नेपाल हेल्थ न्युज, काठमाडौं । हरेक वर्ष सेप्टेम्बर २१ तारिखमा मनाइने विश्व अल्जाइमर दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रमहरूका साथ मनाइँदैछ। यस वर्षको सन्देश अल्जाइमरबारे सोधौं, डिमेन्सियाबारे बुझौं भन्ने रहेको छ, जसको उद्देश्य बिर्सने रोगबारे जनचेतना फैलाउनु हो।
अल्जाइमर के हो ?
अल्जाइमर एक प्रकारको डिमेन्सिया हो, जुन प्रायः वृद्ध व्यक्तिहरूमा देखिने मस्तिष्कसम्बन्धी रोग हो। यसले मानिसको सम्झनशक्ति, सोच्ने क्षमता र व्यवहारमा प्रभाव पार्छ। उमेरसँगै मस्तिष्कका कोशिका नष्ट हुँदै जानाले बिस्तारै व्यक्ति हालैका कुरा सम्झन नसक्ने हुन्छन्। यही अवस्था गम्भीर बन्दै जाँदा अल्जाइमरको रूप लिन्छ।
नेपालमा पनि डिमेन्सिया र अल्जाइमरका बिरामीहरू बढ्दै गइरहेका छन्। पछिल्लो समय ५० वर्षभन्दा कम उमेरका मानिसहरूमा समेत तनाव, डिप्रेशन र जीवनशैलीका कारण यस्तो समस्या देखिन थालेको अध्ययनहरूले देखाएका छन्। हाल देशभर करिब तीन लाख व्यक्तिहरूमा अल्जाइमरको जोखिम रहेको अनुमान गरिएको छ।
सरकारले सरकारी तथा अर्धसरकारी अस्पतालहरूमा अल्जाइमर तथा डिमेन्सिया भएका बिरामीहरूको निःशुल्क उपचारको व्यवस्था मिलाएको छ। साथै, बिरामीको उपचारका लागि सरकारले दुई लाख रुपैयाँसम्मको आर्थिक सहायता पनि उपलब्ध गराइरहेको छ।
यो रोगको पहिलोपटक वैज्ञानिक अध्ययन सन् १९०५ मा जर्मन न्यूरोपैथोलोजिस्ट डाक्टर अलोइस अल्जाइमरले गर्नुभएको थियो। उहाँकै नाममा यो रोगको नाम अल्जाइमर राखिएको हो।
हालसम्म अल्जाइमरको पूर्ण उपचार सम्भव नभए पनि नियमित निगरानी, औषधी सेवन, सन्तुलित जीवनशैली र परिवारको साथ सहयोगले यसको असरलाई धेरै हदसम्म कम गर्न सकिन्छ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार हाल विश्वभर ५ करोड ५० लाखभन्दा बढी मानिस डिमेन्सियाबाट पीडित छन्। हरेक वर्ष करिब १ करोड नयाँ बिरामी थपिँदै जाने आँकडा छ।
अल्जाइमर एक गम्भीर रोग भए पनि समयमै चेतना, जाँच र सहयोगले यसको असर घटाउन सकिन्छ। परिवार, समाज र सरकारको सक्रिय भुमिका यस्तो अवस्थाका व्यक्तिहरूको जीवन सहज बनाउन महत्त्वपूर्ण हुन्छ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति रोक्न अदालतको अल्पकालीन आदेश
मंगलबार, पुस १, २०८२
जंगीलाल राय बने मधेश प्रदेशका स्वास्थ्य मन्त्री
मंगलबार, पुस १, २०८२
स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी
मंगलबार, पुस १, २०८२
नेपाल चिकित्सक संघको निर्वाचनका लागि डा. बद्री रिजाल नेतृत्वको टिमले उम्मेदवारी दिने
मंगलबार, पुस १, २०८२
