क्यान्सरका विभिन्न पक्षहरूमा अनुसन्धान गरिरहँदा युवावस्थामा क्यान्सर गम्भीर चुनौतीको रूपमा देखापरेको छ । सुरुमा नेपालमा अन्य देशको तुलनामा करिब १० वर्षअघि नै क्यान्सर लाग्छ भन्ने आम धारणा थियो ।डा. सापकोटा भन्नहुन्छ—‘हामीले आफ्नै डाटा संकलन र विश्लेषण ग-यौं ।
त्यस क्रममा ‘एडोलेसेन्ट एण्ड यङ एडल्ट’ (एवाईए) समूहअर्थात् १५ देखि ३९ वर्ष उमेर समूहमा क्यान्सरको दर उल्लेखनीय रूपमा देखियो ।’ एवाईए समूह भन्नाले १५ देखि ३९ वर्ष उमेर समूहलाई बुझिन्छ । यो उमेर जीवन निर्माण गर्ने, करियर बनाउने र पारिवारिक जिम्मेवारी सुरु गर्ने चरण हो ।
यही संवेदनशील उमेरमा क्यान्सर देखिनु व्यक्ति, परिवार र समाज सबैका लागि गम्भीर असर पार्ने विषय हो । संसारभर युवावस्थामा हुने क्यान्सरको हिस्सा करिब ७ प्रतिशत रहेको छ । तर काठमाडौं क्यान्सर सेन्टरको डाटाअनुसार नेपालमा १५ देखि ३९ वर्ष उमेर समूहमा क्यान्सरको दर करिब १७ प्रतिशत छ ।
यो विश्व औसतभन्दा झन्डै १० प्रतिशत बढी हो । अहिलेसम्म यसको ठोस कारण स्पष्ट रूपमा पत्ता लागिसकेको छैन । जीवनशैली, खानपान, वातावरणीय प्रदूषण, धूम्रपान, मदिरा सेवन, मानसिक तनाव, हर्मोनल परिवर्तन र जेनेटिक कारणबारेविविध पक्षबाट अनुसन्धान भइरहेको छ।
अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युट (एनसिआई) को डाटाले पनि ५० वर्षभन्दा माथि देखिनुपर्ने क्यान्सर ५० वर्षभन्दा मुनि देखिन थालेको‘अर्ली–अनसेट क्यान्सर’ बढिरहेको देखाएको छ । युकेका जर्नलहरू, डब्लुएचओ र बीबीसीमा समेत युवापुस्तामा बढ्दो क्यान्सरको जोखिमबारे विस्तृत लेख र अनुसन्धान प्रकाशित भएका छन् ।
उपचारभन्दा अघि सजगता
आफ्नो स्वास्थ्यप्रति गम्भीर हुनुपर्छ ।समयमै परीक्षण गराउनु अत्यन्त जरुरी छ । राज्य तहबाट युवावस्थाको क्यान्सरमाथि केन्द्रित अनुसन्धान, डाटा संकलन र जनचेतनामा लगानी बढाउन आवश्यक छ । अहिले क्यान्सरको दर किन बढ्दै गयो भन्ने प्रश्न अझै गहिरो अध्ययनको विषय हो ।
खानपान र जीवनशैली यसमा प्रमुख भूमिका खेल्ने कारक हुन्। अमेरिकाको नेशनल क्यान्सर इन्स्टिच्युट (एनसिआई) को डाटाले करिब २१ प्रतिशत मानिसको धूम्रपानकै कारण क्यान्सर भएर मृत्यु हुने गरेको देखाएको छ । करिब १२ प्रतिशत क्यान्सर संक्रमणका कारणले हुने गर्छ ।
यसमा ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) बाट हुने पाठेघरको मुख क्यान्सर र ओरोफ्यारिन्जियल क्यान्सर प्रमुख रहेका छन् । यसैगरी हेपाटाइटिस बी संक्रमणका कारण लिभर क्यान्सर हुने गर्छ । करिब ४ प्रतिशत क्यान्सर मदिरा सेवन र ४ प्रतिशत मोटोपनाका कारण हुने गरेको पाइएको छ । रोचक तथ्य के हो भने अत्यधिक मदिरा सेवनबाट हुने क्यान्सरका कारण जति मानिसको मृत्यु हुन्छ उति नै मोटोपनाका कारण पनि हुने गरेको पाइएको छ ।
