‘न्युरो सर्जरीमा सबै जनाको टिमवर्क हो । अपरेशनका लागि आवश्यक सबै सामान तयार गर्नेदेखि उपकरण मिलाउने, कुन अपरेशनमा कसरी तयार गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । अपरेशन थियटरमा बिरामी आएदेखि शल्यक्रिया गरेर ट्रान्सफर नगरेसम्म ठूलो जिम्मेवारी हुन्छ’—सिन्धु भन्नुहुन्छ ।
अनुभवको कथाः अपरेशन थियटरको १२ घण्टा
सिन्धुको सम्झनामा अझै ताजा छ—एकपटक २४ वर्षीय युवालाई टाउकोमा गम्भीर चोट लागेर आकस्मिक अपरेशन गर्नुपर्ने भयो । ‘त्यो रात १२ घण्टा लगातार हामी अपरेशन थियटरमा थियौं । सर्जनले स्क्याल्पेल समाएर घाउ खोल्दा, मैले निरन्तर औजार मिलाउँदै, रक्तस्राव रोक्न सहयोग गर्दै, अक्सिजन स्तर घट्न नदिने गरी निगरानी गर्दै थिएँ ।
बीचमा युवाको मुटुको गति कम भयो, हामी सबै स्तब्ध भयौं । तर तुरुन्तै औषधि दिएर स्थिति सामान्य पारियो । सर्जरी सकिएर बिहान त्यो बिरामीले हल्का आँखा खोल्दा हाम्रो टिमको सबै थकाइ हराएको थियो ।’ त्यस्ता क्षणमा नर्सले देखाउने धैर्य, सजगता र संवेदनशीलता नै जीवन र मृत्युको बीचमा निर्णायक हुन्छ ।
न्युरोसर्जरीमा नर्सले शल्यक्रियापूर्व बिरामीको सम्पूर्ण स्वास्थ्य मूल्याङ्कन, रक्त परीक्षणदेखि इमेजिङ रिपोर्ट व्यवस्थापन गर्नुपर्छ । बिरामी र परिवारलाई शल्यक्रियाबारे मानसिक रूपमा तयार पार्ने काम गर्नुपर्छ ।
शल्यक्रियाको क्रममा न्युरोसर्जनलाई आवश्यक उपकरण समयमै उपलब्ध गराउने, रक्तस्राव नियन्त्रण, भेन्टिलेसन निगरानी, औषधि व्यवस्थापन, संक्रमण नियन्त्रणलगायतका भूमिका निर्वाह गर्नुपर्छ । शल्यक्रियापछि आईसीयू/एचडीयूमा रक्तचाप, मुटुको गति, अक्सिजन स्तरको निरन्तर निगरानी, बिरामीले बोलेको, हिँडेको, प्रतिक्रिया दिएको जस्ता न्युरोलोजिकल स्टाटस निरन्तर रिपोर्टिङ गर्नुपर्छ । औषधि, फिजियोथेरापी र परिवारलाई आवश्यक परामर्श दिनुपर्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नर्सहरूलाई हेल्थ केयर सिस्टमको मेरुदण्ड भनेको छ । न्युरोसर्जरी जस्तो जटिल क्षेत्रमा प्रशिक्षित नर्स नभए शल्यक्रियाको सफलताको दर घट्ने उल्लेख गरिएको छ ।
डब्लुएचओले भनेको छ—‘कुनै पनि स्वास्थ्य प्रणाली नर्सहरू बिना सञ्चालन हुन सक्दैन, न्युरोसर्जरीमा उनीहरू नै मौन जीवनरक्षक हुन् । डब्लुएचओका अनुसार विशेषज्ञ न्युरोसर्जिकल नर्सिङले बिरामीको सुरक्षा सुनिश्चित गर्छ, जटिलताहरू घटाउँछ र पुनःउपचार/रिकभरीको परिणाम सुधार्छ ।
अमेरिकन एसोसिएसन अफ न्युरोसाइन्स नर्सिङ (आन) ले न्युरोसर्जरीमा नर्सलाई ‘सर्जन र बिरामीबीचको अत्यन्त महत्वपूर्ण सम्बन्ध’ भनेर परिभाषित गरेको छ । उनीहरूको रिसर्चले अनुभवी न्युरो–नर्सले शल्यक्रियापछि हुने जटिलता (जस्तैःइन्फेक्सन, ह्यामोरेज) मा ३०% सम्म कमी ल्याउने देखाएको छ ।
युरोपियन स्टडी (जर्नल अफ न्युरो साइन्सेस नर्सिङ) को अध्ययनअनुसार, न्युरोसर्जरी युनिटमा १ः१ नर्स–बिरामी अनुपात भएमा रिकभरी समय छोटो हुने, बिरामीको मृत्यु दर घट्ने र परिवार सन्तुष्टि दर उच्च हुने नतिजा आएको छ ।
ब्रेन ट्यूमरः कारण संकेत, लक्षण र उपचार
आइतबार, कात्तिक २३, २०८२
ढाडको दुखाइमा म्यानुयल थेरापी
शुक्रबार, कात्तिक २१, २०८२
साहसबाट शुरु भएको यात्रा
बिहीबार, कात्तिक २०, २०८२
वीर अस्पतालमै जीवन अर्पण गरेका प्रा. डा. राजिव झा
मंगलबार, कात्तिक १८, २०८२
