नेपाल हेल्थ न्युज, पर्वत । जाडोयाम सुरु हुनासाथ पर्वत अस्पतालमा बिरामीको चाप तीव्र बढेको छ । पछिल्ला दिनमा अस्पतालमा आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएपछि शय्या अभावको समस्या देखिएको छ ।
मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बाँस्तोलाका अनुसार बिरामीको संख्या बढेसँगै कतिपयलाई आकस्मिक कक्षमै वा भुइँमा राखेर उपचार गर्नुपर्ने अवस्था आएको छ । उहाँका भनाइअनुसार हाल आउने अधिकांश बिरामी भर्ना गरेर उपचार गर्नुपर्ने खालका छन् ।
‘जनरल वार्ड’का सबै शय्या भरिएपछि भर्ना गर्नुपर्ने बिरामीलाई आकस्मिक उपचारका लागि छुट्याइएका शय्यामा राखिएको अस्पतालले जनाएको छ । अहिले दैनिक करिब ३५० देखि ३९६ जनासम्मले ओपीडी र इमर्जेन्सी सेवा लिइरहेका छन् ।
१५ शय्याको स्वीकृत क्षमता भएको प्रदेश अस्पतालले हाल ६४ शय्या सञ्चालनमा ल्याएर सेवा विस्तार गरेको छ । सीमित जनशक्तिलाई परिचालन गर्दै बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन भइरहेको छ ।
डा. बाँस्तोलाले भने, “भर्ना गरेर राख्ने सबै शय्या भरिएका छन् । गर्मी सकिएर चिसो बढ्दै जाँदा हरेक वर्ष यो समयमा बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढ्ने गर्छ ।”
सिजनल फ्लुका कारण बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । डा. एनिस श्रेष्ठका अनुसार पछिल्लो समयमा एकै दिनमा १८ जना बालबालिकालाई ज्वरो, रुघाखोकी र बान्ता आदिका कारण भर्ना गरेर उपचार गरिएको छ । ज्येष्ठ नागरिकमा भने दम र श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ ।
अस्पतालको आकस्मिक कक्षमा दैनिक करिब ४० जना बिरामी उपचारका लागि पुग्ने गरेका छन्, जसमा ज्वरो, दम, झाडापखाला, बान्ता तथा सवारी दुर्घटनाका घाइते समेत रहेका छन् ।
नेपाल फार्मेसी परिषद्को अध्यक्षमा डा. कादिर आलम नियुक्त
बुधबार, साउन २०, २०८३
एक थोपा रगतले बच्न सक्छ जीवनः चिरायु अस्पताल र लायन्स क्लबको संयुक्त रक्तदान अभियान
बुधबार, साउन २०, २०८३
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
इन्टर्न चिकित्सक डिल्ली हरिजन आमरण अनशनमा
मंगलबार, साउन १९, २०८३
