नेपाल हेल्थ न्युज, काठमाडौं । आज विश्व फर्मासिष्ट दिवस । हरेक वर्ष २५ सेप्टेम्बरमा यो दिवस मनाउने गरिएको छ । विश्व फार्मासिस्ट दिवसको यस वर्षको नारा ‘स्वास्थ्य सोच्दा, फार्मासिस्ट सम्झनुहोस्’ भन्ने राखिएको छ । फार्मेसी क्षेत्रको नेतृत्वदायी संस्था एफआईपी (इन्टरनेशल फर्मास्युटिकल फेडरेसन) ले यो अभियान अघि सारेको हो ।
एफआईपीले एक शताब्दीभन्दा बढी समयदेखि विश्वभर फार्मेसी पेशाको उन्नति र सुदृढीकरणका लागि काम गर्दै आएको छ । अहिले विश्वले सामना गरिरहेका जटिल चुनौती जस्तैः स्वास्थ्य सेवामा पहुँचको समस्या, एन्टिमाइक्रोबियल रेसिस्टेन्स, जलवायु परिवर्तन, वित्तीय अस्थिरताका बीचमा बलियो र दीगो स्वास्थ्य प्रणाली निर्माण अपरिहार्य भएको एफआईपीले जनाएको छ ।
आर्थिक संकट र स्वास्थ्य कार्यबलको चुनौती
विश्वका धेरै मुलुकमा बजेट कटौती र आर्थिक मन्दीका कारण स्वास्थ्य कार्यबल सुरक्षित राख्न चुनौती बढ्दै गएको छ । कतिपय देशमा तत्काल खर्च कम गर्ने उद्देश्यले योग्य फार्मासिस्टको सट्टा अप्रशिक्षित जनशक्ति प्रयोग गर्ने प्रवृत्ति देखिएको छ । एफआईपीका अनुसार यस्तो छोटो सोचाइले उपचारको गुणस्तर घटाउने, औषधि प्रयोगमा जोखिम बढाउने र स्वास्थ्य प्रणालीप्रति जनविश्वास कमजोर पार्ने खतरा हुन्छ ।
फार्मासिस्टबिनाको फार्मेसी, स्वास्थ्यका लागि जोखिम
एफआईपीले चेतावनी दिएको छ–‘फार्मासिस्टबिनाको फार्मेसी स्वास्थ्यका लागि जोखिम हुन्छ । फार्मासिस्ट नभए औषधि व्यवस्थापन असुरक्षित हुन्छ, बिरामीको उपचार प्रभावकारी हुँदैन र जनस्वास्थ्य नै संकटमा पर्नसक्छ ।’
फार्मासिस्टः सबैभन्दा सहज पहुँच हुने स्वास्थ्यकर्मी
फार्मासिस्टहरू स्वास्थ्य प्रणालीका सबैभन्दा सहज पहुँच हुने सदस्य मानिन्छन् । उनीहरूले औषधि उपलब्ध गराउने मात्र होइन, खोप र रोकथाम सेवा दिने, जनस्वास्थ्य अभियानमा सहभागी हुने, एन्टिबायोटिकको विवेकपूर्ण प्रयोग प्रवद्र्धन गर्ने, स्वास्थ्य साक्षरता बढाउनमा सहयोग गरिरहेका हुन्छन् । विशेषगरी फर्मासिस्टले दुर्गम क्षेत्रमा लाखौँ मानिसका लागि विश्वसनीय सम्पर्क बिन्दुका रूपमा काम गर्ने गरेका छन् ।
एफआईपीले भनेको छ—‘फार्मासिस्टमा लगानी गर्नु भनेको सुरक्षित, लागत–प्रभावी र दीगो स्वास्थ्य प्रणाली निर्माणतर्फको बुद्धिमानी कदम हो ।’
विश्व फार्मासिस्ट दिवस र यसको महत्व
सन् १९१२ मा एफआईपीको स्थापना भएको दिनकै सम्झनामा हरेक वर्ष २५ सेप्टेम्बरमा विश्व फार्मासिस्ट दिवस मनाइन्छ । यसको मुख्यालय नेदरल्यान्ड्समा रहेको छ । सन् २००९ मा एफआईपी काउन्सिलले यसलाई आधिकारिक रूपमा अपनाएको थियो । साथै सन् २०२० देखि विश्व फार्मेसी सप्ताह पनि मनाइँदै आएको छ जसले फार्मेसी पेशाका सबै क्षेत्रलाई समेट्छ । यस वर्षको नाराले सरकार, संस्था, नीतिनिर्माता र सरोकारवालालाई स्मरण गराएको छ । यद्यपी स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन योग्य फार्मासिस्ट अपरिहार्य छन् । फार्मासिस्टमा गरिएको लगानी दीगो स्वास्थ्य र सबैका लागि स्वस्थ भविष्यमा गरिएको लगानी हो ।
(लेखकः औषधि विज्ञानमा तेस्रो वर्षमा स्नातक गर्दै रहेको विद्यार्थी हुनुहुन्छ ।)
एफएनसीसीआई कार्यकारिणीमा एपोन अध्यक्ष विप्लव अधिकारीको उम्मेदवारी घोषणा
बुधबार, चैत ११, २०८२
खुद्रा औषधि व्यवसायीलाई क्षयरोग नियन्त्रणमा साझेदार बनाउन आग्रह
मंगलबार, चैत १०, २०८२
नेपालमै क्यान्सर औषधि—स्वदेशी सम्भावनाको कथा
बुधबार, चैत ४, २०८२
‘नेपाल फर्मा एक्स्पो २०२६’ मा १२ हजारभन्दा बढीको अवलोकन
आइतबार, चैत १, २०८२