जंक फुडदेखि माइक्रोप्लास्टिकसम्म
युवा पुस्तामा धूम्रपान र मदिरा सेवन केही हदसम्म घटेको छ । तर प्रोसेस्ड फुड, सुगरी ड्रिंक्स, जंक फुड र माइक्रोप्लास्टिकको सेवन अत्यधिक बढेको छ । यी सबै क्यान्सर गराउनसक्ने तत्वहरू हुन् माइक्रोप्लास्टिकका कारण पनि क्यान्सरको जोखिम उल्लेखनीय रूपमा बढिरहेको छ ।
यस्ता वस्तुहरूको दीर्घकालीन सेवनले क्यान्सर हुने कुरा अहिले विभिन्न अध्ययनले प्रमाणित गरिसकेका छन् । माइक्रोबायोम सिद्धान्तअनुसार हाम्रो आन्द्राभित्र करोडौं प्रकारका ब्याक्टेरिया हुन्छन् जसले रोग प्रतिरोधात्मक क्षमता र समग्र स्वास्थ्यमा ठूलो भूमिका खेल्छन् ।
हाम्रा अघिल्ला पुस्ताले खाने खानामा काँचो, पाकेको, स्थानीय र मौसमी जस्ता धेरै विविधता हुन्थ्यो । यसले गट ब्याक्टेरियालाई बलियो बनाउँथ्यो । अहिले प्रायः एकैखालको, प्रशोधित र सीमित विविधताको खाना खाने प्रवृत्ति बढेको छ ।
यसले गर्दा हाम्रो गट ब्याक्टेरिया पनि एकै प्रकारको हुँदै गएको छ । कमजोर माइक्रोबायोमका कारण क्यान्सरसहित अन्य थुप्रै दीर्घ रोग लाग्ने सम्भावना बढिरहेको छ । अहिले देखिएको क्यान्सरको तीव्र वृद्धिलाई केवल जेनेटिक कारणले मात्र व्याख्या नगरी वातावरण, खानपान र जीवनशैलीलाई आधार मानिएको छ ।
५० वर्षमुनिको क्यान्सरः विश्व र नेपालको तुलना
विदेशतिर ५० वर्षभन्दा मुनि थाइराइड, कोलोन र सर्भाइकल क्यान्सर बढी देखिन्छन् । नेपालमा भने हेड एण्ड नेक क्यान्सर अत्यधिक छ । यसको प्रमुख कारण चुरोट र गुट्काको अत्यधिक सेवन हो । घाँटी र मुखको क्यान्सर यसैसँग प्रत्यक्ष रूपमा सम्बन्धित छन् । नेपालमा ५० वर्षमुनि देखिने क्यान्सरमध्ये कोलोन क्यान्सर पनि एक हो ।
सर्भाइकल क्यान्सर पनि उच्च दरमा देखिएको छ । नेपालमा एचपिभी भ्याक्सिनको व्यापक पहुँच र नियमित कार्यक्रममार्फत सर्भाइकल क्यान्सरको जोखिम भविष्यमा उल्लेखनीय रूपमा घटाउन सकिने देखिन्छ ।
अस्वस्थकर खानपान, मोटोपना, शारीरिक श्रमको कमी, कमजोर गट माइक्रोबायोम, प्रोसेस्ड फुड र आधुनिक जीवनशैली नै युवापुस्तामा क्यान्सरको जोखिम बढाउने प्रमुख कारणका रूपमा देखिएका छन् । त्यसैले जीवनशैली सुधार र जनचेतना सबैभन्दा ठूलो आवश्यकता हो ।
हेड एण्ड नेक क्यान्सरः नेपालमा बढ्दो गम्भीर स्वास्थ्य समस्या
हेड एण्ड नेक क्यान्सर मुख, ओठ, जिब्रो, टन्सिल, घाँटी (फ्यारिन्क्स), स्वरयन्त्र (ल्यारिन्क्स) जस्ता टाउको र घाँटी क्षेत्रमा हुने गर्छ । नेपालमा हेड एण्ड नेक क्यान्सर एक नम्बरमा पर्ने क्यान्सर हो। ओठ र मुखमा हुने क्यान्सर तेस्रो स्थानमा पर्छ। नेपाल र भारतमा यो समस्या अत्यधिक छ ।
यसको मुख्य कारण गुट्खा र सुर्तीजन्य पदार्थको उच्च सेवन हो । जब कुनै कारणले ट्युमर सप्रेसर जीन काम गर्न छाड्छतब कोषिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन् र ट्युमर बन्छ। जब यही ट्युमरले एक ठाउँबाट अर्को ठाउँमा सर्ने क्षमता विकास गर्छ त्यस अवस्थालाई हामी क्यान्सर भन्छौं।
गुट्खा सेवनले कोषिकाको कन्ट्रोल मेकानिजम बिगारिदिन्छ। गुट्खा मुखमा राख्ने स्थान वरिपरिका कोषिकाहरू निरन्तर इरिटेट भइरहँदा क्यान्सर हुने सम्भावना अत्यधिक बढाउँछ। गुट्खामा रहेका कार्सिनोजेनिक (क्यान्सर गराउने) केमिकलहरूले शरीरको जीनसँग प्रतिक्रिया गरेर विभिन्न प्रकारका म्युटेसन गराउँछन्। यसले गुट्खा राख्ने स्थान ओठ, गालाको भित्री भाग, जिब्रो, मुखको तल्लो भाग, घाँटी जस्ता भागमा क्यान्सर देखिने सम्भावना धेरै हुन्छ।
क्यान्सरः कारण, संक्रमण र नेपालको यथार्थ
पाठेघरको मुखको क्यान्सरको करिब ९० प्रतिशत कारण ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) नै हो । एचपिभी संक्रमण भएपछि तुरुन्त क्यान्सर हुँदैन । एचपिभी संक्रमण भएको करिब १० वर्षपछि क्यान्सर विकसित हुने मान्यता छ । यही एचपिभी संक्रमण र क्यान्सर हुनुभन्दा पहिले नै स्क्रिनिङ गरेमा रोग थाहा पाउन सकिन्छ । यसका लागि प्यास्मियर, एचपिभी, डिएनए जस्ता स्क्रिनिङ पद्धतिहरु नेपालमै उपलब्ध छन् ।
पेटको क्यान्सर र संक्रमण
नेपालमा पेटको क्यान्सर हुनमा एचपाइलोरीसंक्रमणको संक्रमण महत्वपूर्ण छ । यदि यो संक्रमण लामो समयसम्म क्रोनिक रूपमा रहेमा क्यान्सरमा रूपान्तरण गर्ने सम्भावना हुन्छ । नेपालमा पेटको क्यान्सर दोस्रो नम्बर रहेको ग्लोबोक्यानले देखाएको छ ।
नेपालमा युवावस्थाको क्यान्सरः खोज र अनुसन्धान
नेपालमा युवा उमेरमा क्यान्सर किन बढिरहेको छ भन्नेबारे डाटाबिना निष्कर्ष निकाल्न सकिँदैन। अबको हाम्रो मुख्य खोज भनेकोकुन जीन परिवर्तन भएर कम उमेरमै क्यान्सर भयो ? त्यो जीन परिवर्तन रोक्न वा उल्ट्याउन सकिन्छ कि सकिँदैन ? यसका लागि हामी विभिन्न उमेर समूहका बिरामीमा मोलिक्युलर टेष्ट गर्ने प्रक्रियामा छौं । यही नै भविष्यमा क्यान्सर रोकथाम र उपचारको सबैभन्दा महत्वपूर्ण आधार बन्नेछ।संक्रमण नियन्त्रण, जीवनशैली सुधार, भ्याक्सिन, प्रारम्भिक परीक्षण र वैज्ञानिक अनुसन्धानको संयुक्त प्रयासले मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ ।
युवापुस्तामा बढ्दो क्यान्सरः रोकथाम
