नेपाल हेल्थ न्युज, काठमाडौं । हालै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत औषधि प्रतिनिधिहरूमाथि लगाइएका आरोपहरूप्रति नेपाल मेडिकल एण्ड सेल्स रिप्रेसेन्टेटिभ्स संघ, काठमाडौं इकाई ले कडा आपत्ति जनाएको छ। संघले ती आरोपहरू पूर्णतः निराधार, भ्रामक र पेशागत मर्यादाविरुद्ध भएको भन्दै खण्डन गरेको छ।
संघका अध्यक्ष कोशराज अवस्थीले जारी गरेको विज्ञप्तिमा औषधि प्रतिनिधिहरूलाई गैरव्यावसायिक र अनैतिक गतिविधिमा संलग्न देखाइएको समाचारप्रति गम्भीर आपत्ति जनाइएको छ। “यी आरोपहरू प्रतिनिधिहरूको व्यक्तिगत इज्जत र समग्र स्वास्थ्य प्रणालीमाथिको विश्वासमा आघात पुर्याउने प्रकारका छन्,” विज्ञप्तिमा भनिएको छ।
संघका अनुसार औषधि प्रतिनिधिहरू स्वास्थ्य सेवाको एक महत्वपूर्ण कडी हुन्, जसले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई नवीनतम वैज्ञानिक जानकारी, औषधीय तथ्याङ्क र अनुसन्धानका निष्कर्षहरू प्रवाह गर्ने काम गर्छन्। त्यसैले उनीहरूको मर्यादा, इमानदारी र व्यावसायिकता माथि प्रश्न उठाइनु अनुचित र निन्दनीय भएको संघको भनाइ छ।
संघले सामाजिक सञ्जालमार्फत फैलाइएका भ्रामक र तथ्यहीन सूचनाहरूले सर्वसाधारणबीच गलत धारणा सिर्जना गरिरहेको बताउँदै यस्ता क्रियाकलापमा संलग्न व्यक्ति वा संस्थामाथि कानूनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
संघले औषधि प्रतिनिधिहरू संविधानले सुनिश्चित गरेको पेशागत अधिकार, सुरक्षित कार्य वातावरण र अभिव्यक्ति स्वतन्त्रताका आधारमा कार्यरत रहेको स्पष्ट पारेको छ। साथै, उनीहरू स्वास्थ्य सम्बन्धी आचारसंहिता, कानुन र सम्बन्धित निकायहरूको निर्देशनअनुसार मात्रै क्रियाशील रहेको पनि जोड दिएको छ।
विज्ञप्तिमार्फत संघले सरकार, स्वास्थ्य संस्थाहरू र सञ्चारमाध्यमहरूलाई जिम्मेवार र तथ्यमा आधारित सूचनाको प्रवाह गर्न आग्रह गरेको छ। तथ्यबिना गरिएको प्रचारले स्वास्थ्य सेवा प्रणालीको सन्तुलन बिग्रन सक्ने भन्दै संघले सबै पक्षलाई संयमित र मर्यादित रूपमा प्रस्तुत हुन अनुरोध गरेको छ।
“हामी सधैं पारदर्शी, नैतिक र वैज्ञानिक दृष्टिले सशक्त स्वास्थ्य सेवा प्रणाली निर्माणका लागि सरकार र सम्बन्धित निकायहरूसँग सहकार्य गर्न तत्पर छौं,” संघको विज्ञप्तिमा उल्लेख गरिएको छ।

उच्च अदालतको फैसलापछि चिकित्सक संघको निर्वाचन प्रक्रिया खुला
बुधबार, चैत ११, २०८२
सञ्जीवनी टिचिङ हस्पिटलमा एमआरआई सेवा सुरु
बुधबार, चैत ११, २०८२
स्वास्थ्य मन्त्री डा. गौतमको अनौपचारिक विदाइ
बुधबार, चैत ११, २०८२
चिकित्सक टोली हिमालमा
बुधबार, चैत ११, २०८२
