नेभिगेशन

नेपालमा दुरबीनमार्फत मेरुदण्डको शल्यक्रिया अब द्रुत गतिमा अघि बढ्दैछ

नेपालमा दुरबीनको सहयोगमा मेरुदण्डको सर्जरीको विकास कहिलेबाट सुरु भयो ?
नेपालमा विगत ४–५ वर्ष पहिलेदेखि दुरबीनको सहयोगमा मेरुदण्डको सर्जरीको विकास भइरहेको छ । सन् २०१९ मा पोखराको मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा मुम्बईका प्रा. डा. सतिशचन्द्र गोरेले ट्रान्सफोरामिनल डिस्क सर्जरीबारे वर्कशप ट्रेनिङ दिनुभयो । त्यसपछि सन् २०२१ तिर भारतका अर्का प्रख्यात सर्जन डा. मालकोम पेस्टन्जीले काठमाडौं मेडिकल कलेज र मणिपाल दुवैमा दुरबीनको मद्दतबाट ढाडको सर्जरीबारे तालिम दिनुभयो । यी तालिम र अनुभवपछि नेपालमा द्रुत गतिमा दुरबीनमार्फत ढाडको शल्यक्रिया सुरु भयो । उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालले पनि २ वर्षअघि यस सम्बन्धी वृहत कार्यशाला आयोजना गरेको थियो ।

तपाईंहरूले कुन प्रविधि प्रयोग गर्दै आउनु भएको छ ?
अहिले हामीले गर्ने प्रविधि युनिल्याट्रल बाइपोर्टल इन्डोस्कोपी (युविई) हो । यो मुख्यतया मेरुदण्ड (स्पाइन) मा प्रयोग हुन्छ । यसमा दुई साना प्वाल (बाइपोर्टल) पारिन्छ । एक पोर्टबाट क्यामेरा (इन्डोस्कोप) हालिन्छ, अर्को पोर्टबाट शल्य उपकरण छिराइन्छ । यसरी न्यूनतम आक्रामक तरिकाले नसा वा मेरुदण्ड वरिपरि थिचिएको संरचना डिकम्प्रेस गरिन्छ । यसलाई कतिपय ठाउँमा युनिल्याट्रल बाइपोर्टल इन्डोस्कोपिक डिसेक्टोमी (युविईडी) पनि भनिन्छ ।

यसको सफलता दर र जोखिम कस्तो छ ?

हाम्रो अनुभवमा यो शल्यक्रिया ९५–९६ प्रतिशतसम्म सफल भइरहेको छ । कहिलेकाहीँ नसाको झिल्लीमा चोट लाग्ने वा घाउ पाक्ने समस्या आउन सक्छ । यसका लागि एन्टिबायोटिक दिनुपर्छ । तर यो समस्या निकै न्यून हुन्छ । चोटपटक लागेर हड्डी भाँचिएको अवस्थामा भने सीधा दुरबीन प्रयोग हुँदैन—पहिले हड्डी स्थिर (फिक्स) गर्नुपर्छ । अहिले न्यूनतम दुरबीन प्रविधिबाट स्क्रु फिक्स गर्न पनि सानो प्वाल प्रयोग गर्न सकिन्छ, पहिले जसरी पूरै ढाड चिरेर गर्नुपर्दैन ।

तपाईंको व्यक्तिगत यात्रा कस्तो रह्यो?
म मणिपाल कलेज अफ मेडिकल साइन्सेसमा डा. बालगोपाल कर्माचार्यसँग काम गर्थेँ । उहाँ म भन्दा सिनियर हुनुहुन्छ । त्यसैले म उहाँलाई गुरु मान्थेँ । सन् २०१९ अन्त्यतिर हामीले मनिपाल न्युरो कन्फरेन्समा डा. सतिशचन्द्र गोरेलाई बोलाएर दुरबीनमार्फत ढाडको लाइभ सर्जरी गरायौँ । बिरामी राम्रो भएर निको भए ।  त्यहीबाट हामीले इन्डोस्कोपिक स्पाइन न्युरो सर्जरी सुरु ग¥यौँ । तर त्यसपछि कोभिडको महामारीका कारण तालिम र अन्तरक्रिया रोकियो । महामारी घटेपछि फेरि यस प्रविधि विस्तारको काम अगाडि बढायौँ ।

endoscopic-6-1761725611.jpeg
 

नेपालमा ढाडको समस्याको उपचारको इतिहास के छ ?
विगतमा ढाडको दुखाइ कम गर्न औषधि, फिजियोथेरापी, मालिस र आराम गर्न लगाइन्थ्यो । करिब १०० वर्षअघि मात्र ढाड चिरेर नसा च्याप्ने डिस्क निकाल्ने सर्जरी सुरु भयो । सन् १९७७ मा ‘फादर अफ न्युरोसर्जरी’ डा. हार्वे कुशिङले माइक्रोस्कोपको प्रयोग गरेर यस्तो सर्जरी सुरु गर्नुभयो । माइक्रोस्कोपले कुन डिस्क वा हड्डीले नसा च्यापेको हो भन्ने ठूलो बनाएर हेर्न सजिलो बनायो । यसलाई माइक्रोस्कोपिक डिसेक्टोमी भनिन्छ र अझै पनि यो स्ट्यान्डर्ड विधि हो ।

इन्डोस्कोपिक प्रविधिको विकास कसरी भयो ?
सन् १९९० तिर केही न्युरोसर्जनहरूले माइक्रोस्कोपको सट्टा इन्डोस्कोप प्रयोग गरेर नसा खोल्ने प्रयास गरे । सुरुमा गुणस्तरीय उपकरण नहुँदा यो कठिन थियो र धेरै समय लाग्थ्यो । तर विगत एक दशकमा मेसिन र प्रविधि निकै परिष्कृत भएकाले इन्डोस्कोपिक स्पाइन सर्जरी तीव्र गतिमा फैलिएको छ ।

ओपन माइक्रोस्कोपिक र इन्डोस्कोपिकमध्ये कुन राम्रो ?
दुवै विधि भरपर्दा छन् । व्यक्तिगत रूपमा म इन्डोस्कोपिक डिसेक्टोमीलाई प्राथमिकता दिन्छु । माइक्रोस्कोपमा रोग भएको ठाउँलाई माथिबाट ठूलो बनाएर हेर्छौं, इन्डोस्कोपमा भने रोग भएको ठाउँमै पुगेर राम्रोसँग हेर्न सकिन्छ । क्यामरासँगै प्रशस्त प्रकाश हुन्छ, प्वाल सानो हुन्छ, बिरामीलाई चोट कम लाग्छ, रिकभरी छिटो हुन्छ र दाग सानो रहन्छ ।
endoscopic-5-1761725669.jpeg
 

नयाँ पुस्तालाई तालिम उपलब्ध गराउन कतिको सक्रिय हुनुहुन्छ ? 
हामीले २ वर्षको अवधिमा सफलतापूर्वक ४ वटा तालिम दिलाइसकेका छौं । पछिल्लो ३ वटा तालिम त भारतका वरिष्ठ न्युरोसर्जन एवं हाडजोर्नी सर्जनलाई दिइसकेका छौं । उहाँहरुको प्रतिक्रिया पनि उत्साहजनक पाएका छौं । धेरैजसोले हामीसँग तालिम लिएर भारतमा यो प्रविधिबाट सफल शल्यक्रिया गरिरहेका छन् । विगतमा नेपालीहरु भारतमा तालिम लिन जान्थे । हाल भारतीयहरु यस्तो तालिम लिन नेपाल आइरहेका छन् । 

भविष्यमा यसको प्रयोगको सम्भावना कस्तो छ ?
अहिले ढाड मात्र नभई पित्तथैली, पेट, मस्तिष्क, नाक–कान–घाँटी, छाती, पिसापथैली आदि क्षेत्रको शल्यक्रियामा पनि दुरबीन प्रयोग भइरहेको छ । यसले शल्यक्रियाको स्वरूप नै बदल्नेछ । नेपालमा तालिम, उपकरण र विशेषज्ञ विस्तार भएमा यसको पहुँच अझ बढ्नेछ । 

भिडियो हेर्नुहोस्

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ टक