धूम्रपान र सुर्तिजन्य पदार्थ, अत्यधिक मदिरा सेवन, मोटोपना, संक्रमण (एचपिभी, हेपाटाइटिस बी) घटाउन सकेको अवस्थामा उल्लेख्य रुपमा क्यान्सर नियन्त्रण गर्न सकिन्छ । यसैगरी एचपिभी र हेपाटाइटिस बी भ्याक्सिनले पाठेघरको मुख र कलेजोको क्यान्सर नियन्त्रण गर्न सकिन्छ । एचपिभी भ्याक्सिन ९ देखि २५ वर्षसम्मका किशोरीहरुले लगाउनुपर्छ । अहिले भ्यापिङ, हुक्का, इलेक्ट्रोनिक चुरोट जस्ता नयाँ र अझ खतरनाक रूपहरू बढेका छन् । हुक्का र भ्यापिङ चुरोटभन्दा पनि बढी खतरनाक हुन्छ ।
स्क्रिनिङ र जनचेतना
कुनै समस्या लामो समयसम्म दोहोरिरहेमा तुरुन्त परीक्षण गराउनुपर्छ । चाँडो पहिचान र सही उपचार हुनुपर्छ । एकीकृत उपचार पद्धति, रोकथाम, स्क्रिनिङ र जनचेतनाबाट क्यान्सर जित्न सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि प्याप स्मेयर, स्तन क्यान्सरका लागि म्यामोग्राफी, ठूलो आन्द्राको क्यान्सर पहिचानका लागि दिसा परीक्षण, कोलोनोस्कोपी र फोक्सोको क्यान्सर पहिचानका लागि एलडी सिटी स्क्यान गर्न सकिन्छ ।
यसैगरी मुख र घाँटीको क्यान्सर पहिचानका लागि नेजल–ओरल–फ्यारिन्जियल स्क्रिनिङ, पाचन नली÷पेटको क्यान्सरमा एंडोस्कोपी, फेकल ओक्ल्ट ब्लड टेस्ट (मलमा लुकेका रगतको परीक्षण) साथै जेनेटिक काउन्सिलिङ तथा टेस्टिङ गर्न सकिन्छ ।
किशोरावस्थामै धूम्रपानः क्यान्सरतर्फको खतरनाक सुरुआत्
प्लस टु मा अध्ययन गर्ने विद्यार्थीहरू लुकी–लुकी चुरोट खाने गरेको पाइन्छ । तर बानी परेपछि त्यसले जीवनभर पछ्याउँछ। अतः सही समयमा जनचेतना जगाउन जरुरी हुन्छ। किशोरकिशोरीहरूलाई चुरोट सुरु गर्नुअघि नै यसको दीर्घकालीन असरबारे स्पष्ट रूपमा बुझाउनुपर्छ। युवामा धूम्रपान ‘कुल’ ठान्ने पूर्ण रूपमा गलत र खतरनाक सोच हो। धूम्रपान कहिल्यै पनि ‘कुल’ हुँदैन। यसले शरीरभित्रैदेखि बिस्तारै क्षति गरिरहेको हुन्छ। अभिभावक र शिक्षकले दण्डभन्दा संवाद लाई प्राथमिकता दिनुपर्छ । विद्यालय तहबाटै धूम्रपानविरुद्धको शिक्षा र सचेतना अनिवार्य हुनुपर्छ ।
क्यान्सरका ७ चेतावनी संकेत
छाला, पाठेघरको मुख (सर्भाइकल), स्तन, कोलोरेक्टल (आन्द्रा) तथा मुख सम्बन्धी क्यान्सरजस्ता रोगका प्रारम्भिक लक्षण र संकेतबारे सचेत हुन अत्यन्त आवश्यक छ । सुरुआती चरणमै पहिचान र उपचार गर्न सकिएमा क्यान्सर निको हुने सम्भावना धेरै बढ्छ । तल क्यान्सरका केही महत्वपूर्ण चेतावनी संकेतहरू प्रस्तुत गरिएको छ । यीमध्ये कुनै पनि लक्षण देखिएमा ढिला नगरी नजिकको स्वास्थ्य संस्थामा परामर्श लिनुहोस् । प्रारम्भिक पहिचान नै क्यान्सर नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको विश्व स्वास्थ्य संगठनले बताएको छ ।
१. असामान्य रक्तस्राव वा स्राव
के–केमा ध्यान दिने ?
- पिसाब वा दिसामा रगत देखिनु
- शरीरका कुनै भागबाट असामान्य स्राव हुनु (जस्तैः स्तनको निप्पलबाट, लिङ्गबाट आदि)
२. निको नहुने घाउ
यस्ता घाउहरूमा सावधानी अपनाउनुहोस्
- समय बित्दै जाँदा पनि सुधार नदेखिनु
- झन् ठूलो हुँदै जानु
- बढ्दो पीडा हुनु
- रगत आउन सुरु हुनु
३. दिसा वा पिसाब गर्ने बानीमा परिवर्तन
ध्यान दिनुपर्ने कुरा
- दिसाको रङ, बनावट, आकार वा स्वरूपमा परिवर्तन (जस्तैः झाडापखाला, कब्जियत)
- पिसाब वा दिसामा रगत देखिनु
४. स्तन वा शरीरका अन्य भागमा गाँठो देखिनु
- स्तन स्व–परीक्षण गर्दा कुनै गाँठो महसुस हुनु
- अण्डकोष (स्क्रोटम) मा गाँठो भेटिनु
- शरीरका अन्य भागमा नयाँ गाँठो देखा पर्नु
५. लामो समयसम्म पनि निको नहुने खोकी
- आवाज बस्नु वा स्वर परिवर्तन हुनु
- लामो समयसम्म खोकी नहराउनु
- खकारमा रगत देखिनु
६. कोठी (मोल) मा स्पष्ट परिवर्तन
एबिसिडी नियम प्रयोग गर्नुहोस्
- ए – एसिमट्री (एसिमट्री): कोठीको दुवै भाग समान छन् कि फरक ?
- बी – बोर्डर (किनारा): किनारा स्पष्ट र मिलेको छ कि अनियमित ?
- सि— कलर (रङ): कोठीमा देखिने रङहरू कस्ता छन् ?
- डि— डायमिटर (व्यास): कोठीको आकार ६ मि.मि. (पेन्सिलको इरेजरभन्दा ठूलो) भन्दा बढी छ ?
७. निल्न गाह्रो हुनु
- घाँटी वा छातीमा दबाब महसुस हुनु, जसले निल्न असहज बनाउनु
- खाना नखाँदै पनि पेट भरिएको जस्तो लाग्नु वा थोरै खाना खाँदा नै भरिएको महसुस हुनु
क्यान्सर उपचारमा नर्सिङ नेतृत्व
बिहीबार, वैशाख १०, २०८३
बाल क्यान्सरका पाँच ठूला भ्रम र वैज्ञानिक यथार्थ
बुधबार, वैशाख ९, २०८३
भक्तपुर क्यान्सर हस्पिटलमा उन्नत क्यान्सर परीक्षण
बुधबार, वैशाख ९, २०८३
क्यान्सरबाट एक क्यान्सर सर्जनको अन्तिम विदाइ
शुक्रबार, चैत २०, २०८२

