नेभिगेशन

मेलम्चीमा संयुक्त अनुगमनः पाँच स्वास्थ्य संस्थामध्ये दुई पूर्ण रूपमा बन्द

नेपाल हेल्थ न्युज, सिन्धुपाल्चोक । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका र इलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले मंगलबार मेलम्ची क्षेत्रका निजी स्वास्थ्य संस्था, डेन्टल क्लिनिक र पोलिक्लिनिकहरूमा संयुक्त अनुगमन गरेको छ।

अनुगमनका क्रममा कानुनी प्रक्रिया र स्वास्थ्य मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका केही संस्थामाथि तत्काल कारबाही सुरु गरिएको र केहीलाई सुधारका लागि समय दिइएको जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईंले जानकारी दिनुभयो।

उहाँका अनुसार जनस्वास्थ्य ऐन २०७५, जनस्वास्थ्य नियमावली २०७७ र बागमती प्रदेश स्वास्थ्य सेवा (पहिलो तथा दोस्रो संशोधन) ऐन तथा नियमावली २०८१ का प्रावधानअनुसार मापदण्ड नपुगेका संस्थामाथि कारबाही गरिनेछ।

अनुगमनका क्रममा मेलम्ची बजारस्थित इन्द्रावती डेन्टल क्लिनिक प्रा.लि. र जुगल डेन्टल क्लिनिक लाई आवश्यक अनुमति बिना सेवा सञ्चालन गरेको पाइएपछि तत्काल बन्द गरिएको हो। त्यसैगरी, विगतमा विनायक पोलिक्लिनिकका नाममा चलिरहेको विनायक फार्मेसीले अवैध रूपमा सञ्चालन गर्दै आएको ल्याब र डेन्टल सेवा पनि रोकिएको छ।

मेलम्ची पोलिक्लिनिक प्रा.लि. ले चाहिँ नवीकरणका लागि केही मापदण्ड पूरा गर्न बाँकी रहेको भन्दै ३० दिनको म्याद पाएको छ।
त्यस्तै शिव शक्ति स्वास्थ्य क्लिनिकमा मापदण्ड विपरीत सञ्चालन हुँदै आएको ल्याब र एक्स–रे सेवा बन्द गरिनुको साथै केही शंकास्पद उपकरण र सामग्रीहरू समेत जफत गरिएको जनाइएको छ।

अनुगमन टोलीले स्वास्थ्य संस्थाहरूले कानुनअनुसार अनुमति लिएर मात्र सेवा सञ्चालन गर्नुपर्ने र बिरामीको स्वास्थ्य सुरक्षासँग खेलबाड गर्न नपाइने चेतावनी दिएको छ। टोलीले जिल्लाभर यस्ता अनुगमनलाई अझ तीव्र बनाइने जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट