नेभिगेशन

कञ्चनपुरका सुत्केरीलाई ‘बर्थिङ सेन्टर’ पुग्न २ घण्टाको पैदल हिँड्नुपर्ने बाध्यता

नेपाल हेल्थ न्युज, कञ्चनपुर । भीमदत्त नगरपालिका–९ को खल्ला मसेट्टी क्षेत्रमा प्रसूति सेवाको पहुँच नहुँदा गर्भवती महिलाहरू घरमै सुत्केरी हुन बाध्य भएका छन्। स्वास्थ्य संस्था टाढा र बाटो अति कष्टकर भएका कारण महिलाहरूलाई सुरक्षित सुत्केरी सेवा पाउन कठिन भएको स्थानीयले गुनासो गरेका छन्।

यस बस्तीबाट करिब आठ किलोमिटर टाढा ब्रह्मदेवमा बर्थिङ सेन्टर रहेको भए पनि त्यहाँ पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ। कच्ची सडक र यातायातको अभावले गर्दा अधिकांश अवस्थामा सुत्केरी महिलालाई स्टेचरमा बोकेर लैजानु पर्ने अवस्था आउँछ।

स्वास्थ्य स्वयंसेविका विमला बमका अनुसार कतिपय महिलाले बाटोमै सुत्केरी हुने अवस्था भोग्नुपरेको छ। उनले भनिन्, यातायातको सुविधा छैन, बाटोसमेत दुर्गम छ। कहिले काँही बच्चा बाटोमै जन्मिन्छ।

हाल गाउँमा एउटा गाउँघर क्लिनिक छ जहाँ एक जना अहेब, एक कार्यालय सहयोगी र एक अनमी रहने व्यवस्था छ। तर, अनमी ममता महता सुत्केरी बिदामा गएपछि फर्किनुभएको छैन, जसले गर्दा खोप सेवा र गर्भजाँचमा समस्या भइरहेको छ। क्लिनिकमा कार्यरत अहेब नारायण बोहराका अनुसार हाल ब्रह्मदेव स्वास्थ्य केन्द्रबाट महिनामा एक पटक मात्र अनमी आउँछन्।

“खानेपानीको सुविधा पनि छैन, म आफैं घरबाट पानी बोकेर ल्याउँछु,” अहेब बोहराले भने। उनका अनुसार दैनिक २५–३० जनासम्म बिरामी सेवा लिन आउने गर्छन्।

सरकारले गर्भवती महिलालाई चार पटक नियमित जाँचको व्यवस्था, सुत्केरी हुँदा तीन हजार रुपैयाँसम्मको यातायात खर्च र जाँचको लागि सात सय रुपैयाँ दिने योजना ल्याएको भए पनि यस बस्तीमा त्यसको लाभ लिइएको छैन। स्थानीय रेखा विक भन्छिन्, “हामीलाई जाँच गर्न जान पनि दुई घण्टा हिँड्नुपर्छ। बर्थिङ सेन्टर टाढा भएकाले घरमै सुत्केरी हुन बाध्य छौं।”

स्थानीय बासिन्दाले गाउँमै बर्थिङ सेन्टर स्थापनाको माग गर्दै आएका छन्। आधारभूत सुविधाबाट वञ्चित यो बस्ती सदरमुकाम महेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरतर्फ अवस्थित छ। यातायात, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानीजस्ता सेवामा पहुँच नहुँदा यहाँको जनजीवन निकै कष्टकर बनेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट