नेभिगेशन
फार्मासिस्ट नभए औषधि व्यवस्थापन असुरक्षित हुन्छ, बिरामीको उपचार प्रभावकारी हुँदैन र जनस्वास्थ्य नै संकटमा पर्नसक्छ

आज विश्व फार्मासिस्ट दिवस २०२५: ‘स्वास्थ्य सोच्दा फार्मासिस्ट सम्झनुहोस्’

फार्मासिस्टमा लगानी गर्नु भनेको सुरक्षित, लागत–प्रभावी र दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फको बुद्धिमानी कदम

नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व फर्मासिष्ट दिवस । हरेक वर्ष २५ सेप्टेम्बरमा यो दिवस मनाउने गरिएको छ । विश्व फार्मासिस्ट दिवसको यस वर्षको नारा ‘स्वास्थ्य सोच्दा, फार्मासिस्ट सम्झनुहोस्’ भन्ने राखिएको छ । फार्मेसी क्षेत्रको नेतृत्वदायी संस्था एफआईपी (इन्टरनेशल फर्मास्युटिकल फेडरेसन)  ले यो अभियान अघि सारेको हो ।


एफआईपीले एक शताब्दीभन्दा बढी समयदेखि विश्वभर फार्मेसी पेशाको उन्नति र सुदृढीकरणका लागि काम गर्दै आएको छ । अहिले विश्वले सामना गरिरहेका जटिल चुनौती जस्तैः स्वास्थ्य सेवामा पहुँचको समस्या, एन्टिमाइक्रोबियल रेसिस्टेन्स, जलवायु परिवर्तन, वित्तीय अस्थिरताका बीचमा बलियो र दीगो स्वास्थ्य प्रणाली निर्माण अपरिहार्य भएको एफआईपीले जनाएको छ ।

आर्थिक संकट र स्वास्थ्य कार्यबलको चुनौती
विश्वका धेरै मुलुकमा बजेट कटौती र आर्थिक मन्दीका कारण स्वास्थ्य कार्यबल सुरक्षित राख्न चुनौती बढ्दै गएको छ । कतिपय देशमा तत्काल खर्च कम गर्ने उद्देश्यले योग्य फार्मासिस्टको सट्टा अप्रशिक्षित जनशक्ति प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । एफआईपीका अनुसार यस्तो छोटो सोचाइले उपचारको गुणस्तर घटाउने, औषधि प्रयोगमा जोखिम बढाउने र स्वास्थ्य प्रणालीप्रति जनविश्वास कमजोर पार्ने खतरा हुन्छ ।
फार्मासिस्टबिनाको फार्मेसी, स्वास्थ्यका लागि जोखिम
एफआईपीले चेतावनी दिएको छ–‘फार्मासिस्टबिनाको फार्मेसी स्वास्थ्यका लागि जोखिम हुन्छ । फार्मासिस्ट नभए औषधि व्यवस्थापन असुरक्षित हुन्छ, बिरामीको उपचार प्रभावकारी हुँदैन र जनस्वास्थ्य नै संकटमा पर्नसक्छ ।’
फार्मासिस्टः सबैभन्दा सहज पहुँच हुने स्वास्थ्यकर्मी
फार्मासिस्टहरू स्वास्थ्य प्रणालीका सबैभन्दा सहज पहुँच हुने सदस्य मानिन्छन् । उनीहरूले औषधि उपलब्ध गराउने मात्र होइन, खोप र रोकथाम सेवा दिने, जनस्वास्थ्य अभियानमा सहभागी हुने, एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग प्रवद्र्धन गर्ने, स्वास्थ्य साक्षरता बढाउनमा सहयोग गरिरहेका हुन्छन् । विशेषगरी फर्मासिस्टले दुर्गम क्षेत्रमा लाखौँ मानिसका लागि विश्वसनीय सम्पर्क बिन्दुका रूपमा काम गर्ने गरेका छन् ।

एफआईपीले भनेको छ—‘फार्मासिस्टमा लगानी गर्नु भनेको सुरक्षित, लागत–प्रभावी र दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फको बुद्धिमानी कदम हो ।’ 


विश्व फार्मासिस्ट दिवस र यसको महत्व
सन् १९१२ मा एफआईपीको स्थापना भएको दिनकै सम्झनामा हरेक वर्ष २५ सेप्टेम्बरमा विश्व फार्मासिस्ट दिवस मनाइन्छ । यसको मुख्यालय नेदरल्यान्ड्समा रहेको छ । सन् २००९ मा एफआईपी काउन्सिलले यसलाई आधिकारिक रूपमा अपनाएको थियो । साथै सन् २०२० देखि विश्व फार्मेसी सप्ताह पनि मनाइँदै आएको छ जसले फार्मेसी पेशाका सबै क्षेत्रलाई समेट्छ । यस वर्षको नाराले सरकार, संस्था, नीतिनिर्माता र सरोकारवालालाई स्मरण गराएको छ । यद्यपी स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन योग्य फार्मासिस्ट अपरिहार्य छन् । फार्मासिस्टमा गरिएको लगानी दीगो स्वास्थ्य र सबैका लागि स्वस्थ भविष्यमा गरिएको लगानी हो ।
(लेखकः औषधि विज्ञानमा तेस्रो वर्षमा स्नातक गर्दै रहेको विद्यार्थी हुनुहुन्छ ।)  
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप फर्मा अपडेट