नेपाल हेल्थ न्युज, काठमाडौं । हाम्रो शरीर बाहिरबाट हेर्दा जस्तो देखिन्छ, भित्र त्यस्तो छैन । हामीले शरीरलाई एउटा ठोस आकारको देख्छौँ र लिन्छौं तर शरीरभित्र अनगिन्ती कोषहरू, नसाहरू, रगत नलीहरू, मुटु, फोक्सो, कलेजो आदि धेरै अङ्गहरू छन् भने टाउकोभित्र मस्तिष्क र यसका अनगिन्ती कोषहरू छन् । वैज्ञानिकहरू भन्छन्, “शरीर एउटा शक्ति मात्र हो र यो इनर्जीमा कम्पन भइराखेको छ । शरीर नै इनर्जी हो भने हाम्रा विचारहरू, भावनाहरू सबै इनर्जी नै भए ।
हाम्रो शरीरलाई विभिन्न रोगहरूबाट बचाउन शरीरभित्रै, प्रतिरोधात्मक क्षमता छ अर्थात् रोगहरूसँग लड्ने निकै शक्तिशाली फौज छ वा आर्मी छ । रोगहरूसँग लड्ने यो प्रतिरोधात्मक क्षमता यति बलियो छ किसिमका रोगका कीटाणुहरूलाई मार्न सक्छ, निष्क्रिय पार्न सक्छ । जब हाम्रो यो प्रतिरोधात्मक क्षमता वा कमजोर हुन्छ, शरीरमा रोगले आक्रमण गर्न थाल्छन् र जति प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ, त्यति रोगले जकड्दै जान्छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता जति बलियो छ, त्यति हामी निरोगी कसरी क्षमतालाई कमजोर हुन नदिने वा बलियो बनाइराख्ने । हाम्रो जीवनशैलीमा ध्यान दियौं भने सजिलै छ । जस्तैः चुरोट, सुर्ती, खैनी आदि सेवन नगर्ने, फलफूलहरू, हरियो सागपात, गेडागुडी खानामा समावेश गर्ने, बढी चिल्लो खानेकुराहरू र चिनीको प्रयोग सकेसम्म कम गर्ने गर्दा रोगसँग लड्न सक्ने क्षमता कमजोर हुँदैन रहेछ।
तर यतिले मात्र पुग्दैन । नियमित शारीरिक व्यायाम गर्ने, आफ्नो तौल बढ्न नदिने अर्थात् नमोटाउने र प्रदूषित वातावरणबाट बच्नुपदो रहेछ । सरसफाइमा ध्यान दिने, सात घण्टा नियमित सुत्ने, जङ्क फुड नखाने र मानसिक तनाव छ भने त्यसको व्यवस्थापन गर्नुपर्दो रहेछ ।
एउटा महत्त्वपूर्ण कुरा त अझ बाँकी नै छ । त्यो हो, नकारात्मक भावनाहरू र विचारहरू । भनिन्छ, ८५ प्रतिशत जति सबै रोगहरू हृदयरोग र क्यान्सरलगायत नकारात्मक भावनाहरू र सोचहरूबाट प्रभावित हुन्छन् । यी नकारात्मक भावनाहरू र सोचहरूले रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई कमजोर पार्छन् ।
एउटा उदाहरण
धेरै वर्षपहिले हिमाली क्षेत्रको एउटा गुफामा एक जना सिद्धपुरुष बस्थे । उहाँलाई भेट्न र ज्ञान सिक्नका लागि धेरै टाढा-टाढाबाट मानिसहरू आइरहन्थे । नजिकैको गाउँबाट भेडा चराउन एउटा गोठालो त्यही गुफानजिकै आउने रहेछन् । मानिसहरूको आवतजावत र त्यो गुफावरिपरि भिड लागिरहेको हेर्दै दिन बिताउन गोठालोलाई सजिलो लाग्ने रहेछ ।
मानिसहरू ती सिद्धपुरुषसँग के सिक्न आउने रहेछन् भन्ने जान्न गोठालोलाई उत्सुकता लागेछ र एक दिन अरू मानसिहरू नभएको बेला पारेर सन्तकहाँ गएछन् र अनुरोध गरेछन्, “मलाई पनि केही सिक्न मन लाग्यो, के मैले सिक्न सक्छु ?”
ती सिद्धपुरुषले गोठालोलाई भनेछन्, “हुन्छ, सिक्न सक्छौ । तिमीले दुईवटा झोला तयार पारेर लिएर आऊ ।” गोठालोले दुईवटा झोला लिएर आएछन् । अनि सिद्धपुरुषले भनेछन्, “तिमी जुन ठाउँमा बसेर धेरै समय बिताउँछौं, त्यहाँ सेतो र कालो रङका स-साना ढुङ्गाहरू जम्मा पार ।
एउटा झोला आफ्नो दाहिनेतर्फ र अर्को बायाँतर्फ राख । अब तिमीले तिम्रो मनमा हेर, मनमा कस्ता विचारहरू आउने रहेछन हेर । राम्रो विचार आए एउटा सेतो दगा दाहिनेतिरको झोलामा राख ।
नराम्रोविचार आए बायाँतिरको झोलामा कालो दङ्गा राख । दुई-तीन दिन यो अभ्यास गरेपछि भेट । गोठालोले पनि सन्तले भने जस्तै गर्न लागेछ । आफ्नो मनमा हेर्दा नराम्रा विचारहरू नै बढी आउने र राम्रा विचारहरू दुई-तीनवटा मात्र आउँदा रहेछन् । आफ्नो बारे, आफ्ना गाउँका मान्छेहरूबारे, भेडाहरूबारे नराम्रो वा खराब विचारहरू मात्र बढी आउने रहेछन् ।
तीन दिनपछि सन्तकहाँ आएर गाठालोले आफ्नो अनुभव बताएछन् । सुरु-सुरुमा यस्तै हुन्छ, तिमी आफ्नो मनमा हेर्ने र ढुङ्गा झोलामा राख्ने अभ्यास गरिराख, केही समयपछि फेरि भेट भनेछन् । गोठालोले जति अभ्यास गर्दै गए, नराम्रा विचार घट्दै गएका र राम्रा विचार बढ्दै गएको अनुभव गर्न थाले ।
भनिन्छ, ७५ प्रतिशत हाम्रा विचारहरू नकारात्मक हुन्छन् र तिनैको प्रभावमा हामी हुन्छौँ । विचार पनि यति छिटो-छिटो आउने र जाने गर्छन् कि हामीलाई थाहा पाउन नै मुस्किल हुन्छ । मन एकत्रित गरेर विचार हेर्न लाग्यो भने केही समयपछि आफ्नो विचार पहिल्याउन सक्ने भइन्छ ।
जब विचारहरूलाई चिनिन्छ, नकारात्मक विचार आयो भने किन आयो, के सन्दर्भमा आयो, थाहा पनि पाइन्छ । यदि नराम्रा विचारहरू आएर दुःख दिने रहेछन् भन्ने थाहा पाइयो भने ती स्वतः घट्न थाल्छन् र राम्रा विचारहरू बढ्दै जान्छन् अर्थात् सहयोगी भाव, प्रेमभाव बढ्दै जान्छन् ।
नकारात्मक भावनाहरूमा रिस, लोभ, घृणा, ईष्र्या र डरहरू मुख्य मानिन्छन्, त्यसो त अरू धेरै नकारात्मक भावनाहरू पनि छन् । त्यसैले शरीर, मन र वचनले कसैको हानि नगर्नु, कसैको चित्त नदुखाउनु भनेको होला । नकारात्मक भावबाट मुक्त हुनका लागि आफूले कसैको मन दुखाएको भए आफैँलाई माफ गर्ने र अरूले आफ्नो मन दुखाएको भए अरूलाई माफ गर्ने अभ्यास गर्नुपर्छ । प्रायः अरूलाई माफ गर्न मानिसहरू तयार हुँदैनन्, आफूभित्रको अहम्ले गर्दा बदलाको भावना
लिइरहन्छन्, जुन नकारात्मक भाव हो । यस्तो गर्न आफ्नै खाल्डो खन्न हो किनकि रोगसँग लड्ने क्षमता आफ्नै घट्छ र रोगको सिकार भइन्छ । कुनै सर्तबिना आफ्नो मन दुखाउने, आफूलाई दुःख दिनेहरूलाई आफ्नो
मनमनै माफी दिन उत्तम हो । मन दुखाउने व्यक्तिहरू कहाँ गएर बा भेटेर मैले माफी दिएँ भन्नुपर्दैन । आफ्नो मनको भावमा परिवर्तन गर्ने हो, रिसको भाव, ईष्र्याको भाव र बदलाको भावको भारी बिसाउने हो, आफू ती भावबाट मुक्त हुनु हो । तर केही व्यक्तिहरू अरूप्रति रिस, घृणा र र बदलाको भावना बोकेका कारण चिन्तारोग, डिप्रेसनका लक्षणहरू लिएर आउने गरको मैले भेटेको छु ।
एक जना अधबैंसे महिला लामो समयदेखि टाउको दुख्ने, मन निराश हुने र निद्रा नलाग्ने समस्या लिएर आउनुभयो । खोतल्दै जाँदा उहाँलाई डिप्रेसन भएको रहेछ । मानसिक तनाव दिने कारणहरू सोध्दा उहाँलाई सबै आफन्तजनले धोखा दिएका छन्, दुःख दिएका छन् र सताएका छन् भन्नुभयो । तनाव कम गर्नुपर्यो, मनमनै तिनीहरू सबैलाई माफ गर्नुहोस् अनि छिटो निको हुनुहुन्छ भन्दा उहाँले भन्नुभयो, “कुनै पनि हालतमा माफ गर्न त सक्दिनँ ।
त्यस्तै हामी धेरै कुराहरूलाई लिएर डराइरहेका हुन्छौं, चिन्ता लिइरहेका हुन्छौं । जस्तैः परिवारका सदस्यहरूलाई केही हुन्छ कि ? आफूलाई रोग लाग्छ कि ? दिमागले काम गर्दैन कि ? आदि(आदि। आफ्नो परिवारसँग समय बिताउँदा, बच्चाहरूसँग खेल्दा, योग वा ध्यान गर्दा यी नकारात्मक सोचहरू घट्छन् ।
नकारात्मक भावनाहरूले मानसिक तनाव बढ्छ, लगातारको मानसिक तनावले रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र कुनै रोगले आक्रमण गर्छ । रोग लागेपछि यसले मानसिक तनावलाई अझ बढाउँछ र रोग घट्नुको बदला बढ्छ । त्यसैले जो व्यक्तिहरू आक्रामक खालका छन्, रिसाहा प्रवृत्तिका छन्, जहिल्यै पनि दौडधुप मात्र गर्छन् र आराम गर्न चाहँदैनन्, निद्रा पुग्दैन, खानपिनमा ध्यान दिदैनन्, परिवारसँग समय
बिताउँदैनन, उनीहरूलाई बढी स्वास्थ्य समस्याहरू हुन्छन र कतिलाई हृदयाघात हुने खतरासमेत हुन्छ । नकारात्मक सोचहरूले मानसिक तनाव बढाउँछन् । लगातारको मात्तसिक तनाव महिनौंसम्म रहिरहेमा शरीरको रोगसँग लड्ने क्षमता घट्छ र विभिन्न रोगहरूले सताउन थाल्छन् । नकारात्मक सोचहरू बढी आउन भनेको चिन्ता बढ्नु हो र जति चिन्ता बढ्यो, त्यति डर लाग्ने, आत्तिने हुन्छ ।
त्यसैले रिसलाई, निराशापनलाई, डरलाई र मानसिक तनावलाई बेवास्ता नगर्नुहोस् र आफ्नो जीवनशैलीलाई सुधार्नुहोस् । स्वस्थ रहन चाहनुहन्छ र आनन्दको जीवन जिउन चाहनुहुन्छ भने यो नै मन्त्र हो ।
नर्स र स्वास्थ्यकर्मीको न्याय, पारदर्शिता र मानवीयताको निर्णायक आन्दोलन
शनिबार, कात्तिक ८, २०८२
नर्स आन्दोलनः आत्मसम्मान र समानताको पुनर्जागरण
शुक्रबार, कात्तिक ७, २०८२
रुघाबाट बच्ने उपाय र घरेलु उपचारहरू
बुधबार, असोज २९, २०८२
महिलाहरूलाई पुरुषहरूको तुलनामा चिसो किन बढी महसुस हुन्छ ?
सोमबार, असोज २७, २०८२
