नेभिगेशन

स्टार अस्पतालका चिकित्सक र कर्मचारीहरूले एक वर्षदेखि पारिश्रमिक पाएनन्,  निरन्तर आन्दोलनमा

नेपाल हेल्थ न्युज, काठमाडौं । सानेपास्थित स्टार अस्पताल लिमिटेडका चिकित्सक तथा कर्मचारीहरूले झन्डै एक वर्षदेखि पारिश्रमिक नपाएको भन्दै शान्तिपूर्ण आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।

२०८२ साउन २६ गतेदेखि सुरु भएको आन्दोलन अहिले पनि जारी छ। आन्दोलनरत कर्मचारीहरूले विभिन्न सरकारी निकाय तथा श्रम कार्यालयमा समस्या समाधानका लागि पटक–पटक पहल गरे पनि व्यवस्थापनले सहमति कार्यान्वयन नगरेको आरोप लगाएका छन्।

चिकित्सकहरूलाई एक वर्षदेखि, अन्य कर्मचारीहरूलाई छ महिनादेखि पारिश्रमिक नदिएको आन्दोलनकारीहरूको भनाइ छ। साथै, कर्मचारी सञ्चय कोषमा १५ महिना, नागरिक लगानी कोषमा ६ महिनादेखि रकम जम्मा गरिएको छैन।

त्यसैगरी, टिडिएस कर दुई वर्षदेखि नबुझाइएको र अस्पताल अन्तर्गतका मोर्डन टेक्निकल कलेज तथा स्टार नुवाकोट अस्पतालका कर्मचारीहरूलाई पनि क्रमशः एक वर्ष र आठ महिनादेखि तलब नदिएको गुनासो गरिएको छ।

श्रम कार्यालय, टेकुमा यसबारे पटक–पटक निवेदन र छलफल गरिए पनि व्यवस्थापनले दुईपटक गरिएको लिखित सहमतिसमेत पालना नगरेको आन्दोलनकारीहरूको आरोप छ।

श्रम कार्यालयले २०८१ सालको चैत २८ गते स्टार अस्पतालको बैंक खाता, अचल सम्पत्ति, शेयर कारोबार लगायतका सम्पूर्ण कारोबार रोक्का गर्ने निर्णय गरेको थियो। तर, त्यसपछि व्यवस्थापनले खाता मात्र खुलाउने उद्देश्यले किस्ताबन्दीमा पारिश्रमिक तिर्ने सहमति गरे पनि त्यो सहमति समेत लोपपाट पारिएको आन्दोलनकारीहरूको भनाइ छ।

कर्मचारीहरूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “हामीलाई आन्दोलन गर्न रहर थिएन, तर व्यवस्थापनको गैरजिम्मेवार व्यवहारले बाध्य बनायो।” उनीहरूका अनुसार, विषय गम्भीर हुँदाहुँदै पनि व्यवस्थापनले छलफलका क्रममा चासो नदेखाउने, समस्या समाधानमा पहल नगर्ने जस्ता प्रवृत्तिले आन्दोलनलाई अझ बलियो बनाएको छ।

संघर्ष समितिका अनुसार, अस्पताल व्यवस्थापनले तत्काल पारिश्रमिक र अन्य सुविधा भुक्तानी नगरेसम्म आन्दोलन शान्तिपूर्ण ढंगमा जारी रहनेछ। उनीहरूले समस्या समाधानका लागि वार्तामा बस्न आफूहरू सधैं तयार रहेको स्पष्ट पारेका छन्।

संघर्ष समितिले आगामी दिनमा आन्दोलनका कार्यक्रम क्रमशः सार्वजनिक गर्दै लैजाने जनाएको छ। आन्दोलनरत पक्षले न्यायप्रेमी नागरिक, राजनीतिक दल, मानव अधिकारवादी संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई समस्या समाधानका लागि पहल गरिदिन पनि अपिल गरेका छन्।

star-hospital-press-ralease-1-1757839473.JPGstar-hospital-press-ralease2-1757839546.JPG
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट