नेभिगेशन

बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा औषधि घोटाला, विशेष छानबिन समिति गठन

प्रारम्भिक अध्ययन अनुसार, करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि बेपत्ता भएको पाइएको हो।

नेपाल हेल्थ न्युज, धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसी शाखामा झण्डै ५० लाख रुपैयाँ बराबरको औषधि हराएको विषय सार्वजनिक भएपछि प्रतिष्ठानले छानबिन प्रक्रिया अगाडि बढाएको छ। प्रारम्भिक अध्ययन अनुसार, करिब ५ करोड ५० लाख रुपैयाँ बराबरको औषधिमध्ये ५० लाख रुपैयाँ बराबरको औषधि बेपत्ता भएको पाइएको हो।

प्रतिष्ठानका रजिस्ट्रार सूर्यप्रसाद सङ्ग्रौलाका अनुसार, औषधि हिनामिना भएको पुष्टि भएपछि पाँच सदस्यीय विशेष छानबिन समिति गठन गरिएको छ। उक्त समितिको नेतृत्व हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलले गरेका छन्। समितिमा आर्थिक सल्लाहकार मनोज अधिकारी, धरान टेक्निकल कलेजका प्रिन्सिपल अमितकुमार गुप्ता, अधिवक्ता नवराज दाहाल तथा धरान उपमहानगरपालिकाबाट स्वास्थ्य क्षेत्र प्रतिनिधि समेत सदस्य रहेका छन्।

समितिलाई २५ दिनभित्र सम्पूर्ण तथ्यसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्रारम्भिक निष्कर्ष अनुसार, तत्कालीन अस्पताल निर्देशक डा. जगतनारायण प्रसाद, डेपुटी निर्देशक डा. लोकेश जैसवाल, फार्मेसी प्रमुख लक्ष्मण महर्जन, कर्मचारी विवेक दाहाल तथा औषधि आपूर्ति हेर्ने केटिएम सेक्युरिटी प्रालिका केही प्रतिनिधिहरूको संलग्नता देखिएको बताइएको छ।

जारी अनुगमनमा ३६ लाख रुपैयाँ बराबरको औषधि फार्मेसीमा नभेटिएको, ४ लाखको लेखापानी गडबडी भएको र १४ लाख रुपैयाँभन्दा बढी मूल्यका म्याद सकिएका औषधिहरू स्टोरमै थन्किएको देखिएको छ।

यस्तो आर्थिक बेथिति सार्वजनिक भएपछि प्रतिष्ठानले तत्कालै फार्मेसीको औषधि बिक्री सेवा बन्द गरेको छ। यसले गर्दा दैनिक उपचारका लागि आउने हजारौं बिरामीलाई औषधि खरिदमा अप्ठ्यारो परेको छ। बाहिरी मेडिकलबाट महंगो मूल्यमा औषधि किन्नु परिरहेको र स्वास्थ्य बीमा भएका बिरामीसमेत प्रभावित भएका छन्।

हालै नियुक्त उपकुलपति डा. बिक्रमप्रसाद श्रेष्ठले यस्ता अनियमितता विरुद्ध कडा कदम चाल्ने प्रतिबद्धता जनाउँदै सुधारात्मक अभियान अघि बढाएका छन्। स्थानीयवासीहरू पनि अब प्रतिष्ठान पारदर्शी र बिरामीमुखी हुने अपेक्षामा छन्।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट