने तर्क गर्दै आएका छन्। यसै सन्दर्भमा चीन र रुसका नेताहरूको चासो सार्वजनिक हुनु, स्वास्थ्य प्रविधि अब केवल वैज्ञानिक प्रयोगशालाको विषय मात्र नरहेको, बरु विश्व नेतृत्व तहसम्मको रणनीतिक छलफलको हिस्सा बन्न थालेको संकेत हो।
बेइजिङको यो भेटका क्रममा पुटिन, सी र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन सँगै देखिएको दृश्यले विश्वभरको ध्यान तान्यो। तर सैन्य प्रदर्शन र कूटनीतिक उपस्थितिभन्दा बाहिर, मानव आयु र भविष्यको स्वास्थ्य प्रविधिप्रतिको उनीहरूको चासो पनि कम चर्चाको विषय रहेन।एजेन्सी
नर्स तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिकसम्बन्धी प्रतिवेदन स्वास्थ्य मन्त्रीलाई बुझाइयो
सोमबार, मंसिर २९, २०८२
एनआरएनएले दुई नेपाली विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढाइने
सोमबार, मंसिर २९, २०८२

