नेपाल हेल्थ न्युज, काठमाडौं । इन्टर्न चिकित्सकहरूको पारिश्रमिक, श्रमको सम्मान तथा सरकारद्वारा गठित कार्यदलको प्रतिवेदन तत्काल कार्यान्वयनको माग गर्दै इन्टर्न चिकित्सक डिल्ली हरिजन मंगलबारदेखि माइतीघर मण्डलमा आमरण अनशनमा बसेका छन्।
हरिजनले मंगलबार बिहान १०ः२५ बजेदेखि आमरण अनशन सुरु गरेको जानकारी दिँदै आफू व्यक्तिगत स्वार्थ वा आवेगका कारण नभई करिब चार महिनादेखि सम्बोधन हुन नसकेका न्यायोचित मागका कारण यस्तो कदम चाल्न बाध्य भएको बताएका छन्।
उनका अनुसार इन्टर्न चिकित्सकहरूले विगत चार महिनादेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, चिकित्सा शिक्षा आयोग, सांसदहरू तथा अन्य सम्बन्धित निकायसँग निरन्तर संवाद र पहल गर्दै आएका भए पनि हालसम्म कुनै ठोस निर्णय हुन सकेको छैन।
हरिजनले शिक्षा तथा खेलकुद मन्त्रीको अध्यक्षतामा गठित कार्यदलले तयार पारेको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। उनले इन्टर्न चिकित्सकहरूले कुनै अतिरिक्त सुविधा नखोजेको उल्लेख गर्दै समान कामको समान पारिश्रमिक, श्रमको सम्मान तथा कार्यदलका सिफारिस कार्यान्वयन नै आफ्नो मुख्य माग रहेको स्पष्ट पारे।
उनले चिकित्सा शिक्षा आयोगका अध्यक्ष प्रधानमन्त्री, सहअध्यक्ष शिक्षा तथा खेलकुद मन्त्री, सहअध्यक्ष स्वास्थ्य मन्त्री तथा आयोगका पदाधिकारीसँग पटक–पटक छलफल र अनुरोध गरिए पनि करिब १२० दिन बितिसक्दा समेत निर्णय हुन नसकेको आरोप लगाए।
हरिजनका अनुसार निजी मेडिकल कलेजहरूको दबाबका कारण इन्टर्न चिकित्सकहरूको माग ओझेलमा परेको छ। उनले निर्णयमा भइरहेको ढिलाइले हजारौं इन्टर्न चिकित्सक तथा मेडिकल विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै सरकारलाई तत्काल निर्णय लिन आग्रह गरेका छन्।
देशभर ‘एन्टी स्नेक भेनम’को अभाव, ८५० बिरामीको उपचार पुग्ने मात्रै मौज्दात
मंगलबार, साउन १९, २०८३
सरकारी अस्पतालमा रेबिज खोप अभावबारे सांसद कुँवरले सरकारसँग मागिन् जवाफ
मंगलबार, साउन १९, २०८३
अनसनरत नर्स ज्योति रानाभाटसँग सरकारको वार्ता निष्कर्षविहीन, अनसन छैटौं दिनमा
मंगलबार, साउन १९, २०८३
निःशुल्क उपचारका लागि कुन अस्पतालमा कसलाई सम्पर्क गर्ने? विवरण सार्वजनिक (सूचीसहित)
सोमबार, साउन १८, २०८३
